बागलुङ, ८ पौष – काँडेवास गाविसमा दिद दिनै खाली हुँदै गएका खेतवारीमा आयमूलक विरुवा र फलफूल रोप्ने स्थानीयले निर्णय गरेका छन् । खाली पाखामा वृक्षा रोपण गर्ने, पानी नभएका पोखरीलाइ लोप ह्ुन नदिइ संरक्षण गर्ने र पानीको व्यवस्थापन गर्ने बिषय पनि उनीहरुले उल्लेख गरेका छन् । सामुदायिक श्रोत पहिचान गरेर प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने अभियानमा जुटेका उनीहरुले ग्रामीण सडक निर्माणको क्रममा माटो सहितको बाढीले बढी क्षति भएको भन्दै पानी बग्न नदिनेगरी सडकको दायाँ बायाँ अम्रिसो र अलैची रोप्ने तयारी समेत गरेका छन् । साथै स्थानीयले गाविसलाइ नियम बनाएर जग्गा खाली राख्न नपाइने बनाउन पनि आग्रह गरेका छन् । जिल्ला भू संरक्षण कार्यालयको सहयोगमा डालेघाँस र पहिरो नियन्त्रणमा सहयोग पुग्ने बिरुवा रोप्न सकिएमा आर्थिक रुपमा पनि समृद्ध हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । दुइ दिन सम्म कार्यालयले दिएको तालिम पछि गाविस तहको पावर समूहका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा मिलेर यस्तो कार्ययोजना बनाएको सामाजिक उत्प्रेरक अनिता कंडेलले बताइन् । उनीहरुले ५ बर्षे कार्ययोजना बनाएर आवस्यक सहयोग कार्यालय सहित गाविस, जिविस तथा कृषि र पशु विकास कार्यालयमा पनि माग गर्ने निर्णय गरेका हुन् । भू संरक्षण कार्यालयले पनि एक बर्ष देखि दरमखोला जलाधार क्षेत्रको रुपमा मल्म, काँडेवास र रिघा गाविसमा वातावरण संरक्षण अभियान संचालन गरिरहेको छ । जलाधार क्षेत्रको संरक्षण गर्न नसके जुनसुकै समयमा प्राकृतिक प्रकोप आउन सक्ने भएकोले संरक्षण गर्न लगाएको भू संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताए । ‘जमिन, जंगल, जल, जनता र जनावरको संरक्षण हुनेगरी जलाधार क्षेत्रको पहिचान गरेका हौं’ श्रेष्ठले भने, ‘जलाधार क्षेत्रको संरक्षणले प्रकोप नियन्त्रणमा सहयोग पुग्छ ।’ ग्रामीण सडक खन्दा सबैभन्दा धेरै माटो बग्ने र त्यसबाट प्राकृतिक प्रकोप निम्तेको उनले बताए । मल्म गाविस बासीले पनि दरमखोलाले खोला छेउको बस्ती र खेतबारीमा पु¥याउन सकिने असरको बारेमा छलफल गरेर संरक्षणको योजना बनाएको उत्प्रेरक ज्योती केसीले बताइन् । दिनदिनै विदेश जानेहरुले छाडेका घर र बारी रित्तो बन्दै गएकोले स्थानीयले लप्सी रोपेर आयआर्जन गर्ने योजना बनाएको केसीले बताइन् । ‘आयआर्जन पनि हुने, धेरै समय खर्चेर मेहेनत पनि गर्नु नपर्ने भएपछि विरुवा माग गर्ने र आउने बर्षातमा रोपण गर्ने तयारी भएको छ’ उनले भनिन्, ‘श्रोतको व्यवस्थापन गर्ने र पहिरो जाने स्थानको छनौट गरी समयमै नियन्त्रण गर्ने बिषय पनि स्थानीयको चासो छ ।’ गाउँ परिषद र जिल्ला तह सम्म पनि संरक्षणमा सहयोग जुटाउन लागिपर्ने गरी ५ बर्षे कार्ययोजना बनाएको उनले बताइन् । खुला माटो रहने वातावरण नदिएमा पहिरो नियन्त्रणमा सजिलो हुने अर्का अधिकृत शम्भू झाले बताए । स्थानीयलाइ हरित रोजगारीको बिषयमा सचेतना दिएको र त्यसबाट आयआर्जन गर्न उत्प्रेरित गर्ने कार्यालयको योजना भएको पनि उनले जानकारी दिए । पछिल्लो समयमा सुक्दै गएका मुल प्रति उनीहरुको चासो बढेको पाइयो । मुहान र मुल संरक्षणका लागि सार्वजनिक र डाँडाको उपल्लो तहमा पोखरीहरु निर्माण गर्ने, सडकहरुमा पानीको कुलेसो बनाएर भल तर्काउने अभियानमा पनि लगाउने निर्णय भएको हो । पहिरो प्रभावित क्षेत्रमा बाँस र अन्य नियन्त्रणका विरुवा रोपणमा सहयोग गर्ने बताइएको छ । कार्यालयले मल्ममै नर्सरी निर्माण गरेको छ । उक्त नर्सरीमा लगाइने ५० हजार बिरुवाबाट गलकोट र बुर्तिवाङ क्षेत्र सम्मका किसानलाइ डालेघाँसमा आर्कर्षित गर्ने र उनीहरुलाइ व्यवसायिक बनाउने समेत योजना बनाइएको छ । कार्ययोजना बनाएका स्थानीयले सबै निकायलाइ जानकारी दिएर काम थाल्ने बताएका छन् । यो अभियानबाट तीनवटै गाविसलाइ प्राकृतिक प्रकोप बाट सुरक्षित राख्ने योजना रहेको स्थानीय यज्ञप्रसाद सापकोटाले बताए । यो अभियानलाइ जिल्ला वन कार्यालयका सहायक वन अधिकृत प्रकाश थापा, कृषि र पशु विकास कार्यालयका प्राविधिकले पनि सहयोग गरेका छन् । उनीहरुले बनाएको कार्ययोजनालाइ संयुक्त रुपमा पुरा गर्ने तथा बिषयगत क्षेत्रको सहयोग जुटाउन पहल गर्ने बताएका छन् ।
Previous Articleजनताका बिजुलीः जनार्दन र कुलमान
Next Article ‘शिक्षित भविष्य’लाई लाखौं खर्चदै अभिभावक