बागलुङ, ११ पौष – एमाले महासचिव ईश्वर पोखरेलले संविधानसभाको मस्यौदा समितिमा उठेका बिषयलाइ संविधान संशोधनको आधार बनाएर देश बिखण्डनमा लैजान खोजिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल बागलुङले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुनुअघि आएका मस्यौदाको छलफलमा गरिएका हस्ताक्षरलाइ आधार बनाएर ल्याइएका टिप्पणी निराधार भएको बताए । एमाले बागलुङको आठौं जिल्ला अधिवेसनको क्रममा पोखरेल बागलुङ आएका हुन् । उनले नेपाली अनुहारको संघियता चाहिएको भन्दै संविधानमा किटान भएको बिषय बाहिर गएर गरिएको बहकाउको बचाउमा एमाले लागेको दाबी समेत गरे । ‘संविधानमा किटान गरिएको बिषय संशोधन हुन नसक्ने भएकोले संसदमा प्रवेश गर्न नदिएको हो’ पोखरेलले भने, ‘निर्वाचनलाई ओझेलमा पार्नका लागि प्रधानमन्त्रीले अलमलिने प्रस्ताव ल्याउका हुन् ।’ प्रस्ताव फिर्ता लिएर वा स्थगत गरेर निर्वाचनको वातावरण बनाउन लाग्नुपर्ने उनले सुझाव पनि दिए । पोखरेलले संविधान संशोधनको प्रस्तावलाइ विभिन्न ६ विषयमा आलोचना गरेका छन् । उनले राष्ट्रिय हित विपरित, जनभावना विपरित, सामाजिक सद्भाव खलवलिने, राष्ट्रिय एकतामा खलल पुग्ने, संविधानको धारा २७४ विरुद्ध, अदालतको अपहेलना हुने लगायत काम सत्ता पक्षले गरेको टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्री र शेरबहादुर देउवाले कसको एजेण्डा बोकेका छन् ?’ उनले भने, ‘संसारका कुनै देशमा नभएको प्रावधान ल्याउन खोजेर नेपालीलाइ धोका दिइरहेका छन् ।’ अंगिकृत नागरिकलाइ प्रमुख पदमा लैजाने, हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने जस्ता द्वन्द्व निम्तिने गरी प्रस्ताव गरिएको भन्दै उनले आपत्ति जनाए । संविधान जारी गर्न नदिएकाहरुको विरुद्ध राजनीतिक दल एक भएर जारी भएको उनले स्मरण गरे । साथै संविधान जारी गर्न नदिनेले कार्यान्वयन कसरी गर्छन् हेरौंला भन्दै औला ठड्याएको र अहिले त्यसैको आडमा अवरोध आएको उनले आरोप लगाए । ‘हिजो संविधान जारी गर्न नदिएका र जारी हुँदा विरोध गर्नेहरु संशोधनको नाउँमा भारतीय एजेण्डा भित्राउन खोज्दैछन्’ उनले भने, ‘यस्तो कुरा नबुझेर सत्ताधारीले शंसोधनको रटान लिएको छ ।’ देशको अस्मिता खतरामा पर्ने एजेण्डालाई संसदमा छलफलमा लैजान नदिने उनले दाबी गरे । छलफलमा लगेर पास हुने नहुने भन्दा पनि लैजानै नहुने एजेण्डाको रुपमा एमालेले लिएको उनले बताए । संविधान जारी गर्दा सबै ठूला दल एक भएको स्मरण गर्दै अझैपनि कार्यान्वयनका लागि समेत एक हुनुपर्नेमा उनले जोड दिए । जुटेर संविधान कार्यनवयन गरेमा मात्र देशले राजनीतिक फड्को मार्नेछ । अबका दिनमा आर्थिक विकासमा पुग्नका लागि सहमतिको राजनीतिक निकास आवस्यक भएको पनि उनले बताए । महासचिव पोखरेलले स्थानीय तह पुन संरचना आयोगको प्रतिवेदन आउन लागेको भन्दै प्रधानमन्त्री भाग्दै हिडेको आरोप पनि लगाए । प्रतिवेदन आएपछि सोही अनुसारको निर्वाचनमा जानुपर्ने देखेर प्रधानमन्त्रीले समय नदिएको उनको आरोप छ । प्रतिवेदन नबुझेर तुहाउने षडयन्त्रमा लागेको भन्दै संविधान कार्यान्वयनमा जानै नचाहेको टिप्पणी पनि गरे । प्रदेश नं. ५ का जनताले गरेको आन्दोलनलाइ प्रधानमन्त्रीले बितण्डा भनेर आफ्नो विगतको हविगत देखाएको पनि पोखरेलको भनाइ छ । ‘जनताको आन्दोलनमा प्रचण्डले बितण्डा भन्न सुहाउँदैन’ उनले भने, ‘जनताको एजेण्डालाइ एमालेले साथ दिएको हो ।’ अर्को प्रसंगमा उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको टिप्पणीलाइ तुच्छ भनेका छन् । ‘लोकतान्त्रिक मूल्य र विधिमा सबै चल्नुपर्छ’ उनले भने, ‘जसले उलंघन गर्छ आफै बहिस्कृत हुन्छन् ।’ कार्कीको आफ्नै व्यवहारले यो अवस्थामा आएको उनले दाबी गरे । प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नवीन शिशिर विक र संचालन सचिव सिर्जना पन्तले गरेकी थिइन् ।
