बागलुङ, १२ पौष – नेकपा एमाले बागलुङको शनिवारदेखी बागलुङ सदरमुकाममा जारीे आठांै जिल्ला अधिवेशन चौथो दिन मंगलबार नयाँ नेतृत्व चयन हुँदैछ । अधिवेशनको तेस्रो दिन राजनीतिक प्रतिवेदन पारित भएपछि शुरु भएको निर्वाचन प्रक्रियामा एमालेको जिल्ला नेतृत्वका लागि बर्तमान अध्यक्ष श्रीप्रसाद शर्मा, उपाध्यक्ष तथा सांसद नरबहादुर थापा र प्रदेश कमिटी सदस्य इन्द्रलाल सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रिय उर्जा बिभागका सदस्य हिराबहादुर केसीको अध्यक्षमा तिव्र चर्चा भएपनि अन्तिम समयमा उम्मेदवारी नदिएको बताइएको छ । शर्मा सर्वसम्मत नभए निर्वाचनमा थापा र सापकोटाबीच प्रतिष्पर्धा हुने सम्भावना छ । अध्यक्ष लगायतका पदहरुमा सर्वसम्मतको प्रयासका लागि बिहान ७ बजे सम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएकोमा बिहान ९ बजेसम्म फिर्ताको समय राखिएको निर्वाचन कमिटिका संयोजक ममतादेवी शर्माले जानकारी दिइन् । कमिटीको उपाध्यक्षमा बुर्तिबाङका टंक पौडेल, अमलाचौरका कृष्ण पाठक, सचिवमा लालबहादुर थापा, ध्रुवबहादुर केसी, उप–सचिवमा रामबहादुर जिसी, नेत्रबहादुर विष्ट, बिष्णु भुषालले उम्मेदवारी दर्ता गराएका छन् । लेखा समितिका संयोजकमा भिमबहादुर थापा र बाबुराज कार्की, निर्वाचन कमिटीको अध्यक्षमा बिष्णुप्रसाद शर्मा र कृष्णराज शर्माको उम्मेदवारी परेको छ । खुल्ला, भुगोल र समावेशी गरी ५५ जना जिल्ला सदस्यका लागि १ सय ३७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य राम शर्माले जानकारी दिए । अधिवेशनमा जिल्लाभरबाट ५ सय ९२ जना प्रतिनिधि सहभागी छन् । एमाले जिल्ला अधिवेशनले ५९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्षसहित चार पदाधिकारी, ९ खुल्ला, महिलातर्फ खुल्ला ७, ४ जनजाति र २ दलित गरी १९ महिला सदस्य, १३ इलाकाबाट १३ सदस्य, निसी, बोबाङ, बोहरागाउँ लगायतको दुई वटा बिशेष क्षेत्रबाट २ जना, ४ दलित, ६ जनजाति, १ अल्पसंख्यक र १ मजदुर जिल्ला सदस्य चयन गर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघिको गलकोट, बलेवा र नगरपालिका क्षेत्रको सदस्य हुने व्यवस्था भने यस अधिवेशनबाट हटाइएको छ ।