बागलुङ, ९ पौष – जिल्लाको मालिका गाविसको २५ औ गाउँ परिषद बिभिन्न क्षत्रमा बजेट बिनियोजन गर्दै सम्पन्न भएको छ । परिषदले आगामी बर्षकाल लागि नीति तथा कार्यक्रम सहित ९९ लाख ५४ हजारको बजेट बिनियोजन गरेको छ । गाविस सचिव नारायणप्रसाद शर्माले चालुतर्फ ५ लाख ९२ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५७ लाख बिनियोजन गरिएको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । पुँजिगततर्फ महिला लक्षित ३ लाख ६७ हजार, बालबालिकातर्फ ३ लाख ६७ हजार, पछि परेका समुदाय, दलित, जनजाति, जेष्ठ नागरिक, अपाङ्गता, युवा, खेलकुदतर्फ ५ लाख ५० हजार, कृषितर्फ ५ लाख ५० हजार, भौतिक पूर्वाधारतर्फ मोटरबाटोका लागि ९ लाख, शिक्षातर्फ ६ लाख, प्रवद्र्धनात्मक कार्यतर्फ २ लाख ७३ हजार र कन्टलजेन्सीका लागि १ लाख २१ हजार बिनियोजन भएको बताइएको छ । कार्यक्रममा नेपाली काँग्रेसका गाउँ पार्टी सभापति फुलप्रसाद सापकोटा, नेकपा एमालेका अध्यक्ष गोविन्द सापकोटा र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमलबहादुर केसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा मालिका स्वास्थ्य चौकी निर्माणका लागि २ रोपनीभन्दा बढिको जग्गा निशुल्क प्रदान गर्ने आर्यन स्मृति कोषका सचिव बलराम आचार्य र २ रोपनी जग्गा खरिदका लागि आर्थिक सहयोग गर्ने १० वटा सामुदायिक बन समुह, गाविस सचिव नारायण शर्मा, हेपो इन्चार्ज बिलासचन्द्र पौडेल लगाएतलाई सम्मान गरिएको थियो । त्यसैगरि न्यूनतम रुपमा जग्गा उपलव्ध गराउने मालिका ५ निवासी पवित्रा कुमारी आचार्य, लिलाधर आचार्य र लक्ष्मी आचार्यलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरि गाविस कार्यालयवाट कार्य शुरु गरिएको बताइएको छ । कार्यक्रम गाविस सचिव नारायण शर्माको अध्यक्षता,मालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक नारायण पौडेलको स्वागत र सिनियर अहेव बिलासचन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो ।