फाईल तस्बिर
बागलुङ, २० पौष – गत साउनको बाढी र पहिरोले पशु फारम बगाएर लाखौं क्षति व्यहोरेका किसान अझै राहतको खोजीमा हिडेका छन् । उनीहरुको सहयोग र संरक्षणमा जिल्लाको नेतृत्व तथा प्रशासनको अझै ध्यान पुग्न नसकेको पिडितले गुनासो गरिरहेका छन् । सबैभन्दा धेरै क्षति भएपछि बुर्तिवाङ–१ का बुद्धिमान विक अझै राहतको पर्खाईमा रहेका हुन् । उनको बंगुरको खोरबाट ३० वटा बंगुर बगेका थिए भने खोर र जमिन समेत बगरमा परिणत भएको थियो । अधिकारीचौरमा आएको बाढीले दर्जनौं घर पुरेकै दिन बुर्तिवाङ बजारको खोलाछेउका घर, खेत समेत बगाएको हो । बजारमा विक्रिको लागि तयार भएका बंगुर बगाएपछि लाखौं लगानी गरेका बिक अझै ऋण समेत तिर्न नसकी सहयोगको खोजीमा भौंतारिन बाध्य भएका हुन् । बिकले लगाएको घाँसखेती समेत बगाएको थियो । जिल्ला पशु सेवा कार्यालयले सहकारी बंगुर खेती कार्यक्रम अन्र्तगत लगानी गरेको ८ लाख ५० हजारका पाठापाठी बढेर विक्रि गर्ने अवस्थामा पुगेको बिकले बताए । अघिल्लो आर्थिक बर्षको खोर निर्माणका लागि कार्यालयले २ लाख रुपैयाँ दिएको थियो । तरकारी तथा घाँस खेतीको विभिन्न लगानी समेत अनुमानित २० लाख रुपैयाँ नोक्सानी परेको पशु सेवा केन्द्र बुर्तिवाङका प्रमुख निलकण्ठ शर्माले बताए । ‘सामान्य किसानको खोरबाट २० लाखको क्षति पुग्नु भनेको सानो कुरा होइन’ बिकले भने, ‘अझै पहिरोले सबै बगाउने खतरा छ, तारबार लगाउनुपर्ने भएकोले सहयोगको खोजीमा छु ।’ जिल्ला भूसंरक्षण कार्यालयमा उनी तारबारको लागि सहयोग माग्दै आएका थिए । भूसंरक्षण कार्यालयको तथ्यांक अनुृसार बुर्तिवाङ बजारको संरक्षणका लागि मात्र ७ हजार वटा तारजाली आवस्यक पर्ने प्रारम्भिक अनुमान छ । तर त्यतिको धेरै दिन नसकिने सहायक भूसंरक्षण अधिकृत शम्भू झाले बताए । ‘सात बर्षको कार्यक्रम एकैपटक ल्याएमा मात्र बजार संरक्षण गर्न सकिने देखिन्छ’ झाले भने, ‘पिडित किसानको क्षतिलाइ पूरण गर्न सक्ने कार्यालयको मात्र सामर्थ भएन ।’ बजार र किसानहरुको संरक्षणको लागि जिल्लाका सबै विकास निर्माणका बजेट र कार्यक्रम त्यसतर्फ केन्द्रीत गर्नुपर्ने झाको भनाइ छ । त्यस्तै बाढी पहिरोले अधिकारीचौरको बस्ती संरक्षणमा पनि करोडौं खर्चनुपर्ने अवस्था छ । त्यसका लागि अहिले सम्म सरोकारवाला निकायबाट खोजी नभएकोले आगामी बर्षातमा पनि झन दुर्घटना निम्तन सक्ने शंका उनले गरे । दर्लिङ, अधिकारीचौर र बुंगादोभान लगायत गाविसमा पनि बाढीले क्षति पुगेको थियो । लाखौं मूल्यको कृषि फसल र तरकारी खेती पनि नष्ट भएको थियो । ‘सामान्य राहत वितरण भएपनि पशुको पूर्ण क्षतिपूर्तित दिन सकिएको छैन’ बरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरीले भने, ‘सबैको सहयोग केन्द्रीत भएमा मात्र पहिरो पिडितलाइ न्याय हुनेछ ।’ उक्त बाढीले ६ जनाको मृत्यु भएको थियो भने एकदर्जन बढी मानिस घाइते भएका थिए । जिल्लामा झण्डै १ सय २० वटा घर पूर्ण क्षति भएका थिए । १ सय ७१ घर अहिले पनि जोखिम अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका २० झोलुंगेपुल बगाएको थियो । विक जस्तै धेरै पिडित अहिले पनि सदरमुकामका विभिन्न कार्यालयमा सहयोगको खोजी गर्दै भौंतारिन बाध्य छन् ।