‘भारतको जम्मुकश्मिरबाट शनिबार बिहान सूदूरपश्चिम हुँदै प्रवेश भएको पश्चिमी वायुको प्रभावको असर देशैभर परेको छ,’ पौडेलले भने, ‘धेरै ठाउँमा हल्क वर्षा भयो, सोमबार पनि यस्तै हुने देखिन्छ ।’ महाशाखाले मौसमको यो बदलीलाई यो वर्षको हिउँदको दोस्रो गडबडी भनेको छ ।
यसअघि १० पुसमा सूदूरपश्चिमका डडेलधुरा, डोटी, दार्चुलालगायतका जिल्लामा मौसमी बदलाव आएको थियो । ‘त्यो प्रणाली कमजोर भएकाले पूर्वतिर सक्रिय हुन नसकेपछि केही दिनमै पश्चिमतिर फर्कियो,’ मौसमविद् पौडेलले थपे । मौसमी बदलीसँगै अधिकांश भागको अधिकतम र न्युनतम तापक्रमसमेत घटेको छ ।
सत्यदेवी गाविसमा आइतबार परेको बाक्लो असीना ।
जम्मु काश्मिरबाट वायुमण्डलको माथिल्लो तह हुँदै आएको पश्चिम वायुको प्रभावका कारण मौसममा आएको बदली शनिवार रातिदेखि पूर्वतिर सर्दै आएको हो । आइतबार मध्यान्हसम्ममा अधिकांश पहाडी र हिमाली भागमा असर परेर वर्षा र हिमपात भएको महाशाखाले उल्लेख गरेको छ । वर्षा भने अधिकांश भागमा छिटफुट मात्र भएको छ । सबैभन्दा बढी जोमसोममा ९ मिलिमिटर भएको छ ।
‘सोमबार पनि मौसमी अवस्था गडबड हुने र हल्का वर्षा हुने प्रक्षेपण छ,’ उनले भने, ‘उच्च पहाडी र हिमाली भागमा सबैभन्दा बढी असर देखिनेछ, त्यसो हुँदा चिसो पनि बढ्न सक्छ ।’ काठमाडौं उपत्यकाको २ हजार मिटरभन्दा माथिका फुलचोकी, चन्द्रागिरी, नगरकोट, मकवानपुरको दामनमा हिाउ समेत हिउा परेको छ । सोमबार मध्य तराईका क्षेत्रमा पनि बदली भई छिटफुट वर्षा हुने महाशाखाको अनुमान छ ।