पोखरा, ५ पुस – डाक्टरको आन्दोलनले गण्डकी मेडिकल कलेजको सेवा प्रभावित बनेको छ। चार सूत्रीय माग राखेर डाक्टरले थालेको आन्दोलन अनिश्चित बनिदिँदा मेडिकल कलेजको सेवा अस्तव्यस्त भएको छ। सेवा–सुविधा बढाउनुपर्ने, निस्कासित चिकित्सकको बहाली गर्नुपर्ने, करारका चिकित्सकलाई स्थायी गर्नुपर्ने र समयमै तलब उपलब्ध गराउनुपर्ने माग राख्दै १४ दिनदेखि गण्डकीका डाक्टर आन्दोलनमा छन्।
आन्दोलनमा उत्रिएका डाक्टर र कलेज प्रशासनको लडाइँले बिरामी मारमा परेका छन्। कलेजको बहिरङ सेवा र शैक्षिक कार्यक्रम प्रभावित भएका छन् भने डाक्टरले नयाँ बिरामी भर्ना लिन पनि रोकेका छन्। कलेजका ८० जना डाक्टर आन्दोलनमा उत्रिएपछि उपचार गर्न आएका बिरामी त्यसै फर्किन वाध्य छन्।
आफ्ना मागलाई प्रशासनले बेवास्ता गरेकाले आन्दोलन अनिश्चित बनेको संघर्ष समितिका सचिव डा. तारा कोइरालाले बताए। ‘हामीले कुनै नयाँ कुरा माग गरेका होइनौँ, अधिकार मागेका हौँ,’ डा. कोइरालाले भने, ‘चार वर्षदेखिको आन्दोलनपछि भएको सम्झौता पूरा गर्नुपर्नेमा प्रशासनले चिकित्सकलाई झन् अल्झाउने काम गरेको छ।’ २–२ वर्षमा सेवासुविधा बढाउँदै लैजाने प्रशासनसँग सम्झौता भए पनि सुविधा बढाउनुको साटो २–३ महिनासम्म पनि चिकित्सकले विनातलब सेवा दिनुपरेको उनले गुनासो गरे। डाक्टरले महिना बितेको ७ दिनभित्रै तलब पाउनुपर्ने माग गरेका छन्।
कलेजले चिकित्सक विनम्र बस्नेत र विवेक रञ्जितको करार थप नगरेपछि आन्दोलन सुरु भएको थियो। प्रशासनले व्यक्तिगत रिसइबीका कारण उनीहरुको करार नवीकरण नगरेको संघर्ष समितिको आरोप छ। श्रम ऐन, २०४८ अनुसार काम गरेको २ सय ४० दिनपछि कर्मचारी स्वतः स्थायी हुनुपर्ने उनीहरुको तर्क छ। अहिले ८० प्रतिशत डाक्टर करारमा रहेको दाबी गर्दै कलेज अस्थायी संस्था नभई निरन्तर सेवा दिने निकाय भएको डा. प्रेम नेपालीले बताए।
प्रशासनसँग दुई चरणमा वार्ता भए पनि सहमति जुटेको छैन। कलेज प्रशासनले माग पूरा नगरेसम्म आन्दोलन नरोकिने संघर्ष समितिले जनाएको छ।
आन्दोलन मर्यादाविपरीतः प्रशासन
डाक्टरको आन्दोलन मर्यादाविपरीत भएको कलेज प्रशासनले दाबी गरेको छ। कलेजका सिइओ सन्तोष खनालले विधिको कुरा गर्ने डाक्टरले पहिले आफ्नो दायित्व, विधि र प्रक्रिया बुझ्नुपर्ने बताए। ‘आन्दोलनको पनि विधि र प्रक्रिया हुन्छ,’ खनालले भने, ‘वार्ताबाट समस्या समाधान गर्न सकिन्छ तर बिरामीलाई सेवाबाट वञ्चित गर्ने अधिकार छैन।’ डाक्टरलाई निस्कासन गरेको नभई करार नथपिएको उनले प्रस्ट पारे।
करार सकिएका डाक्टरलाई पुनः बहाली गर्न नसकिने उनको भनाइ थियो। सबै डाक्टरलाई स्थायी गर्ने हो भने कलेजको नियम पालना गर्नुपर्ने उनको भनाइ छ। आवश्यकता अनुसार डाक्टरलाई करारमा राखिएको बताउँदै खनालले स्थायी गर्नका लागि कति दरबन्दी कायम गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए। ‘स्थायी गर्ने हो भने डाक्टरले अरु क्लिनिक तथा अस्पतालमा काम गर्न पाउँदैनन्,’ खनालले भने।
जिल्ला प्रशासन कार्यालय र श्रम मन्त्रालयको रोहबरमा आफू वार्ता गर्न तयार रहेको उनले बताए। सिइओ खनालले ओपिडी बन्द गर्ने, बिरामीलाई भर्ना हुन नदिने, अत्यावश्यक सेवाबाट वञ्चित गर्ने चिकित्सकको काम विधि र मर्यादाविपरीत भएको बताए।
स्वास्थ्यमन्त्री गुहार्दै कलेज
चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित भएपछि कलेजले स्वास्थ्य मन्त्रालय गुहारेको छ। बिरामीले पाउने अत्यावश्यक सेवासमेत प्रभावित हुनेगरी आन्दोलन भएको भन्दै कलेजले स्वास्थ्यमन्त्री गगन थापालाई गुहारेको हो। ‘स्वास्थ्यमन्त्रीलाई हामीले टेलिफोनमार्फत आन्दोलन र यथार्थबारेमा बिफ्रिङ गराएका छौं,’ सिइओ खनालले भने, ‘उहाँले स्वास्थ्य संस्था डाक्टरको आन्दोलनले प्रभावित हुनु दुखद भन्दै सहयोग गर्ने बताउनु भएको छ।’
गण्डकी मेडिकल कलेजमा अनिश्चितकालीन आन्दोलन
Previous Articleसन्की सोच र सिर्जनात्मक विचार
Next Article समय मिलाएर नेपाल आउँछु-राष्ट्रपति सी