बागलुङ, ९ पौष – नेकपा एमाले बागलुङको आठौँ अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबारदेखि शुरु हुन लागेको अधिवेशनका लागि झण्डै ६ सय जना प्रतिनिधीहरु सदरमुकाम आइसकेका छन् ।
प्रतिनिधिसंगै समर्थक सुभेच्छुकहरुको समेत उद्घाटन कार्यक्रममा उल्लेख्य सहभागिता रहने नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताए । अधिवेशन सम्पन्न गर्नका लागि गठित विभिन्न १० वटा उपसमितिहरुले आफ्नो काम अन्तिम चरणमा पु¥याएका छन् । अधिवेशनको उद्घाटन शनिवार मध्यान्ह १२ बजे पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन पूर्व पार्टी अध्यक्ष ओली बागलुङको पहिचानका रुपमा रहेको ढोरपाटन पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । ओलीले पर्यटकीय स्थल ढोरपाटनको अवलोकन गर्नुका साथै स्थानीयको स्वागत कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष ओलीलाई रेड स्टार आमा समुहका महिला लगायत स्थानीयवासीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
ओलीको आगमनबाट ढोरपाटनमा सञ्चालन हुन लागेको जलविद्युत आयोजना छिटो सञ्चालन गर्न, बाटो तथा स्वास्थ्य चौकी निर्माणका लागि सहयोग पुग्ने अपेक्षा स्थानीयवासीले गरेको जनचेतना प्राविका प्रधानाध्यापक रामबहादुर घर्ति मगरले जानकारी दिए ।
ढोरपाटनको अवलोकनपछि अध्यक्ष ओली बागलुङ बजारमा आएर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष शर्माले जानकारी दिए । पार्टी अध्यक्षले उद्घाटन गर्ने कार्यक्रम भव्य रुपमा सफल पार्न एमालेका सम्पूर्ण नेता कार्यकर्ता अन्तिम तयारीमा जुटेका छन् । अधिवेशन सफल पार्नका लागि प्रचार प्रसार लगायतका सबै काम अन्तिम चरणमा पुगेको प्रचार विभाग प्रमुख रामकृष्ण शर्माले बताए ।
अधिवेशनबाट पार्टीको नेतृत्वमा आउनका लागि ३ जनाले चर्चा चलाएका छन् । पार्टीका वर्तमान उपाध्यक्ष नरबहादुर थापा, प्रदेश कमिटि सदस्य इन्द्रलाल सापकोटा र उर्जा विभागका सदस्य हिराबहादुर केसी अध्यक्षका लागि प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा विष्णु भुषाल, ध्रुवबहादुर केसी र कृष्ण पाठक, सचिवमा डा.सूर्य पाठक, डिल्लीराज गौतम, लालबहादुर थापा तथा उपसचिवमा नेत्रबहादुर विष्ट, अञ्जु जि.सी., लगायतले दावी गरेका छन् ।
नेतृत्वका लागि दावी गर्नेहरुको संख्या धेरै भए पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न भैरहेको जिल्ला इन्चार्ज मना केसीले जानकारी दिइन् । उनले सर्वसम्मत नेतृत्व चयनका लागि सबैलाई पहल गर्न आव्हान गरिन् ।