फिदिम, १, पुस – तेह्रथुमको आठराई संक्रान्ति बजारमा शुक्रवार आगलागी हुँदा ३२ घरमा क्षति भएको छ । शुक्रवार बिहान १० बजे भएको आगलागी बाट २९ ओटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । त्यस्तै ३ ओटा घर भत्काइएको इलाका प्रशासन कार्यालय आठराई सक्रान्तिका प्रमुख सफल पोर्तेलले बताए ।
संक्रान्ति बजारको मध्य भाग घुमाउने चौताराका स्थानीय अग्नी सेढाईको घरबाट आगलागी सुरु भएको थियो । उनको घरमा रहेको सोलार प्यानल सर्ट भई आगलागी भएको हुन सक्ने पारम्भिक रिर्पोट आएको छ । आगलागी करिव ८ घण्टापछि साँझ ५ बजे नियन्त्रणमा आएको छ ।
आगलागी सुरु भएको करिव डेढ घण्टापछि पाँचथर सदरमुकाम फिदिमवाट घटनास्थलमा दमकल पुगेको थियो । समयमै दमकल आएको कारण संक्रान्ति बजार पुरै क्षति हुनवाट जोगिएको प्रहरी प्रमुख पोर्तेलले बताए । आगो निभाउन पाँचथरबाट नेपाली सेना, सशस्त्र प्रहरी समेत परिचालन भएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय आठराई र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयबासी समेत आगलागी नियन्त्रणमा सक्रिय थिए ।
त्यस्तै ती घरमा डेरा बसेका २७ परिवारको समेत विचल्ली भएको छ । आगलागीबाट इन्द्र गौतम, होम सिटौला, सानुकुमार चेम्जोङ, देउमान इङनाम, नारायणी गुरुङ, बरडाँडा मानबहादुर बस्नेत, बद्री सेढाई, अमृत गहतराजका दुई वटा, रत्नकुमार गहतराज, देवेन्द्र पाहिमका दुई वटा घर, अग्नी सेढाई, सुभद्रा बानियाँ, खगेन्द्र भट्टराई, डोलेश्वर थापा, बुद्धी गुरुङ, पूर्ण आले, खड्गबहादुर आले, लिलादेवी श्रेष्ठ, जयन्ता तामाङ, कविता मावो, खड्गबहादुर पायङ्गो र रत्न तामाङको घर जलेका हुन् । आगलागीबाट एउटा एनएमबी माइक्रो फाइनान्स, एउटा आइएमई र एउटा श्रम बचत सहकारी संस्था पनि जलेको हो ।मानवीय क्षति भने नभएको उनले बताए ।
आगलागीबाट पाँचओटा संघसंस्था वसेको घरमा समेत क्षति पुगेको छ । इलाका हुलाक कार्यालय, श्रमकर्ण वचत तथा ऋण सहकारी संस्था, आइएमई रेमिट्यान्स, सुविसु नेट र गाडी राख्ने ग्यारेज पनि जलेर नष्ट भयो । आगलागीवाट विस्थापित भएका स्थानीयलाई जल्नबाट बचेका घरमा मिलाएर राखिएको छ ।
साँझ मात्र आगलागी नियन्त्रणमा आएको हुँदा कति क्षति भयो भन्ने आधिकारिक विवरण आउन सकेको छैन । पोर्तेलका अनुसार शनिबार बिहान मा क्षतिको विवरण संकलन हुने छ ।
संक्रान्ति बजार भौगलिक दृष्टिले डाँडामा छ । त्यहाँ हावाको वेग दिनभरी तिब्र गतिको हुन्छ । बजारमा प्राय ढुंगा माटो र काठको ६० भन्दा बढी घर छन् । बजारको मध्यभागबाट आगो लागेको कारण दुबै तर्फका घरह जलेका छन्।
संक्रान्ति बजारमा आगलागीको पहिलो घटना भएको स्थानीय पत्रकार छवि सनम कन्दङ्वाले बताए । उनका अनुसार यस भन्दा अघि कहिल्यै आगालागी घटना भएको थिएन । विद्युत पहुँचबाट टाढा रहेको संक्रान्ति बजारमा उर्जाका लागि सबैले सोलार राखेका थिए ।
घटनाका प्रत्यक्षदर्शी समेत रहेको स्थानीय पत्रकार कन्दङ्वाले शुक्रबार संक्रान्ति बजार लागेको कारण बजारमा लुगाफाँटा ससाना धेरै पसलहरु रहेको बताए । एक्कासी आगलागी हुँदा सबैले आफ्नो सामान जोहो गर्न तर्फ लागे । त्यही जोहो गरेको सामान जलेर झन् बढी घरमा क्षति पुगेको उनले बताए।
आगलागी पीडितहरुको लागि राहत र सहयोगका लागि सदरमुकाम म्याङलुङमा जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठक शुक्रवार साँझ बसेको छ । संक्रान्ति बजारका आगलागी पीडितका लागि ५५ थान राहातको सामाग्री वितरण गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मुनाका न्यौपानेले बताइन्।
उनका अनुसार शनिबार प्रजिअको नेतृत्वमा जिल्लाका सुरक्षाकर्मी, स्थानीय विकास अधिकारी र रेडक्रससहितको टोली स्थलगत निरीक्षणका लागि घटनास्थल जाने छ । त्यस्तै पीडितलाई तत्काल राहत स्वरुप जिल्ला विकास समिति तेह्रथुमले २० हजार, जिल्लाका ३२ ओटा सरकारी कार्यालयका प्रमुखवाट २-२ हजार रुपैयाँ सहयोग संकलन भएको छ ।