बागलुङ, ८ पौष – मल्म गाविसका जीतबहादुर थापाले सिर्जनशिल बाल बिकास केन्द्र निर्माणका लागि १ लाख रुपैयाँको जग्गा दान गरे । उनको सहयोगलाइ कदर गर्दै केन्द्रले सम्मान पनि गरेको छ । सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले उनलाइ बालविकास केन्द्रको उद्घाटनको क्रममा सम्मान गरे । त्यस्तै केन्द्रमा अध्ययन गर्ने बालबालिकालाइ खाजा र अन्य व्यवस्थापकीय कामका लागि सहयोग पुगोस भनेर स्थानीय यशोदा थापा र नरबहादुर थापाले अक्षयकोपा पनि संचालन गरिदिएका छन् । उनीहरुलाइ पनि उपाध्यायले सम्मान गरे । सेभ द चिल्ड्रेनको सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले संचालन गरेको ‘शिक्षित भविष्य’ परियोजना संचालन गरेपछि जिल्लामा निर्माण भैरहेका बालविकास केन्द्रलाइ अभिभावकले धमाधम सहयोग गरेका हुन् । उनीहरुले जग्गा खरिद देखि भवन निर्माणसम्म सहयोग गरेका छन् । सेभले ५ लाख ५० हजार रुपैयाँ मात्र सहयोग गर्दा स्थानीयले ५ देखि १० लाख रुपैयाँसम्म चन्दा र श्रमदानको सहयोग जुटाएका हुन् । बालबालिकाको सुरक्षित भविष्यका लागि विस्तारै स्थानीयहरु जुटिरहेका छन् । बालबालिकाको शैक्षिक गुणस्तर खस्कंदो भएपछि उपल्लो कक्षामा पुग्दा बालबालिकाले बिचैमा पढाइ छाड्ने अवस्था समेत आएको थियो । यो समस्यालाइ कम गर्न र बालबालिकालाइ सानै उमेरमा सभ्यता र पढाइको अभ्यास सिकाएमा पछि सफल बन्न सक्छन् भन्ने तथ्य सहित बालबिकास केन्द्रको अभियान ल्याइएको उपाध्यायले बताए । सरकारले बालविकास केन्द्र खोल्ने अनुमति र सहयोगी कार्यकर्ताको व्यवस्थापन गरेपनि संचालन र भवन निर्माणका लागि लाग्ने लाखौं खर्च स्थनीयकै पहलमा भैरहेको छ । गैरसरकारी संस्थाले दिएको सहयोगमा अभिभावकले श्रमदान र चन्दा थपेर यस्ता भवन बनीरहेका हुन् । उनीहरुको सक्रियताकै कारण १० देखि १५ लाख रुपैयाँ सम्मका भवन बनेका छन् । तारवार घेरा लगाइएको छ भने बाहिरी र भित्री खेलहरुको व्यवस्था गरिएको छ । न्यानो कार्पेटमा बसेर बालबालिकाले रमाएर सिक्ने अवसर पाएका छन् । सहयोगी कार्यकर्तालाइ पहिलो चरणमा १५ दिनको तालिम दिएपछिमात्र पढाउन लगाइन्छ । त्यस्तै हरेक बर्ष पुर्नताजकी तालिम पनि संचालन गरिएको छ । जिल्लामा फाउन्डेसन र सेतो गुराँस बालविकास सेवाले यो अभियान संचालन गरिरहेका छन् । उपल्लो कक्षामा पुगेपछि मात्र मेहेनत गर्ने हो भन्ने भावनालाइ यो अभियानले परिवर्तन गरिदिएको छ । जसको कारण बालबिकास केन्द्रमा लगानी र मेहेनत बढाएमा मात्र भविष्य सुनौलो बन्छ भन्ने धारणा अभिभावकमा पलाएको छ । यो बर्ष पनि सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लामा २६ वटा बालबिकास केन्द्र निर्माण भएका छन् । उज्यालो, फराकिलो, रमाइलो ती केन्द्रमा ६ वटा सिकाइका कुना बनाइने गरिन्छ । आवस्यक फर्निचर, सामाग्री, शैक्षिक सामाग्री समेत दाताबाट पाएपछि विद्यालय र समुदायले पनि बालविकास केन्द्रको गुणस्तर विकास गर्न पहल गर्न थालेका छन् । सहयोगी कार्यकर्ताको पारिश्रमिक न्युन भएकोले अझै यसलाइ प्रभावकारी बनाउन नसकिएको आवाज उठेको फाउन्डेसनका कार्यकारी निर्देशक प्रमानन्द कंडेलले बताए । गत असार सम्म मासिक ३ हजार रुपैयाँ मात्र पाएका कार्यकर्ताले साउन देखि मासिक ६ हजार पाउन थालेका छन् । सरोकारवाला निकायले भने सरकारलाइ कम्तिमा प्राथमिक शिक्षक सरह तलब दिनुपर्ने माग गरेका छन् । नियमित तािलम, कक्षा संचालन विधि, बालबालिकालाइ गर्नुपर्ने व्यवहार समेतको समय समयमा तालिम संचालन गरिएकोले सहयोगी कार्यकर्ताहरु विद्यालयको शिक्षक भन्दा मेहेनती र जानकार भैसकेको फाउन्डेसनका कार्यक्रम संयोजक नवराज थापाले बताए । ‘जग्गादातालाइ समुदायले गरेको सम्मान जस्तै सहयोगी कार्यकर्ताले खेलेको भूमिका प्रति राज्यले सम्मान गर्नुपर्छ’ थापाले भने, ‘तलब बढाएर सम्मानको अभियान पनि चलाएमा देशको भविष्य हाँक्ने जनशक्ति अहिले देखि दक्ष र गुणस्तर बन्न सक्नेछन् ।’