छाउपडी प्रथाले हालै मात्र एक किशोरीको ज्यान लिएको छ । अछाप जिल्ला गाज्रा गाविस–७ मा १५ वर्षिय रोशनी तिवारीको छाउगोठमै ज्यान गएको हो । केही महिना अघि निकै नै तामझामका साथै गाज्रा गाविसलाई छाउपडीमुक्त घोषणा गरेपनि दुई महिनाको अवधिमा दुई किशोरीको ज्यान गईसकेको छ । पश्चीम नेपालका धेरै जसो क्षेत्रहरुमा छाउपडी प्रथा र यसले माहिलाहरुमा ल्याएका चुनौतीहरुका पहाडहरु छन् । छाउपडी बार्नु त्यहाँको धर्म र सँस्कृति हो, सँस्कृतिको आडमा महिलाहरु माथि गरीने यस्ता अमानविय ब्यवहार मानव अधिकारका विरुद्धमा छन् । सुत्केरी होस वा महीनावारी महिलाका प्रजनन् अंगबाट रातो पदार्थ निस्केपछि उनी अछूत हुने कुप्रथा हाम्रो समाजमा विद्यमान रहेको छ । सुत्केरी अवस्थामा लामो समयसम्म रज्वश्वला भइरहने हुनाले सुत्केरी हुँदा महिलाले जाडो वा गर्मी होस छाउ अर्थात गोठमा घर र परिवारबाट अलग भएर बस्नु पर्ने परम्परारा रहेको छ । यस्तो प्रथाले महिला तथा बालबालिकाको समेत स्वास्थ्य कमजोर बन्दै जान्छ ।
यतिमात्र नभई सुत्केरी अवस्थामा उनलाई दहि–दुध जस्ता तागत लाग्ने खानेकुराहरु समेत छुन र खान दिइदैन, पर्याप्त लता कपडा र ओच्छयाउने सरसामान समेत दिइदैन । महिनावारी पनि यसै गरि वारिन्छ । आजभोली उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला शसक्तीकरण आदि जस्ता मुद्धाहरु ब्यवहारमा लागू गर्न सर्वप्रथम यस्ता प्रथामा सुधार र बन्देज लगाई यस्ता प्रथाबाट पिडित महिलाहरुको जिवनस्तर र चेतनास्तर उठाउने काममा सामाजिक संघ संस्था र सरकारी निकाय गंभीर बन्नुपर्छ । यस्तो कुप्रथा छाउपडीविरुद्ध आवाज उठाउन अब ढिलो गर्नु हुन्न । छाउपडी मात्रै होइन धामीझाँक्री र बोक्सीको प्रथा पनि विद्यमान रहेको छ । बोक्सीको आरोपमा एक साताअभि मात्र काभ्रेमा एक महिलालाई सार्वजनिक ठाउँको पोलमा बाँधेर दिशा खुवाई कुटर हत्या समेत गरिएको छ । तर, यस्ता कुप्रथामा संलग्नलाई कडा कार्वाही गर्नुका साथै घटनालाई अतिरञ्जित गर्दै प्रहरी प्रशासनले नै अनुसन्धानमा आलटा गर्छ ।
छाउपडी प्रथा आधुनिक जमानाको कलंक हो, आजको युगमा यस्ता कुप्रथामा सुधार ल्याउनु तथा बन्देज लगाउनु अति आवश्यक भैसकेको छ । यस्ता कुरीतिहरुमा सुधार ल्याउनको लागि नेपालका अति दुर्गम क्षेत्रमा शिक्षा तथा जनचेतना प¥याउन जरुरी छ । कुप्रथाले गाँजेका क्षेत्रका जनताहरुमाहरुमा शैक्षिक स्तर बढाएर, प्रकृतिको वास्तविकता बुझाएर यस्ता प्रथा र कुरीतिहरुलाई विस्तारै कम गर्न सकिन्छ । यस्ता विकृतिका कारण धेरैको ज्यान गईरहँदा पनि सरकारी निकायले गंभीर रुपमा लिएको पाईदैन । सरकारी तवरबाट जबसम्म पहलकदमी हुँदैन तबसम्म विकृति प्रथाले नेपालको मानव विकासमा समेत गंभीर असर गर्दछ । नेपालमा रहेका विकृति प्रथाले विश्वमा नै बद्नाम हुँदा समयमै यसको बारेमा सोच्नु पर्छ । समाज परिवर्तन संभव छ, त्यसैले सबैको ध्यान कुप्रथा हटाउन केन्द्रित हुनुपर्छ ।