बागलुङ, १ पौष – राष्ट्रिय जनमोर्चाका नेपालका अध्यक्ष चित्रबहादुर केसीले संघियता नेपालका लागि क्यान्सर भएको टिप्पणी गरेका छन् ।
प्रगतीशिल पत्रकार संघ बागलुङले विहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले संघियताको पछि लागेकै कारण नेपाल दिनदिनै राजनीतिक रुपमा असफल बन्दै गएको धारणा राखे । ‘संघियता क्यान्सर हो, अहिले हात पाखुरामा लागेको छ, पछि शरिरमा लागेपछि मर्नु बाहेक विकल्प रहँदैन’ केसीले भने, ‘छिमेकीहरुको दवावमा लादिएको संघियताले देशलाइ दर्घटनामा धकेल्दै लगेको छ ।’ जातीयता रोप्ने. युरोपियन युनियन र मधेसलाइ टुक्राउने भारतीयहरुको दवाव र प्रभावमा परेर प्रमुख दलका शिर्ष नेताले संघियता लादेको उनले आरोप लगाए ।
गणतान्त्रिक संविधान घोषणा गर्न रोकेको भारतले आफ्नो अनुकुल नभएपछि शिर्ष नेताहरुलाइ प्रभावमा पारेर संविधान शंसोधन प्रस्ताव ल्याउन लगाएको पनि आरोप लगाए । सिमांकनको बाहनामा प्रदेश नम्बर ५ लाई टुक्राउने खेल शुरु भएकै स्थानबाट भोलीका दिनमा पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिममा कैलाली कंचनपुर पनि तराइमा गाभ्ने षडयन्त्र भैरहेको उनले दावी गरे । ‘मेरै आडमा बस्ने मधेसी नेताले पाल्पाबाट बुटवल झर्नेलाइ भिसा लगाउने बनाउने चेतावनी दिएका छन्’ केसीले भने, ‘समग्र पहाडलाइ धेरै प्रदेश बनाएपनि केही नहुने, तराइलाइ एउटै बनाउनुपर्ने मागबाटै बुझ्न नसक्दा समस्या आयो ।’ संविधान जारी भएपछि कम्तिमा २ बर्ष सबै दल सरकारमा बसेर संविधान कार्यान्वयन गर्नुपर्नेमा गल्ती भएको उनले बताए । सबै मिलेर कार्यान्वयन नगर्दा भारतले चलखेल गर्ने मौका पाएको पनि उनले बताए ।
संविधान शंसोधनको अन्तरबस्तुमा अंगिकृत नागरिकता भएकालाइ संवैधानिक पदमा पुग्न दिने, हिन्दी भाषालाइ सरकारी कामकाजी भाषा बनाउने उल्लेख भएपछि आफ्नो पार्टी संघर्षमा उत्रनु परेको उनले बताए । देशलाइ टाउको र शरिर छुट्टयाउने, भाषा माथि प्रहार गर्ने र जातीयताको बिउ रोपेर गृह युद्धमा होम्ने कामले नेपाललाइ सिक्किमीकरणको बाटोमा हिडाउन खोजिएको पनि उनले आरोप लगाए । संविधान जारी हुनुपूर्व र भएपछि पनि सधै भारतको ठाडो र नांगो हस्तक्षेप भैरहेको पनि उनले बताए । सधै भारतले दुवै हातमा लड्डु चाहिरहेको र नेपाली नेताले उसैको स्वार्थमा काम गरिरहेको पनि बताए ।
अर्को प्रसंगमा स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरु लाग्नुपर्ने बताए । ‘निर्वाचन भएमा राजनीति चलायमान हुने भएकोले लाग्नै पर्नेछ’ केसीले भने, ‘निर्वाचन मार्फत लोकतन्त्र संस्थागत गर्न सकिन्छ, संघियता विस्तारै हराएर जाने हो ।’ १० बर्षदेखि राष्ट्रिय जनमोर्चाले संघियता नेपालको हितमा छैन भन्दै गरेको आन्दोलनलाइ जनताले बुझ्न थालेको समेत बताए । पाल्पा, गुल्मी, अर्घाखाँची र बुटवलमा उर्लेको जनसागर संघियता विरोधी जनता भएको पनि उनले दावी गरे । देशभरका जनताले संघियता चाहिंदैन, देश टुक्राउन पाइदैन भन्ने नारा लगाइरहेको उनको धारणा छ । सबै दल मिलेर नेपाली जनताको बेरोजगारी हटाउने, राष्ट्रियता जोगाउने र सार्वभौमसत्ता जनताको चाहना अनुसार अगाडि बढ्नुपर्ने उनले सुझाव दिए । संघका अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, बिजय रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।