बागलुङ, २८ मंसिर – चारतारे युवा क्लब सिवाइसी नेपालको २५ औं बार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले लघु वित्त संस्थाहरुले देशको अर्थतन्त्र सुधारमा महत्वपूर्ण योगदान गरेको बताए । देशभरका ९६ प्रतिशत साना उद्योगमा लघुवित्तको लगानी रहेको भन्दै ठूला उद्योगमा मात्र सरकार र व्यवसायिक बैंकको लगानी भएको समेत बताए ।
नेपालले आर्थिक फड्को मार्नका लागि साना र मझौला उद्योगको विकासमा जोड दिनुपर्ने र बन्द हुने अवस्थामा पुगेका ठूला र सरकारी उद्योगलाइ पुर्नजिवित गर्न आवस्यक भएको समेत बताए ।
बन्द उद्योग संचालन गरेर रोजगारी सिर्जना गर्न आँफूले पहल गरिरहेको पनि बताए । औषधि कंपनी, कपडा उद्योग समेतलाइ तत्कालै संचालनमा ल्याएर आधारभूत आवस्यकता पुरा गर्नका लागि पहल गरेको उनले दावी गरे । ‘मेरै पालामा उपलब्धी देखिने काम गरिरहेको छु’ जोशीले भने, ‘प्रत्यक्ष रोजगारी सिर्जना गरेर नेपालीलाइ पलायन हुनबाट जोगाउनु राज्यको कर्तव्य हो ।’ यो अभियानमा आँफूले अगुवाइ गर्ने समेत उनले दावी गरे ।
सिवाइसी नेपालले लघु वित्त कार्यक्रम मार्फत बागलुङ सहित ६ वटा जिल्लामा काम गर्दै आएको छ । साना किसान, दलित र विपन्न बस्तीका महिलालाइ समूहमा ल्याएर बचत संकलन र लगानी मार्फत व्यवसायमा लगाउने काम गरिरहेको अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । दुइछाक खान नपुगेका महिलालाइ मालिक बनाउने काम गरिरहेको उनले दावी गरे । साथै आर्थिक अवस्थामा सुधार आएपछि घरेलु हिंसामा परेका महिलाहरुलाइ समाज र परिवारले हेर्ने दृष्टीकोण समेत सकारात्मक बन्दै गएको पनि उनले बताए ।
चण्डीप्रसाद शर्माको अध्यक्षता, गण्डकी थापा र बिरबहादुर किसानको संचालनमा सम्पन्न कार्यक्रममा राजनीतिक पार्टीका प्रमुख, सामाजिक अगुवा र विभिन्न जिल्लाबाट आएका लघुवित्त कार्यक्रममा सहभागि महिलाहरुले बोलेका थिए ।
Previous Articleव्यवसायिक शिक्षा आर्थिक विकासको आधार- मन्त्री जोशी
Next Article योजनागत विकासमा चौधौँ योजना