बागलुङ, १५ पौष – जिल्लाको नारायणस्थान गाविसस्थित गणेश माध्यामिक विद्यालयले सप्ताहव्यापी श्रीमद् भागवत धनधान्याचल विराट ज्ञान महायज्ञमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बिहिबार बागलुङ बजारमा पत्रकार भेटघाटको आयोजना गरी गत मंसीर २८ गतेदेखि पौष ५ गतेसम्म सञ्चालित महायज्ञमा ३ करोड ४९ लाख ९६ हजार ५ सय ३१ रुपैयाँ सहयोग संकलन भएको जानकारी दिदै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको हो । बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा दिगो आर्थिक स्रोत संकलन गर्ने उद्धेश्यले आयोजित महायज्ञबाट संकलित रकममध्ये करिब ३१ लाख खर्च भएको बिद्यालयका प्रधानाध्यापक चुडामणी सुवेदीले जानकारी दिए । उनका अनुसार, बाँकी बचत भएको रकमबाट बिद्यालयमा अक्ष्य कोष स्थापना गरिनेछ । बिद्यालयले सरकारले दिएको माविमा ३ राहत, निमाविमा ३ राहत १ स्थायी र प्राविमा ८ स्थायी दरबन्दीका गरी १५ जना दरबन्दिका शिक्षक बाहेक अन्य २२ जना निजी स्रोतका शिक्षक राखेर गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको छ । निजी स्रोतका लागि मात्रै मासिक २ लाख रुपैयाँ आवश्यक पर्ने गरेको छ । तिनै शिक्षकलाई तलब खुवाउन दिगो रुपमा अक्षय कोष स्थापना गरि त्यसको ब्याजबाट तलब व्यवस्थापन र बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक सुवेदीले बताए । अंग्रेजी माध्यम, बिविध सिर्जनात्मक शैली र अभ्यास सहित पठन पाठन गरिने गणेश मावि जिल्लाकै नमुना बिद्यालयको रुपमा स्थापित छ । यस बिद्यालयले नेपाल सरकारले हरेक बर्ष प्रदान गर्ने पुरस्कार अन्र्तगत यस वर्ष पश्चिमाञ्चल क्षेत्रिय पुरस्कार पनि प्राप्त गरिसकेको छभने बिद्यालयका शिक्षक चुडामणी सुवेदीले देशभरमै उत्कृष्ट शिक्षकको अवार्ड पाइसकेका छन् । २०६५ साल देखि अंग्रेजी माध्यमबाट कक्षा १ देखि १० सम्म पढाइ हुने बिद्यालयमा हाल ६ सय ९० जना बिद्यार्थी अध्ययनरत रहेका छन् । उक्त विद्यालयमा बागलुङ बजारका साथै कुश्मा, म्याग्दी र पोखराका विद्यार्थीहरु विद्यालयको होस्टेलमा बसेर पढ्ने गरेका छन् ।