अगुवा कार्यकर्ता प्रशिक्षण
यता, नेकपा एमाले बागलुङको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणमा सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोख्रेलले राजनीतिलाई समृद्धि प्राप्तीको अभियानमा केन्द्रीत गर्न एमालेका नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । पोखरेलले अधिकारको लडाई सकिएकोले अबको ध्यान आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्ने बताएका थिए । आर्थिक समृद्धिको नाममा व्यक्ति धनी हुने प्रवृति बढेको भन्दै उनले राज्यको नीति नियमको पालना गरेर पारदर्शी रुपमा काम गर्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले देशको ठुलो पार्टी कांग्रेसको अलोकप्रिय कामका कारण निरकुंशता हावी हुदै गएको आरोप लगाए ।
बन्दसत्र आजदेखि
नेकपा एमाले बागलुङको आठौ जिल्ला अधिवेशनको तेस्रो दिन सोमबार बिहानदेखि शुरु हुने भएको छ । कालिगण्डकी चलचित्र मन्दिरको सभाहलमा हुने बन्द सत्रको कार्यक्रमका बिषयमा जिल्ला सचिवालय बैठकमा छलफल भएको र आजबन्द सत्र शुरु गरिने एमाले अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए । पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमा छलफल भएर पारित भएपछि निर्वाचनको कार्यक्रम शुरु हुने केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले जानकारी दिए । अधिवेशनमा नयाँ नेतृत्वका लागि प्रदेश कमिटी सदस्य इन्द्रलाल सापकोटा, बर्तमान उपाध्यक्ष तथा सांसद नरबहादुर थापा र केन्द्रिय उर्जा बिभागका सदस्य हिराबहादुर केसी प्रतिस्पर्धा गर्ने भनिएपनि मनोनयन दर्ता नहुदाँसम्म अन्योल नै रहेको छ । पार्टी महासचिव ईश्वर पोखरेलले गुटगत रुपमा चुनावमा नजान कार्यकर्तालाई निर्देशन दिएका कारण सापकोटाको पक्षमा कार्यकर्ता बढि देखिएका छन । विगत लामोसमयसम्म पार्टीको भूमिकाविहिन भएका सापकोटालाई अहिले जिम्मेवारी दिएमा पार्टी कामलाई उचाईमा पुराउन सकिने अधिकांश कार्यकर्ताको धारणा रहेको छ । सापकोटाको पक्षमा जिल्लाका अधिकांश नेताहरुको समर्थन रहेको छ । पूर्व राज्यमन्त्री रामजी प्रसाद शर्मा, पार्टीका वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपाली, पूर्व अध्यक्ष जनक पौडेल, डा. सूर्य पाठक लगायतका नेताहरु सापकोटाको पक्षमा देखिएका छन । उपाध्यक्ष थापा हाल सांसद पनि भएकाले चुनाव नलड्न कार्यकर्ताले सुझाव दिएका छन । अधिवेशनले ५९ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अध्यक्ष सहित चार पदाधिकारी, ९ खुल्ला, महिलातर्फ खुल्ला ७, जनजाति ४ र दलित २ गरी १९ महिला सदस्य, १३ इलाकाबाट १३ सदस्य, निसी, बोबाङ, बोहरागाउँ सहितको ढोरपाटन र वरेङ विशेष संरक्षति क्षेत्रबाट २ जना, दलित ४, जनजाति ६, अल्पसंख्यक १ र मजदुर १ रहेको जिल्ला कमिटी चयन हुनेछ ।
Previous Articleसमाज घरका लागि २ लाख सहयोग
Next Article बोंगादोभान गाविसको परिषद सकियो