बागलुङ, १२ पौष – मुटुको गम्भिर समस्याले अस्पतालमा थलिएका एक बालकको उपचारका लागि परिवारजनले सहयोगको याचना गरेका छन् । दमेक–८ का होमबहादुर सुनारका १० बर्षिय छोरा सुजनको उपचारका लागि परिवारले सहयोग खोजेका हुन् । जन्मदै मुटुको समस्या भएकोले १० दिनमै अस्पताल लैजानु परेको बालकको मुटुको अपरेशन गर्नुपर्ने भएको छ । हाल उनलाई काठमाण्डौमा अस्पतालमा राखिएको छ । ३ महिना भित्र अपरेशन गरेमा निको हुने र नगरे ज्यान खतरामा पर्ने भएपछि परिवारका सदस्य सहयोगको खोजीमा भौंतारिएका हुन् । यसअघि एकपटक बालकको अपरेशन भैसकेको छ । उक्त अपरेशनले मुटुमा रक्त प्रवाह हुने नसाहरु सोझ्याउने काम भएको थियो । उक्त अपरेशन पछि बालकले सजिलोसँग सास फेर्न सक्छन् । मुटुमा प्वालसमेत भएकोले दोश्रो अपरेशनबाट थप उपचार गर्नका लागि बरिष्ठ डा. भगवान कोइरालाले आग्रह गरेको सुनारले बताए । यसअघि १२ लाख खर्च लागेको सुनारले बताए । ‘आर्थिक रुपमा विपन्न परिवारको मैले पहिलेपनि १२ लाख खर्च गरेको छु’ उनले भने, ‘ऋण धनले गरेको उपचारको सबै खर्च तिरिसकेको पनि छैन ।’ फेरी अर्को समस्या आएकोले सहयोग जुटाउन हिडेको उनले बताए । समय समयमा बालकलाइ एक्कासी चक्कर लाग्ने र ढल्ने समस्या छ । जसको कारण १० बर्षको उमेर सम्म पनि बालकले पढ्ने अवसर पाएका छैनन् । सुनारको ४ बर्षिय सानो छोराको पनि खुट्टामा समस्या छ । जन्मदै दुइ तीर फर्केका खुट्टा अपरेशन गरेर सोझ्याउनु पर्ने छ । जसको कारण केही समयमा थप खर्च आवस्यक पर्ने उनले बताए । रोजगारीका लागि साउदी अरवमा काम गरेका सुनारले छोराहरुको समस्याकै कारण रोजगारीपनि छाडेर आउन बाध्य भएका हुन् । पछिल्लो समय उनी समेत ढाड दुख्ने समस्याले ग्रसित छन् । यसैबीच सुनारको यो दयनीय अवस्था थाहा पाएर खाडी मुलुकमा काम गर्नेहरुले ३० हजार रुपैयाँ सहयोग गरेका छन् । अनलाइनबाट गठन भएको ‘अनलाइन रोधिघर बागलुङ क्लब’का सदस्यले संकलन गरेको ३० हजार रुपैयाँ सोमबार एक कार्यक्रमको आयोजना गरेर परिवारका सदस्यलाइ हस्तान्तरण गरियो । हाल विदामा आएका क्लबका कोषाध्यक्ष नविन छन्त्यालले उक्त रकम हस्तान्तरण गरेका हुन् । लोकदोहोरी गीत संगीतमा लागेका सुनारलाइ दुर्गा बिरही नामले चिनिन्छ ।