काठमाडौं,२९ मंसिर – प्रदेश नम्बर २ को ८ जिल्लाका स्थानीय तहको पुन: संरचना सम्बन्धि काम थप जटिल बनेको छ । स्थानीय तह पुन: संरचना आयोगमा उक्त प्रदेशको संयोजनको जिम्मेवारी पाएका सदस्य सुनिलरञ्जन सिंहले त्यस प्रदेशको जिम्मेवारी छाडेका छन् ।
जिल्लामा प्रयास गर्दा र केन्द्रमा समेत सांसदहरुसँग छलफल गर्दा राजनीतिक सहमति नजुटेको भन्दै सिंहले प्रदेश नम्बर २ को संयोजकको जिम्मेवारीबाट बुधबार राजीनामा दिएका हुन् । ‘पटक पटक प्रयास गर्दापनि प्रदेश नम्बर २ को ८ जिल्लामा पुन: संरचनाका सम्बन्धमा राजनीतिक सहमति जुट्न सकेन,’ सिंहले भने ‘अब सिंगो आयोगलाई ८ जिल्लाका विषयमा निर्णय लिन सजिलो होस भनेर संयोजक पद छाडेको हुँ ।’
मधेसी मोर्चाको बिरोधका कारण पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा पुन: संरचना सम्बन्धी काम अघि बढ्न सकेको छैन । जिल्लामा राजनीतिक सहमति नजुटेपछि आयोगले काठमाडौंमा ती जिल्लाका सांसदहरुलाई डाकेर सहमतिका लागि आग्रह गरेको थियो । तर, सांसदहरुले पनि सहमति दिन सकेनन् । बरु कांग्रेसका २७ जना सांसदहरुले आयोगले काठमाडौंमा गराउन चाहेको सहमतिप्रति बिरोध गरेका थिए ।
सरकारले तोकेको मापदण्ड र आयोग आफैले बनाएको कार्यविधिमा रहेर काम गर्न सक्ने अवस्था नरहेपछि संयोजकको जिम्मेवारीमा बसिरहन उचित नभएको सिंहले बताए । सिंहले आयोग अध्यक्षलाई बुझाएको राजीनामा पत्रमा काम गर्ने अवस्था नरहेपछि नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । आयोगले आफैले निर्धारण गरेको कार्यविधि मिचेर अगाडि बढ्न खोजेपछि सिंह त्यसप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
तराईका ८ जिल्लाको पुन: संरचना थप जटिल बन्दै
Previous Articleव्यवसायिक शिक्षा आर्थिक विकासको आधारः मन्त्री जोशी
Next Article अब फेवा किनाराबाट केबलकारमा सरर सराङ्कोट