बागलुङ, २० पौष – जिल्लाको पश्चिम क्षेत्रमा दुई दिनदेखी मोवाइल सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको प्रिपेड र पोष्टपेड दुवै मोबाइल नेटवर्कमा समस्या आएपछि सेवाग्राहीले सोमबारदेखी सास्ती खेप्न बाध्य भएका छन् । फोन सेवा अवरुद्ध हुँदा जिल्लाको गलकोट, खरबाङ, बुर्तिबाङ क्षेत्रका करिब ३ दर्जन बढी गाविसका सेवाग्राही मर्कामा परेका छन् । नमस्तेको सिम भएको मोवाइलबाट फोन डायल गर्दा रजिष्टर नगरिएको, अन भएको मोवाइलमा पनि स्वीच अफ भन्ने गरेको गलकोटका हेमन्त भण्डारीले बताए । सोमवार साँझदेखी मोवाइल सेवा अवरुद्ध भएपनि फोन सेवा नहुँदा टेलिकममा गुनासो समेत राख्न कठिन भएको स्थानीयले गुनासो गरेका छन् । मोवाइल सेवा अवरुद्ध भएपछि आकस्मिक र अत्यावश्यकीय कामले फोन सम्पर्क गर्नुपर्ने नागरिकहरु ल्याण्ड लाइनको खोजीमा घण्टौ पैदल यात्रा गर्न बाध्य भएका छन् । मोवाइल सेवा हात–हातमा भएपछि गाउँघरमा भएका सिमित कडलेश फोन पनि अधिकांश बिस्थापित भइसकेका छन् । कतै–कतै भने सेवाग्राहीले एनसेलको सहारा लिएका छन् । पहिले पहिले मोवाइल नहुँदा पनि केही महुशुस नभएको उल्लेख गर्दै पाण्डवखानीका पानमति श्रीसले अहिले त बिदेश भएका छोरा र शहरमा भएका आफन्तहरु सँग दैनिक कुरा गरिरहेको बानी, मोवाइल सेवा नहुँदा धेरै चिज गुमाएको महुशुस भइरहेको बताइन् । सेवा अवरुद्ध भएको लामो समय भइसक्दा पनि टेलिकमले सेवा सूचारु गर्न गम्भिर नभएको सेवाग्राहीले गुनासो गरेका छन् । नेपाल टेलिकम बागलुङ शाखाले दुई दिनदेखी देशका बिभिन्न स्थानमा मोवाइल सेवामा समस्या आएको स्वीकार गरेको छ । काठमाण्डौंकै बिएससी र एमएसीमा समस्या आएका कारण जिल्लाको पश्चिमी ग्रामिण क्षेत्रमा मोवाइल सेवामा समस्या आएको नेपाल टेलिकम बागलुङका प्रमुख यज्ञराज शर्माले बताए । ‘टेलिकमको देशभर रहेका १ सयमध्ये ३० वटा टावरमा समस्या आएको बताउदै शर्माले सफ्टवेयर अपग्रेडको काम भइरहेको र बुधवार दिनभरसम्म सेवा नियमित रुपमा सूचारु हुने जानकारी दिए ।
Previous Article२० पौष २०७३, ढोरपाटन दैनिक
Next Article पहिरो पीडितको संरक्षणमा चासो भएन