बागलुङ, १५ पौष – सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका बागलुङका खेलाडीहरुलाई एक कार्यक्रमका बीच बिहिबार सम्मान गरिएको छ । नेपाल आइटिएफ तेक्वान्दो संघ बागलुङले ती खेलाडीलाई पुरस्कार तथा सम्मान वितरण गरेको हो । झापाको दमकमा भएको प्रतियोगितामा बागलुङका दिनेश बुढाले ५६ देखि ६० केजी तौल समूहको तेक्वान्दोमा स्वर्ण पदक पाएका थिए । उनलाई संघले १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । त्यस्तै उक्त प्रतियोगितामा अन्य पदक जित्नेलाई पनि सम्मान गरिएको हो । उनीहरुलाई केही दिनमै नगद पुरस्कार समेत प्रदान गरिने संघका जिल्ला अध्यक्ष ससबहादुर पुनले बताए । उक्त अवसरमा रजत पदक जित्ने ५१ देखि ५५ केजी तौल समूहकी शर्मिला महत, ४५ देखि ५० केजी तौल समूहको स्पाइनिङतर्फ रजत जित्ने दिपक गौतम, ४० देखि ४५ केजी तौल समूहकी रिता अधिकारी, ६० देखि ७० केजी तौल समूहकी उमिसा घर्तीलाई पनि सम्मान गरिएको हो । त्यस्तै शिव जिसी र कामना पुनले कास्य पदक जितेका थिए । जिल्लाबाट गएका ८ खेलाडीमा सबैले पदक जित्न सफल भएका हुन् । त्यस्तै बागलृुङकै बसन्ती बुढाले नेपाली सेनाको विभागीय समूहबाट पनि स्वर्ण पदक जितेकी थिइन् । संघका सचिव नरबहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले सफलता पाएको भन्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले उनीहरुलाई सम्मान गरेका थिए । साथै उनले खेल क्षेत्रको विकासका लागि सबै निकायलाई सहयोग गर्न र आफ्नो क्षेत्रबाट सहयोगको लागि समन्वय गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले पनि खेलाडीलाई सम्मान गर्दै सक्दो सहयोग गर्ने बताए । संघका अध्यक्ष ससबहादुर पुनको अध्यक्षता, केन्द्रीय सचिव राजुृ खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।