विराटनगरमा जारी सातौं बृहत खेलकुद प्रतियोगिता विवादै विवादको घेरामा परेको छ । प्रतियोगिता उद्घाटनदेखि शुरु भएको विवाद प्रतियोगिताको पाँचौ दिनसम्म पनि विवाद देखिएको छ । प्रतियोगितामा खेलाडिहरुले अनुशासनको पालना नगर्दा विवाद सिर्जना भएको हो । रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने भएपनि खेलाडिहरु स्वयम् रेफ्रि बन्दा खेलामा असहिष्णुता प्रदर्शन गर्ने काम भएको छ । रेफिको निर्णयलाई नमान्दा पश्चिमाञ्चलका भलिबल खेलाडिहरुले रेफ्रिमाथि नै हात हुने काम भएको छभने एपीफएका वमेन क्रिकेट खेलाडिले खेल नै बहिष्कार गरेका छन् । खेलाडिले उच्श्रृंखल प्रदर्शन गर्दा बृहत खेलकुद नै अमर्यादित बनेको छ ।
पुरुष भलिबलको खेलमा एकपक्षिय निर्णय भएको भन्दै पश्चिमाञ्चलका खेलाडीले रेफ्री विनय राईमाथि हातपात गरेका छन्। त्रिभुवन आर्मी क्लबसँग हारको कारण रेफ्रीको गलत निर्णय भएको आरोप लगाउदै पश्चिमाञ्चलका खेलाडीले राष्ट्रिय रेफ्री राईमाथि मुक्का प्रहार गरेका हुन्। हातपात भएपछि तनावपूर्ण स्थितीलाई नियन्त्रणमा राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको थियो। घटनापछि बसेको आकस्मिक बैठकले कुटपिटमा संलग्न खेलाडीहरु रमेश केसी, लोकेन्द्र भण्डारी र राजन थापालाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ। यस्तै पुर्वाञ्चलसंगको बुमन क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लबले रनको विषयलाई लिएर खेल नै बहिष्कार गरेको छ । निकै नै अनुशासनमा रहनु पर्ने विभागिय टोलीले नै खेलमा विवाद सिर्जना गरेपछि चौतर्फी आलोचना भएको छ । नेपाली महिला क्रिकेट टोलीकी प्रभावशाली खेलाडि सीता रानामगरले पुर्वाञ्चलका खेलाडिलाई माझी औला देखाएर आफ्नै इज्जतमा दाग लाग्ने काम गरेकी छिन् । उनको यो हर्कत देखेर मैदानमा उपस्थिति दर्शक छक्क परेका थिए ।
खेलमा अनुशासनको पालना गर्नुपर्ने खेलाडिले नै त्यसको उल्लंघन गर्न गंभीर गल्ती हो । यसको निष्पक्ष छानवीन गरेर खेलमा विवाद सिर्जना गर्ने खेलाडिलाई कार्वाही प्रक्रिया अघि बढाउन जरुरी छ । राष्ट्रिय खेलकुद परिषद्को अनुगमन कमिटीले यि घटनाको निष्पक्ष छानबिन गर्ने बताएको छ। खेलाडिले यस अघिका खेलमा पनि यस्तै असहिष्णुता प्रर्दशन गरेका थिए । तर, ति खेलाडिलाई कडा कार्वाही गरेका घटना विरलै सुन्न पाइन्छ । खेलाडिलाई जबसम्म अनुशासनको लगाम लगाउन सकिदैन तबसम्म बृहत खेलकुद विवादरहित हुन सक्दैनन् । खेलाडि नै जज बन्ने होभने निर्णायक किन चाहियो । खेलमा कुशलता प्रर्दशनभन्दा पनि रवाफ देखाउने प्रवृत्तिले नेपाली खेलाडिमा जरा गाडेर बसेको छ । खेलाडिका यस्तै रवाफका कारण नेपाली खेलाडिले अन्तराष्ट्रिय खेलमा पदक हात पार्न सकेका छैनन् । अर्काेतर्फ रेफ्री पनि जिम्मेवार बन्न जरुरी छ । रेफ्रीले कहिलेकाही आफ्नालाई काखा र अरुलाई पाखा लगाउने काम गरेको देखिन्छ । त्यसैले रेफ्रीले सहि डिसिजन गर्नुपर्छ । खेलमा असहिष्णुता प्रर्दशन गर्ने खेलाडिलाई कार्वाही गर्नुपर्छ ।
Previous Article२०७३, पौष १३ गते बुधबारको राशिफल
Next Article प्रतियोगिताको तेस्रो दिन चार खेल सकिए