ग्रेट हल अफ द पिपुल्समा सोमबार साँझ आयोजित एक समारोहका बीच पौडेलले राष्ट्रपति सी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। प्रमाणपत्र बुझेपछिको संक्षिप्त कुराकानीमा सीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘म नेपाल भ्रमण गर्न एकदमै इच्छुक छु। दुवैतिर उपयुक्त समय मिलाएर भ्रमण गर्ने हो।’
राष्ट्रपति सीसँगको भेटमा अफूले आपसी हित प्रवद्र्धन गर्ने हिसावले कुरा राखेको राजदूत पौडेलले बताए। उनले भने, ‘मैले दुर्इ मुलुकबीचको सम्बन्ध यस क्षेत्रमा शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण छ। सम्बन्धलाइ थप विस्तार गर्न, नयाँ उचाइमा पुर्याउन र बहुआयामिक अवसरहरूबाट दुवै मुलुकका जनतालार्इ फाइदा दिलाउन काम गर्ने बताएँ।’
राष्ट्रपति सीले नेपालसँग चीनको विश्वमै उदाहरणीय सम्बन्ध रहेको भन्दै चीनको क्षमता अनुसार नेपाललाई निरन्तर सहयोग गर्ने बताए। राष्ट्रपति सीले भारतको गोवामा दुई महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेट स्मरण गर्दै दुवै देशका लागि अनुकुल समयमा नेपाल भ्रमण गर्ने जानकारी दिए।
बेइजिङस्थित दूताबासले भनेको छ, ‘राष्ट्रपति सीले एक चीन नीतिलाई निरन्तरता दिएकोमा नेपाललाई धन्यवाद दिँदै वान बेल्ट वान रोडको अवधारणाले दुवै देशलाई फाइदा पुग्ने विश्वास दिलाए।’
राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश गरेपछि पौडेलले अब राष्ट्रपति सहभागि हुने कुनै पनि कार्यक्रमहरुमा सहभागिता जनाउन सक्नेछन्। यसअघि उनले गत मंसीर २ गते चिनियाँ परराष्ट्र मन्त्रालयका उप निर्देशक चाङ् यि मिङ्ग समक्ष ओहदाको प्रमाणपत्रको एक प्रति बुझाएर राजदूतको हैसियतमा आफ्नो अन्य जिम्मेवारी सम्हाल्ने बाटो खुलाएका थिए।
चीनमा राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउने समय वर्षमा तीन पटक अर्थात् प्रत्येक चार चार महिनामा एकचोटी हुने गर्दछ। प्रमाणपत्र बुझाउने समय आउन बाँकी नै रहेको अवस्थामा तत्कालका लागि परराष्ट्रमा ओहदाको प्रमाणपत्रको एक प्रति बुझाएर कुनै पनि राजदूतले हैसियत बमोजिम काम गर्नसक्ने प्रचलन छ।
पूर्व राजदूत महेश मास्के नेपाल फर्किएको झण्डै ६ महिनापछि पौडेलले कार्यभार सम्हालेका हुन्। मंसीर १ गते मन्त्रीस्तरीय दर्जासहित नियुक्ति लिएर बेइजिङ आएका पूर्व मुख्यसचिव पौडेलले भोलिपल्ट दूताबासमा पुगी कार्यभार सम्हालेका थिए।
Previous Articleगण्डकी मेडिकल कलेजमा अनिश्चितकालीन आन्दोलन
Next Article चार बोरा न्यानो माया