बागलुङ, ७ पुस/अमेरिकी जनताको सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले संचालन गरेको सुआहारा दोश्रो कार्यक्रम अन्र्तगत गाउँ खाद्य सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठकमा गाविसमा उत्पादन हुने खाद्यान्नको प्राथमिकीकरण गर्दै पोषण तत्व युक्त खाना खानका लागि सबैलाइ आग्रह गर्ने निर्णय भएको गाविस सचिव महेन्द्र पौडेलले बताए । एक अध्ययनको तथ्यांक अनुसार नेपालमा अहिले पनि ४१ प्रतिशत भन्दा धेरै बालबालिकामा पुड्को पन भएको, उमेर अनुसार तौल नभएको लगायत समस्या देखिएपछि पोषण युक्त खानामा जोड दिइएको छ । सुआहारा कार्यक्रमले पनि गर्भ अवस्थादेखि बालबालिका जन्मेको २ बर्ष सम्म बालबालिकाको मस्तिस्कको अधिकांस भाग विकास हुने भएकोले उक्त समयमा पोषणमा जोड दिनुपर्ने अभियान संचालन भएको छ । यो अभियानले महिलामा देखिने समस्या समेत समाधान हुने विश्वास लिइएको छ । कार्यक्रममा फाउन्डेसनका यमुना बोसेल, मल्म स्वास्थ्य चौकीका इन्चार्ज अभिनेत्रप्रसाद शाह र महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रको अवस्था र आगामी दिनमा गर्नुपर्ने क्रियाकलाप बारेमा बोलेका थिए । महेन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।