बागलुङ, २८ मंसिर – उद्योगमन्त्री नविन्द्रराज जोशीले शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका छन् । उनले आर्थिक विकासको टेवा पुग्ने खालको शिक्षा पद्दती भएमा मात्र जनता धनी बन्दै जाने धारणा राखे ।
बागलुङको नारायणस्थान स्थित गणेश माविमा संचालित श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञको मंगलवार उदघाटन गर्दै मन्त्री जोशीले व्यवहारीक,प्रविधियुक्त शिक्षाले मात्र रोजगारी बन्ने अवसर दिने धारणा ारखेका हुन् । विद्यालयले प्राविधिक, कम्प्युटर सहित गुणस्तरीय विकासका लागि महायज्ञ आयोजना गरेको हो । मन्त्री जोशीले गणेश माविले जस्तै गुणस्तरीय शिक्षाको अभिायान चलाउन पनि आग्रह गरे ।
कार्यक्रममा भागवत भास्कर पण्डित कमलानयन गौतम, नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सांसद रत्ना शेरचन, सांसद प्रकाश शर्मा पौडेल, ज्ञानकुमारी छन्त्याल सासंद कल्पना चापागाई, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, क्षेत्रीय शिक्षा निर्देशक बिष्णुप्रसाद अधिकारी, नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापा, एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, माओबादी केन्द्रका ध्रुव परियार,नयाँ शक्तिका अध्यक्ष चित्र सापकोटा, नेपाल उद्योग बाणिज्य सघंका पुर्व केन्द्रिय सदस्य दुर्गाप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासघंका पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मा, व्यबसायी होमनारायण श्रेष्ठ, बिशमकुमार श्रेष्ठ ,हरिनारायण श्रेष्ठ लगाएले बोलेका थिए ।
उक्त अवसरमा व्यवसायी दुर्गाप्रसाद श्रेष्ठले आफना बाबुआमाको सम्झनामा ‘मानरन्त प्रतिष्ठान’को घोषणा गरेर पहिलो किस्ता १५ लाख रुपैयाँ अक्षयकोषमा राख्ने घोषणा गरेका थिए । अर्का व्यापारी हरिनारायण श्रेष्ठले ५ लाख १ रुपैयाँ महायज्ञमा प्रदान गरेका छन् । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षता,चक्रबहादुर खत्रीको स्वागत र प्रअ चुडामणी सुबेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । महायज्ञमा गणेश महिला समूह, नारायणस्थानका अन्य सामाजिक संस्था लगायतले पनि नगद, धान, चामल र अन्य जिन्सी सामाग्री सहयोग गरेका छन् ।
गणेश माविले विद्यालयलाइ २१ औं शताब्दीको प्रविधि सुहाउँदो र बैज्ञानिक सूचना प्रणाली सहितको शिक्षा दिने उद्देश्यले महायज्ञ लगाइएको बताइएको छ । मंगलवार देखि शुरु भएको महायज्ञ आगामी पुस ५ गते सम्म संचालन हुने बताइएको छ । उक्त महायज्ञमा आश्वासन दिइसकेका समेत गरेर १ करोड बढी रकम संकलन भैसकेको विद्यालयले जानकारी दिएको छ ।
गणेश मावि जिल्लाको उत्कृष्ठ विद्यालय हो । गत शैक्षिक शत्रको मूल्यांकनमा पश्चिमाञ्चलको पहिलो सामुदायिक विद्यालय भएको छ भने देशभरको तेस्रो राम्रो विद्यालय बनेको थियो । पश्चिमाञ्चलको पहिलो भएकै कराण शिक्षा मन्त्रालयले शिक्षा दिवशको अवसरमा १ लाख रुपैयाँ नगद सहित पुरस्कार पनि दिएको थियो । विद्यालयमा ७ सय विद्यार्थी अध्ययनरत छन् । अभिभावकको लगानी र मेहेनतकै कारण अगाडि बढेको यो विद्यालयमा अभिभावकले दिएको चन्दाकै भरमा २३ जना नीति श्रोतका शिक्षक कार्यरत छन् । सरकारी दरवन्दीमा १४ जना मात्र शिक्षक छन् ।