बागलुङ, ४ पौष – द्वन्द्वकालमा विस्थापित भएको नेपाल बैंक लिमिटेडको गलकोट शाखाले १५ वर्षपछि पुनः सेवा थालेको छ । नेपाल बैंक लि.को गलकोट शाखाले आईतबारदेखि हरिचौरबाट सेवा सुरु गरेको हो ।
बैंकको आफ्नो भवन जीर्ण भैसकेकोले तत्कालका लागि भाडाको घरबाट सेवा सुरु गरेको नेपाल बैंक लि. गलकोट शाखाका प्रबन्धक लक्ष्मण रखालले जानकारी दिए । बैंकको हरिचौरमा एक रोपनी जग्गामा आफ्नै भवन छ । बैंकको नाममा रहेको जग्गामा नयाँ भवन बनाएपछि आफ्नै भवनबाट सेवा सुरु हुनेछ ।
बचत संकलन, कर्जा प्रवाह, मोवाईल बैंकिङ, ईन्टरनेट बंैकिङ, रेमिट्यान्स तथा एबीबीएस सेवा तत्काल सुरु गरेको र थप सेवा विस्तार गर्दै जाने प्रबन्धक राखलले बताए । सेवा शुभारम्भकै दिन शाखामा ३१ जनाले खाता खोलेका छन्भने १० लाख ७ हजारको कारोवार भएको छ । गलकोट शाखा पुर्नस्थापनासँगै बैंकले शाखा प्रमुखसहित ३ जना कर्मचारीमार्फत सेवा सुरु गरेको छ ।
गाउँमै शाखा पुर्नस्थापनाले स्थानीय विकास योजनाको रकम, कर्मचारीको तलबभत्ता तथा पेनसन लिन सदरमुकाम जानुपर्ने बाध्यता हट्ने तथा सरकारी बैंकले न्युन व्याजमा कर्जा दिने भन्दै गलकोट क्षेत्रका बासिन्दाले खुसी व्यक्त गरेका छन् । स्थानीयको लामो प्रयास र दबावपछि शाखा पुर्नस्थापित भएको स्थानीय ललित श्रीसले बताए ।
‘अब सहुलियत व्याजमा कृषि कर्जा पाइन्छ’, जनएकता कृषि तथा पशुपालन सहकारी हरिचौरका अध्यक्ष समेत रहेका श्रीसले भने, ‘नेपाल बंैकले सुन धितो राखेर पनि ऋण दिन्छ ।’ विसं २०३३ सालमा स्थापना भएको बैंकको शाखा द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएको थियो ।
गलकोटबासीले निःशुल्क जग्गा दिएर ३३ सालमा बैंक स्थापना गरेको पृथ्वी माध्यमिक विद्यालय हरिचौरका प्रधानाध्यापक बद्रीप्रसाद ढकालले बताए । ‘१५ बर्षअघि विस्थापित भएको बैंकको शाखा फेरी ल्याउने एक दशक बढिको चाहना पुरा भएको छ’ –ढकालले भने ।