काठमाडौं, ७ पुस – नेपाल आयल निगमले आफैंले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएको छ । निगमले तयार पारेको ‘स्वचालित मूल्य प्रणालीसम्बन्धी कार्यविधि २०७१’ अनुसार प्रतिलिटर २ प्रतिशतभन्दा मूल्य घटबढ गर्न पाइँदैन ।
जसअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेल/मठितेल प्रतिलिटर १ रुपैयाँ ४६ पैसाभन्दा बढाउन पाइँदैन । तर, दुवैमा निगमले कार्यविधि विपरीत प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ । ‘कार्यविधिअनुसार प्रतिलिटर २ प्रतिशत मात्रै घटाउन/बढाउन पाइन्छ ।
हाल प्रतिलिटर साढे ४ रुपैयाँ बढाइएको छ,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘कार्यविधिअनुसार समायोजन मिलेन ।’ उनका अनुसार निगमले पेट्रोलमा १२ प्रतिशत र डिजेलमा १ प्रतिशतसम्म नाफा राख्न मिल्छ । तर, मूल्य समायोजनमा भने २ प्रतिशतभन्दा घटबढ गर्न मिल्दैन ।
व्यवस्थापिका संसदले पनि प्रतिलिटर २ प्रतिशतभन्दा बढी घटबढ गर्न नहुने जनाएको छ । ‘निगम आफैंले बनाएको कार्यविधिमा प्रतिलिटर २ प्रतिशतभन्दा बढी घटबढ गर्न नमिल्ने उल्लेख छ । तर, प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ,’ उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सचिव सुदर्शन खडकाले भने, ‘यो जायज होइन । मूल्यवृद्धि कार्यविधि विपरीत भयो । यसबारे निगमसँग बिहीबार छलफल गर्नेछौं ।’
निगमले गत आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको थियो ।
नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मटितेल ७७ रुपैया ५० पैसा पर्छ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मटितेल ७३ रुपैयाँ थियो । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य बढेकाले सोहीअनुसार यहाँ मूल्य बढाएको दाबी गरेको थियो ।
तर, निगमले मूल्य घटेको बेला प्रतिलिटर साढे २ रुपैयाँबाहेक घटाउने गरेको छैन । जानकारहरूका अनुसार इन्धनको मूल्य वृद्धिसँगै सबै क्षेत्रमा भाउ बढ्छ । हाल निगम नाफामा रहेकाले सर्वसाधारणलाई मार पर्ने काम उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
‘निगम स्वयंले बनाएको कार्यविधिमा साढे २ रुपैयाँभन्दा बढाउन मिल्दैन । आईओसीले मूल्य घटेको सूची पठाउँदा यहाँ साढे २ रुपैयाँभन्दा बढी घटेको छैन ।
मूल्य केही बढदैमा हवात्तै बढाउन पाइन्न,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘निगमको निर्णय उपभोक्ताको हित विपरीत छ । प्रतिलिटर साढे ४ रुपैयाँ बढाउनु अव्यावहारिक हो ।’ हाल नाफामा रहेकाले मूल्य बढाएर सर्वसाधरणलाई मारमा पार्न नहुने उनको भनाइ छ ।
आईओसीले डिसेम्बरमा १६ मा पठाएको नयाँ मूल्यसूची अनुसार निगमको पाक्षिक नाफा १४ करोड १८ लाख रुपैयाँ छ । यही क्रममा नाफा रहिरहे एक महिनामा साढे २८ करोड रुपैयाँ हुनेछ । २०७१ असोज १३ देखि पेट्रोल, डिजेल मटितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू भएपछि निगम नाफामा छ । नाफामा गएपछि सरकार र विभिन्न संस्थाबाट लिएको ३६ अर्ब ६६ करोड ऋण पनि चुक्ता गरिसकेको छ ।
नयाँ मूल्यसूचीअनुसार खाना पकाउने ग्यासबाहेक पेट्रोल, डिजेललगायत सबैमा नाफा छ । तथ्यांकअनुसार प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ ४३ पैसा, डिजेलमा १ पैसा, मटितेलमा १९ रुपैयाँ ६५ पैसा नाफा छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ५ पैसा र अन्तर्राष्ट्रिय तर्फ १९ रुपैयाँ ६७ पैसा नाफा छ । ग्यासमा भने घाटा छ ।
प्रतिसिलिन्डर ८० रुपैयाँ ६९ पैसा घाटा देखाइएको छ । ग्यासबाहेक सबैमा नाफा भए पनि बजारमा मूल्य वृद्धि गर्ने गरी भाउ बढाएको उपभोक्ताकर्मीको आरोप छ । यता निगमका प्रवक्ता भानु खनालले अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको र तस्करी रोक्न मूल्य बढाएको बताए ।
रक्सौल र वीरगन्जको खुद्रा बिक्री मूल्य धेरै अन्तर भएकाले यहाँ साढे ४ रुपैयाँ बढाएको उनले बताए । उनका अनुसार रक्सौलको तुलनामा वीरगन्जमा प्रतिलिटर पेट्रोल १४ रुपैयाँ २५ पैसा र डिजेल २० रुपैयाँ ५२ पैसा सस्तो छ ।
भारतले नेपालका लागि भन्सार छुट दिएको छ । तर, भारतीय बजारमा अन्त:शुल्कसँगै विभिन्न करहरू लगाएर खुद्रा मूल्य तय गरिन्छ । भन्सार छुट हुँदा नेपालमा सस्तो पर्छ । हाल रक्सौलको खुद्रा बिक्री मूल्य प्रतिलिटर पेट्रोल १ सय १४ रुपैयाँ २५ पैसा र डिजेल ९६ रुपैयाँ ५२ पैसा छ ।वीरगन्जको खुद्रा बिक्री मूल्य प्रतिलिटर पेट्रोल १ सय र डिजेल ७६ रुपैयाँ छ ।
‘एक लिटरमै २० रुपैयाँ सस्तो हुँदा आयातित इन्धन पुन: भारततर्फ तस्करी भएको छ,’ खनालले भने । उनले कार्यविधिमा कम्तीमा २ प्रतिशत घटबढ उल्लेख भएकाले साढे ४ रुपैयाँ बढाउनु उचित भएको दाबी पनि गरे ।
आपूर्ति मन्त्रालयले सीमा क्षेत्रमा गरेको अनुगमनको क्रममा पनि थोरै/थोरै परिमाणमा चोरी पैठारी भएको फेला परेको जनाएको छ । ‘बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत सीमा क्षेत्रमा अनुगमनको क्रममा भारतीय गाडी नेपालमा तेल भर्न आउने, यहाँका गाडी पनि नेपालमै तेल भरेर जाने, सानो/सानो ग्यालेनमा तस्करी भएको पाइयो,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले भने । कान्तिपुर
Previous Articleथप हवाई रुट दिन भारतको आनाकानी
Next Article तिवारीलाई सहिद घोषणा गर्न प्रस्तावपछि शवको अन्तेष्टि