सज्जनकुमार सिंह
एउटा अनौठो परिघटना घटेको छ काठमाण्डु खाल्टोमा । राजधानी कालो थियो । उजेलिएको छ । सधै अध्यारो कालरात्री जस्तो थियो । आज झिलीमिली छ । मान्छेहरु भित्तामा टाँसिएको अन अफ बटनमा रमाइलो मानेर चेक गरिरहेका छन् । साँच्चै के अचम्म भयो अहो यो बटन बिग्रिएछ र पो, जतिबेला फ्याट्ट पार्दा पनि बिजुली झिलिक्क बलेको छ । पत्यार लागेकै छैन । हैन हामीलाई बिजुलीले छक्कायो क्या त ! आज बिजुली आइराख्दा आमनागरिकलाई छक्काउने को रहेछन भन्ने मेसो सबैले पाएका छन् । छक्काउने बिजुली नभै स्वार्थका पोका कर्मचारी र भ्रष्ट ब्यक्तिहरु रहेछन । बिजुली आइराखे पनि मनको लोडसेडिङ गएकै छैन । जाओस पनि कसरी हिजोसम्म २० घण्टाको लोडसेडिङ खेपिरहेकै हो । सासुले बुहारीलाई सोध्छिन् साँच्चि बुहारी आज कतिबेला जान्छ बिजुली । प्रश्न फेरिएको छ । मान्छेको मनस्थिति केही फेरिएको छ । एक महिना पहिला तीनै सासुको प्रश्न हुन्थ्यो बुहारी आज बिजुली कति बेला आउँछ ? प्रश्न फेरिएसंगै काठमाडौं खाल्डो फेरिएको छ ।
बिजुली नै नजाने यो त कसरी हुन्छ र ? यो चमत्कारप्रति आश्चार्यको जिब्रो टोक्नेहरुको हुल बाक्लो छ । लोडसेडिङ त काठमाडौंको एउटा पहिचान थियो । अरु नघोके पनि नजाने पनि एउटा चिज सबैले घोक्नै पर्ने थियो । त्यो हो लोडसेडिङ तालिका । त्यो हरेक नेपालको दिनहुँको पाठ थियो । थालबाट गाँस टिपेर मुखमा लादै गर्दा फ्याट्ट लाईन जाने खान्की मुखको सट्टा नाकमा छिर्ने त्यो दुर्दशा हामीले भोगेका छौ । प्रिन्ट हान्दा–हान्दै गरेको कागज ब्याउन लाएको बच्चा जस्तै आधा भित्र आधा बाहिर हुन्थ्यो । बिचरा त्यो कागज कसरी अड्किन्थ्यो । कागज जस्तै धेरै चिज अड्किन्थे बिजुली बिना । पढाईलेखाइ, पकाइ, खुवाइ काम गराई सबै अन्योल बनाउँथ्यो । कल्पना गरिएकै थिएन कि यो मुलुकमा २० घण्टा बिजुली आउला भनेर । बिजुली हाम्रो इच्छा अनुसार होइन हामी बिजुली अनुसार परिबर्तित हुनुपर्ने थियो । बिजुली चोर जस्तै छक्काएर आउने हामी मुखदर्शक भएर हेर्ने बस्ने नियति कम, पिडादायि र हास्यास्पद थिएन । तर म पहिलोपटक कोरिया टेक्दा अचम्मै लाग्यो के दिन के रात । पाँच बर्षको बसाइमा एकपटक बिजुली गएको थाहा पाइएन । नेपालमा यसो आकाश गड्याङ गरे बिजुली गयो । सरर हावा चल्यो, पानी आयो बिजुली गैहाल्यो । तर प्राधिकरणका कर्मचारीले कुनै जानकारी दिदैनथे । कहाँ के भो कसरी ग¥यो । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल एक हजार २८६ मेगावाट विद्युत् माग छ । भारतबाट समेत आयात गरिएको विद्युत् समेत जोड्दा कुल ८८६ मेगावाट मात्रै विद्युत् आपूर्ति भइरहेको छ । कुशल व्यवस्थापन गरिएकै कारण प्रणालीमा कुल ४०० मेगावाट कमी छ तर चुहावट र सहि ब्यबस्थापनले अहिले २४ घण्टा झिलीमिली पारिएको रहेछ । माथिल्लो मस्याङ्दी, हेवा खोलालगायत केही आयोजनाबाट हाल ४५ मेगावाट मात्रै विद्युत् उत्पादन थप भएको छ । प्राधिकरणका अनुसार हाल भारतबाट करिब २८० मेगावाट विद्युत् आयात भइरहेको छ । निकट भविष्यमा नै थप २५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ ।
एमाओवादी र कांग्रेसको सयुक्त सरकार छ । देश विकासका लागि जस्तो सुकै ठुलो जोखिम मोल्न तयार भएका उर्जामन्त्री जनार्दन र उनकै पहलमा विद्युत प्राधिकरणका निर्देशन बनाईएका कुलमान घिसिङले काठमाण्डौ झिलीमिली बनाए । देशनै झिलीमिली पार्ने अभियानमा लागेका उनीहरुको यो अभियानलाई मेरो सलाम छ । तर उनीहरुको देश झिलीमिली पार्ने अभियानमा देशका लोडसेडिङहरु अबरोध बनिरहेका छन् । बिद्युत प्राधिकरणलाई कमाइको भाँडो बनाएर, निश्चित ब्यक्ति र उद्योगलाई सस्तोमा बिजुली उपलब्ध गराउने, बिजुली चोर्ने र कमिसन खाने अपराधीहरुलाई कार्बाहीको दायरामा ल्याउनु जरुरी छ ।
