बागलुङ, १४ पौष – सरकारले राखेको शैक्षिक लक्ष पुरा गर्न तथा हरेक विद्यालयमा सहक्रियाकलाप र अतिरिक्त क्रियाकलाप गर्नुपर्नेमा जोड दिईएको छ । शिक्षा विभाग अन्र्तगतको सहक्रियाकलाप तथा समसामयिक शिक्षा शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिले नियमित पढाइ बाहेकका क्रियाकलाप गरेर बालबालिकालाई दक्ष बनाउनु पर्नेमा जोड दिएका हुन् । साथै हरेक बालबालिकामा हुने प्रतिभालाई प्रष्फुटन गराउने काममा शिक्षकले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको तर्क थियो । विद्यालय तहमा गरिने अतिरिक्त क्रियाकलापकै कारण उनीहरुको क्षमता पहिचान भएर भविष्यको कणधार समेत बन्न सक्ने भन्दै शाखाका उप–निर्देशक प्रमोदकुमार शर्माले शिक्षाको राष्ट्रिय उद्धेश्य पुरा गर्न सबैको सहयोग आवस्यक भएको बताए । राष्ट्रिय उद्धेश्यले पनि प्रत्येक व्यक्तिमा अन्तरनिहित प्रतिभा विकासका संभावना खोजी गर्नुपर्ने भनेको छ । साथै प्राविधिक तथा व्यवसायिक धार र संगीत कक्षा संचालन पनि यही उद्धेश्यबाट आएको उनले बताए । विभागले चालु शैक्षिक बर्षदेखि हरेक विद्यालयलाई बार्षिक २० हजार रुपैयाँ अतिरिक्त क्रियाकलाप गर्नकालागि विनियोजन गरेको छ । उक्त रकम खर्च नभएमा बेरुजु हुने समेत शर्माले बताए । विशेष गरी भाष तथा साहित्य, विज्ञान, गणित, विशेष सिर्जना र विविध क्षेत्रमा अतिरिक्त क्रियाकलाप तथा प्रतिभा पहिचान गर्न सकिने प्रावधान तोकिएको छ । बागलुङमा पनि यो शिर्षकमा जिल्ला शिक्षा कार्यालयले तीनवटा निर्वाचन क्षेत्रको तीन प्रतियोगिता गर्न थालेको छ । त्यस्तै जिल्ला स्तरमा पनि प्रतियोगिता गरेर प्रतिभा छनौट गरिरहेको शाखा अधिकृत खेमप्रसाद आचार्यले बताए । यस्ता प्रकारका क्रियाकलापले बालबालिकालाई पढाइमा तेजी बनाउने र बालबालिकाको समग्र विकासमा पनि योगदान पुग्ने उनले बताए । जिल्ला तहमा हुने राष्ट्रपति कप प्रतियोगिता, विभिन्न अन्य क्रियाकलाप, बाल दिवश, शिक्षा दिवश लगायतका समयमा पनि बालबालिका बीच गराइने प्रतिष्पर्धाका लागि विद्यालयमै तयार बनाउने काममा शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बताए । यो कामका लागि सानै कक्षामा उनीहरुको प्रतिभा पहिचान हुनुपर्नेमा जोड दिए । पहिला पहिला गीत संगीत र अन्य क्रियाकलाप गर्न खोज्नेलाइ बाहिरै आउन नदिने प्रवृत्तिले धेरैले क्षमता विकास गर्न नसकेको पनि उनले बताए । यस्ता क्रियाकलापलाई प्रोत्साहन दिएमा भविष्यका कलाकार, खेलाडी र राजनीतिज्ञ समेत सामुदायिक विद्यालयका विद्यार्थी हुन सक्ने उनको तर्क थियो । जिल्ला तहमा हुने केही क्रियाकलापमा पछिल्लो समय सामुदायिकका भन्दा संस्थागत विद्यालयका बालबालिका बढी सहभागि हुने, विजयी बन्ने क्रम चलेको भन्दै सामुदायिक विद्यालयले पनि बढी चासो दिएर सक्रिय बनाउन सक्नुपर्ने समेत बताइएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, प्रअ र संचारकर्मी समेतको सहभागिता थियो ।