केशवशरण लामिछाने/कृष्णमणि बराल
पोखरा, २९ मंसिर – ट्याक्सी यात्रामा समेत ४५ मिनेटको दुरीमा रहेका पोखराका दुई पर्यटकीय केन्द्र लेकसाइड र सराङ्कोट ८ मिनेटमै जोडिने भएका छन् । केबलकारको निर्माणले दुरी छोटिन लागेको हो । डेढ वर्षमा अन्नपूर्ण केबलकारले दुई पर्यटकीय गन्तव्यलाई जोड्दैछ । केबलकार बनेपछि फेवातालको उत्तरी किनार सेदीबगरबाट ८ मिनेटमै सराङ्कोट पुगिनेछ ।
व्यवसायी कालु गुरुङ र क्याप्टेन रामेश्वर थापासहितका नेपाली र विदेशीको समेत १ अर्ब लगानीमा केबलकार बन्न लागेको हो । केबलकारको आधार स्टेसन रहने फेवाताल किनारको सेदीबगरमा बुधबार भूमिपूजा गरिएको छ । कम्पनीमा सराङ्कोट इन्भेस्टमेन्ट प्रालिका तर्फबाट स्थानीय बासिन्दाले पनि लगानी गर्दैछन् । राष्ट्रिय वाणिज्य बैंक र सनराइज बैंकको सहवित्तीयकरणमा कर्जा लिएर एक महिनापछि केबलकार परियोजना निर्माण थालिने गुरुङले जानकारी दिए ।
२१ सय ७५ मिटर लामो दुरीको केबलकारमा १३ वटा टावर रहने जानकारी परामर्शदातृ कम्पनी रोपवे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले दिए । ‘केबलकारले १ घन्टामा ५ सय यात्रु ओसार्नेछ’, उनले भने, ‘यो क्षमता केही समयपछि बढाएर १ हजार पुर्याइने छ ।’ केबलकारको एउटा डिब्बामा ८ यात्रु बस्न सक्ने जानकारी पनि ढकालले दिए । सुरुमा १७ डिब्बाबाट सेवा थाले पनि पछि ३५ पुर्याउन सकिने उनले बताए।
उदाउँदो र अस्ताउँदो घामका साथै हिमाली र फेवातालको दृश्यावलोकनका लागि पर्यटक सराङ्कोट पुग्छन् । हिजोआजमात्रै दैनिक ३५ सय ४ जना पर्यटक पुग्ने गरेको डाँडामा केबलकार जोडिएपछि अझै पाहुना थपिने विश्वास गुरुङले व्यक्त गरे । सराङ्कोटमै होटल निर्माण गरिरहेका पूर्व जापानी नागरिक ताकासी मियाहाराको पहलमा केबलकारका लागि जापानी लगानीसमेत आएको छ । ‘विदेशी लगानी १५ प्रतिशत हुनेछ भने नेपाली ८५’, गुरुङले भने । केबलकारमा जापानी प्रविधि प्रयोग हुने र निप्पोन केबलकारले सहयोग गर्ने उनले बताए । ‘आवश्यक सामग्री जापानीहरुले स्विट्जरल्यान्डबाट ल्याउनेछन्’, उनले भने ।
एउटा डब्बामा ८ जनाले यात्रा गर्न सक्छन् भने १७ डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिन सकिने ढकालले बताए । सराङकोट र सेतीबगरमा स्टेसन राख्न केबलकार कम्पनीले जग्गा किनिसकेको छ । वन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टा भर्ना भइसकेको जानकारी कम्पनीले दिएको छ । सरकारले ४० वर्षका लागि वनको जग्गा भोगाधिकार दिएको हो ।
केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको छ । ‘मनकामना केबलकार हामीले १० महिनामा बनाएर सकेका थियौं’, निर्माण कम्पनी चितवन कोईका उज्जवल शेरचनले भने । मनकामना र चन्द्रागिरि केबलकार उसैले निर्माण गरेको हो । इन्जिनियर ढकालका केलबलकार निर्माण गर्न ५ वर्षअघि नै सर्भे गरिएको थियो।
फेवातालकै पूर्वपट्टिको पार्कदेखि पुम्भीभुम्दीको अनुदडाँडासम्म केबलकार निर्माण गर्ने प्रयास हुँदा यसअघि पोखराका स्थानीयले विरोध जनाएका थिए । खासगरी पर्यटनकर्मीले उक्त विरोधको अगुवाइ गरेका थिए । यसपालि फेतातालको उत्तरी किनार सेदीबगरबाट सराङ्कोटसम्म केबलकारको प्रस्ताव गरिँदा उनीहरुले स्वागत गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय होटल संघ (हान)का अध्यक्ष भरतराज पराजुलीले वातावरण र सम्पदालाई नोक्सानी नपुर्याई बन्न लागेको हुँदा अन्नपूर्ण केबलकारलाई स्वागत गरेको बताए । उनले भने, ‘आफूलाई चाहिने जग्गा आफैं खरिद गरेको र स्थानीयको पनि मन जितेर अगाडि बढेको हुँदा स्वागत गर्छैं ।’