सधैँ हामीले पढ्यौ । हामी संसारमै जलस्रोतमा दोस्रो धनी देशका नागरिक हौ । देशमा ८३ हजार मेगावाट विद्युत निकाल्न सकिन्छ तर ४० वर्षको समयमा मात्र ६ सात सय मेगावाट भन्दा बिद्युत उत्पादन गर्न नसकिएको प्राधिकरणले बताउदै आएको छ । संभावना त यतिसम्म छ कि बागलुङको एउटा खोलाबाट २ दर्जन बढि ठाउँमा बिजुली निकालिएको छ । यस्ता सम्भावना जति पनि छन तर अझै हामीलाई लगानी र अन्योलताले गाजिरहेको छ । बिद्युत बेचेर हामी सम्वृद्व बन्न सक्छौ । केही समय अगाडि मात्र बंगालादेशले आफै लगानी गरेर आफै बिद्युत किन्ने ठुलो प्रस्ताव गरेको कुरा सार्वजनिक भएको छ । यो प्रस्ताव कार्यान्वयनमा लगियो भने अर्बौं रकम नेपाल भित्रिने छ । त्यसैले यो प्रस्ताव जसरी पनि कार्यान्वयनमा लगिनु पर्छ । देशको पानी जनताको लगानी भन्ने सान्दर्भिक नारा मन्त्री शर्माले अगाडि सारेका छन् । देशका केही नदिनाला र बिद्युत उत्पादनका संभावना भएका स्रोत भारतिय कम्पनीले लोड गरेर राखेका छन् । केहि प्रोजेक्ट नेपाललाई घाटा पार्ने गरि लेङ्गडिङ गरिएका छनन् । देशको पानी नागरिकको लगानी हुने गरि ऐन ल्याउन लागिएको छ । यो पनि निकै सुखद समाचार हो । सामान्य नागरिकले ढुक्कसंग सक्ने जति लगानी गरि सुनिश्चित भविष्य बनाउने अभियानमा सफल बनाउन नारा मात्र सिमित नराखी ब्यबहारमा लागू गर्नु जरुरी छ । देशमा धेरै नदी बगेको छ । त्यहाँ हाम्रो ठुला संभावना बगेर खेर गैरहेको छ । पानीमा ठुलो पैसा बगिरहेको छ तर हामीले त्यो पैसा छोप्न सकिरहेका छैनौ । कि हामी देशमा बगेको पैसा टिप्न नसकेर मरुभूमिमा बालुवा चालिरहने बाध्यता छ । देशमा यति सम्भावना हामी गरिब । देशमा ८४ हजार मेगावाटको सम्भावना देशमा २० घण्टा लोडसेडिङ ? देशको लोडसेडिङमा स्वार्थको फाईदा उठाएका प्राधिकरणका पुर्वएमडी र कर्मचारीहरुको कुकत्र्य उदांगिएको छ । कमिसनमा परि उद्योगलाई आधा बढि विजुली दिएर नागरिकलाई अध्यारो बनाएका अपराधीहरु आज पनि जनार्दन र कुलमानको यो अभियानको अबरोध बनिरहेका छन् । देशमा असल नेतृत्वले सामान्य नागरिकप्रति जवाफदेहि बन्दा, सामान्य ब्यबस्थापनमा हेरफेर गर्दा ठुलो उपलब्धि हासिल हुन्छ भन्ने कुरा लोडसेडिङ अन्त्य प्रयासले पुष्टि गरेको छ । यस्तै अन्य क्षेत्रका गलत ब्यक्तिलाई फालेर उर्जाशिल र सक्षम नेतृत्वलाई काम गर्ने बाताबरण बनाउनु पर्छ । न त बिद्युत प्राधिकरणको बिश्वास थियो नत बिद्युतको । बिजुलीले नागरिकबाट बिश्वास गुमाएको थियो । तर अहिले मन्त्री शर्मा, निर्देशक घिसिङ र सिंगो टिम देशलाइ बिजुलीमय बनाउन लागिपरेका छन् र क्रमिक रुपमा सफल भएका छन् । सबै क्षेत्रले घिसिङ र यो समुहबाट सिकौ । सबैले जिम्मेवारी बहन गरौ देशलाई अहित हुन काम नगरौ । कुनै एक÷दुई जना गतिलो मान्छे निर्णायक तहमा पुग्दा र सहि ब्यबस्थापन गर्दा यत्रो परिबर्तन सम्भव छभने सबै कर्मचारीहरुले आफ्नो जिम्मेवारी पालना गरे कस्तो बन्दो हो देश । प्रश्न सरल तर गम्भीर छ । देशमा भएको चिजलाई सहि ब्यस्थापन गरौ र नभएका चिजलाई खोजौ बिकास गरौ । देशका विजुली मन्त्री जनार्दन र कुलमानलाई सलाम छ ।
Previous Articleशक्ति प्रदर्शनका लागि एमालेले बनायो महासचिवको टोली
Next Article प्रकोप नियन्त्रण अभियान संचालन