बागलुङ- स्पोर्ट क्लबले आयोजना गरेको अन्तर विद्यालय स्तरिय रनिङ ट्रफी फुटबल प्रतियोगिताको तेस्रो दिन चार खेला सम्पन्न भएका छन् । मंगलबार सम्पन्न पहिलो खेलमा गणेश मावि बलेवा विजयी भएको छ । सनराईज उच्च माविलाई ०–३ गोलले गणेश मावि विजयी भएको हो । गणेशको जितमा पुकार खड्काले ह्याट्रिक गरे । खड्काको ह्याट्रिक प्रतियोगिताकै पहिलो हो । यस्तै दोस्रो खेलमा कालिका कन्या माविले विद्यामन्दिर उमाविलाई ०–१ गोलले स्तब्ध बनाएको छ । कालिकाको जितमा विजय कार्कीले निर्णायक गोल गरे । प्रतियोगिताको तेस्रो खेलमा अमृत आदर्श उच्च मावि विजयी भएको छ । प्रतिद्वन्द्वी आदर्श विद्या मन्दिरलाई ०–३ गोलले पराजित गरेको हो । आदर्शको जितमा सन्देश माझीले फ्रि–किकमा उत्कृष्ट गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हापमा चिरन पुनले हेड गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम समयमा पाएको पेनाल्टी अवसरलाई सन्देश माझीले सही दिशा दिएका थिए । चौथो खेलमा न्यू एभरेष्ट अक्याडमीलाई रुद्रेपिपल माविले ०–२ गोलले पराजित गरेको छ । प्रतियोगिताको चौथो दिन बुधबार रुद्रेपिपल माविविरुद्व कालीगण्डकी कलेज र अमृत आदर्श उमाविविरुद्व कालिका कन्या मावि भिड्ने क्लबका सचिव खेमराज शर्माले जानकारी दिएका छन् ।