काठमाडौं, १८ पौष – नेपाल र भारत दक्षिण एसियाली महिला फुटबलका परम्परागत शक्ति हुन् । यी दुईले सधैं फाइनल खेल्दै आएका थिए, तर सिलीगुडीमा भइरहेको चौथो साफ वुमेन्स च्याम्पियनसिपमा नेपाल र भारत सेमिफाइनलमै भिड्दैछन् । त्यसैले यी दुईको प्रतिस्पर्धालाई ‘फाइनल’को रुपमा लिइएको छ । नेपाल र भारतले साफ च्याम्पियनसिपका अघिल्ला तीनै संस्करणको फाइनल खेलेका थिए । र, दक्षिण एसियाली खेलकुदको पछिल्ला दुई संस्करणमा स्वर्ण पदकको प्रतिस्पर्धा पनि यी दुई टिमबीच नै भएको थियो । ती सबै फाइनलमा नेपाललाई पन्छाउँदै भारत च्याम्पियन भएको थियो । त्यसमा केहि खेलमा भारत हावी भएको थियोभने तीन फाइनलमा नेपालले राम्रै चुनौती पस्किएको थियो । ‘साफमा हामी लगातार तीनपल्ट उपविजेता भइसकेका छौं । त्यसैले हाम्रो स्पष्ट लक्ष्य भनेको च्याम्पियन बन्ने नै हो,’ सिलीगुडी प्रस्थान गर्नुअघि नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले भनेका थिए । लक्ष्य प्राप्तिका निम्ति सम्भवतः भारतलाई नै हराउनुपर्ने हुन्छ भन्ने उनलाई थाह थियो । ‘फाइनलमा सँधै भारतसँग हारेका छौं । त्यसैले फाइनलमा पुगेर हार्नुभन्दा भारतसँग अगाडि नै खेल्न पाउनु राम्रो हो, जुन फाइनलसरह हुनेछ,’ उनले सिलीगुडीबाट भने, ‘मैले खेलाडीलाई आइतबार प्रशिक्षणमा भारतसँग खेल्नलाई तयार हुनुपर्छ भनेको छु । सेमिफाइनलमा भारतसँग खेल्ने अवसर पाएका छौं । थापाका अनुसार भारतीय टिम बलियो छ तर हामी राम्रो खेलेर उसलाई हराउन सक्छौं । ‘भारतलाई हराउन सक्यौं भने उपाधि होडमा अघि बढ्नसक्छौं । यसका निम्ति सबै खेलाडी फिट छन्, –उनले भने ।
Previous Articleपश्चिमी वायुले देशैभर वर्षा र हिमपात
Next Article २०७३ पौष १८ गते सोमबारको राशिफल