बागलुङ, ७ पुस/नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोका मगरले प्रमुख दलका नेताहरु नै संघीयता र गणतन्त्रको विरुद्वमा लागेको आरोप लगाएका छन् । नेपाल मगर संघको बुधवार बागलुङ बजारमा सम्पन्न मगरात जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ संविधान जारी हुँदा मगर समुदायसंगै उपेक्षित वर्ग र समुदायको हक अधिकार कुण्ठित गरिएको र यसलाई संविधान संशोधनमार्फत सम्वोधन गर्न उदेश्यले आयोजित मगरात जनसभामा बोल्दै अध्यक्ष मगरले भने, ‘उपेक्षित उत्पीडित जातिहरुलाई राज्यको मुल प्रवाहमा ल्यान सिंहदरबारसंग लड्ने बेला आएको छ ।’ अध्यक्ष मगरले संघको लडाइ कुनै जाति र पाटी बिशेषसँग नभई राज्य सँग भएको समेत स्पष्ट पारे । प्रादेशिक संरचनामा मगरहरुको सघन बस्तीलाई तिन टुक्रा पर्ने गरी सिमाङ्कन गरिएकोमा पनि उनले आपत्ति जनाए । ‘सरकारले मंसिर १४ गते दर्ता गरेको संशोधन प्रस्तावले धेरै हदसम्म सम्वोधन गर्ने प्रयास गरेको छ’, अध्यक्ष रोकाले भने, ‘अन्य धेरै विषय छुटेको छ, छुटेका बिषयलाई पनि सम्बोधन गनुपर्छ ।’ जनसभामा मगर संघका निवर्तमान केन्द्रिय अध्यक्ष तथा सल्लाहकार महेन्द्र थापा मगर, केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन, पश्चिमाञ्चल उपाध्यक्ष मन्दिरा आलेमगर, संयुक्त मगर मञ्चका अध्यक्ष सुदर्शन बराल, केन्द्रिय सदस्य राम जर्घा मगर, निवर्तमान केन्द्रिय सदस्य तेजेन्द्र थापा, नेपाल मगर संघ पर्वतका अध्यक्ष खममाया पुन, म्याग्दीका कोषाध्यक्ष रेशम जुग्जाली मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । राज्यको पुनसंरचनाका सन्दर्भमा प्रदेश नं ५ मा रहेको रोल्पा, रुकुमको पूर्वी भाग, प्युठान, अर्घाखाची, गुल्मी, पाल्पा, दाङको पहाडी भाग र प्रदेश नं.४ को स्याङ्जा, नवलपरासीको पहाडी भाग, तनहुँ, गोरखाको दक्षिण भाग, लमजुङको दक्षिण भाग, म्याग्दी, बागलुङ र प्रदेश नं ६ मा रहेको सल्याण पूर्वी भाग दक्षिण भाग र डोल्पा पूर्वी उत्तरी भाग लगायतको जिल्लालाई समेटेर ऐतिहासिक पहिचानको आधारमा एकिकृत मगरात स्वायत्त प्रदेश घोषणा गरिनुपर्ने नेपाल मगर सघं बागलुङका अध्यक्ष गणेश थापाले बताए । नेपालमा बोलिने सबै मातृभाषालाई नेपालको सरकारी कामकाजको भाषा बनाउन, राज्यको हरेक निकायमा जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्न पनि संघले माग गर्दै आएको छ । जनसभा अघि नेपाल मगर संघ बागलुङको सभाहलवाट शुरु भएको ¥यालीले बिभिन्न नारा र प्ले कार्डसहित बजार परिक्रमा गरेको गरेका थिए । कार्यक्रम नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापा मगरको अध्यक्षता, केन्द्रिय सदस्य जोकलाल बुढा मगरको स्वागत र जिल्ला सदस्य कुसुम बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।