बागलुङ, १५ पौष- जिल्लाको बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सुरु गर्न लागिएको छ । बुर्तिबाङ बस व्यवसायी समितिले बुर्तिबाङले सिस्ने हिमाल यातायात व्यवसायी संघसँगको सहकार्यमा पुस १६ गतेदेखि सिधा बस सञ्चालन गर्न लागेका हो । बुर्तिबाङ–रुकुम खण्डमा पुष्पलाल मध्यपहाडी लोकमार्गको स्तरिकरणसँगै यात्रुहरुको माग समेतलाई ध्यानमा राखेर बस सेवा सञ्चालन गर्न लागिएको बुर्तिबाङ यातायात व्यवासायी समितिका महासचिव नरहरि भुषालले जानकरी दिए । भुषालले निकट भविष्यमै जीप सेवा समेत सुरु गर्ने तयारी भएको बताए । ९५ किमि दुरीमा रहेको सडक एकतर्फी यात्रा गर्न ७ देखि ८ घण्टा लाग्ने समितिले जनाएको छ । पुस १६ गते विहान ७ बजे बुर्तिबाङ बजारमा औपचारिक कार्यक्रम गरि बुर्तिबाङ खलङ्गा बस सेवा सुरु गर्ने तयारी भएको छ । सोहि दिन दिउँसो २ बजे रुकुमकोटमा कार्यक्रम गरि रुकुम बुर्तिबाङ वस सेवा शुभारम्भ गरिने छ । बुर्तिबाङबाट दिनहुँ बिहान ८ बजे खलङ्गाको लागि वस छुटाईने र रुकुमबाट बुर्तिबाङ छुट्ने समय तय हुन बाँकी रहेको महासचिव भुषालले बताए । दैनिक रुपमा एक–एक बस बुर्तिबाङबाट मध्यपहाडी लोकमार्गमा रुकुमको काँक्रीहुँदै खलङ्गा आवत जावत गर्ने छन् । सिधा बस सेवा सुरु भएपछि यात्रुलाई आवतजवत गर्ने, सामान ढुवानी गर्न र मध्यपहाडी लोकमार्गको सडक पहुँच क्षेत्रमा उत्पादिन सामग्रीको बजारिकरणमा सजिलो हुने विश्वास गरिएको छ ।