काठमाडौं,२९ मंसिर – सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । र, उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् । कोइराला प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा तीन वटा मोबाइल रहेकाे उल्लेख गरेका थिए । जसका कारण उनलार्इ संसारकै गरिव प्रधानमन्त्री भनिएको थियो ।
अहिले प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण हेर्दा उनी पनि गरिब नै देखएका छन् । प्रचण्डले मन्त्रिपरिषदको कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन रहेको उल्लेख छ । यो पनि स्वआर्जन नभएर पैतृक भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार नै प्रधानमन्त्रीका साथै मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण पनि सार्वजनिक गरेको छ ।
निधि अर्बपति, महरा ‘गरिब’
वर्तमान मन्त्रिपरिषदका दुई उपप्रधानमन्त्रीहरुमा विमलेन्द्र निधि निकै धनी रहेको देखिएको छ । उनको नाममा सुन ६० तोला र चाँदी १५० तोला रहेको छ । सुन र चाँदी दाइजोबाट प्राप्त भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र नीधिबाट हस्ताक्षर भएर जारी भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै उनीसँग बैंकमा जम्मा गर्न नभ्याएको १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ समेत छ । उपप्रधान तथा गृहमन्त्री निधीले सबै आम्दानीको स्रोतको रुपमा पारिश्रमिक, भ्रमण भत्ता र कृषि आयलाई देखाएका छन् ।
यस्तै उनले पारिश्रमिक, भ्रमणभत्ता, कृषि आय आदिबाट आर्जन भएको पैसाले भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी जग्गा किनेको उल्लेख छ । उनले भक्तपुरको कटुञ्जेमै ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेको विवरण सार्वजनिक गरेका छन् । उक्त जमीन किन्ने पैसा पारिश्रमिक भत्ता, भ्रमण भत्ता, कृषि आदिबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
सोही स्थानमा निधिका नाममा थप ३ आना जग्गा छ । त्यसको खरिद मूल्य ३ लाख ८० हजार रहेको विवरणमा उल्लेख छ । यस्तै भक्तपुरकै कटुञ्जेमा उनको नाममा रहेको थप ४ आना जमीनको भने खरिद मूल्य उल्लेख गरिएको छैन ।
तराईमा १९ विघा जग्गा
उपप्रधान तथा गृहमन्त्री नीधिको नाममा धनुषा जिल्लामा मात्र विभिन्न कित्तामा १९ विघा जमीन छ । धनुषा जिल्लाको नगराई गाविसका विभिन्न वडामा ती जमीन रहेको विवरणमा उल्लेख छ ।
बैंक ब्यालेन्स २९ लाख
गृह तथा उपप्रधानमन्त्री निधिको नाममा विभिन्न बैंकमा करिब २९ लाख रुपैयाँ रहेको छ । हिमालय बैंकमा १४ लाख ३७ हजार ५ सय ९३ रहेको छ । उक्त पैसाको आम्दानीको स्रोतको रुपमा जग्गा बिक्री, पारिश्रमिक भत्ता, भ्रमण भत्ता आदि रहेको उल्लेख गरेका छन् । यस्तै हिमालय बैंकमै थप १४ लाख छ । उक्त रकम निधिको पत्नीको नाममा रहेको छ । यस्तै अनकल निधीका नाममा कृषि विकास बैंकमा २९ हजार रहेको छ ।
साढे १३ लाख उठाउन बाँकी
गृहमन्त्री निधिको नाममा करिब १३ लाख ५० हजार रुपैयाँ विभिन्न व्यक्तिबाट उठाउन बाँकी छ । ऋण तथा सापटी मागेर लगेका र कृषि व्यवसायबाट पाउनु पर्ने उक्त पैसा उठाउन नसकेकोसम्पत्ति विवरणमा उल्लेख छ ।
निधिका नाममा २०५४ सालमा ७ लाख रुपैयाँमा खरिद भएको एउटा निशान भ्यान समेत छ । यस्तै उपप्रधानमन्त्री निधिसँग २ हजार १ सय ६० कित्ता साधारण शेयर रहेको छ ।
महरासँग दुई तले घर र एक तले गोठ
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा नेपाली शैलीको २ तले घर र १ तले गोठ छ । हाल उक्त घर स्थानीय सहकारी संस्थाले प्रयोग गरेको महराको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै लिवाङ मै ८ रोपनीको सुख्खा पाखो छ । उक्त जमिन पनि उत्पादनमा प्रयोग नभएको उल्लेख छ । यस्तै उनको नाममा कत्ति पनि सुन चाँदी नरहेको उल्लेख छ । महराको नाममा एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स छ ।