काठमाडौँ, २७ मंसिर – दैलेख साततलाका रमेश थापाको तरकारी खेती निकै फस्टाएको छ । एक वर्षदेखि उनी पूर्ण रूपमा तरकारी खेतीमा लागेका छन् । आफ्नै गाउँछेउबाट मध्यपहाडी राजमार्ग खोलिएपछि तरकारी बेच्न उनले टाढा जानु नपर्ने भएको छ । यसले पनि उनलाई तरकारी खेतीमा लाग्न हौस्याएको छ । ‘टाढा जान पर्दैन, गाउँमै गाडी आइपुग्छ,’ उनले भने, ‘अरू खेती गर्दा वर्ष दिन खानै पुग्दैन थियो, तरकारी खेती गर्न थालेपछि नगद कमाइ हुन थालेको छ ।’ उनी अब पूरै खेतमा तरकारी लगाउने सोचाइमा छन् ।
उनको घर नजिकको सहर राकम कर्णाली हो । राजमार्ग खुलेपछि अब यहाँसम्म पुग्न सजिलो भएको छ । सजिलो बाटो भएपछि आफ्ना उत्पादन बेच्न पनि गाह्रो छैन । मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहरमध्ये राकम कर्णाली एक हो । ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणासँगै नयाँ सहरमा व्यापार र अन्य प्रयोजनका लागि बसाइँ सर्ने क्रम सुरु भएको छ । प्रत्येक दिन राजमार्ग छेउछाउमा पसल थापेर सानातिना व्यवसाय गर्नेको संख्या बढ्दो छ । चिया, तरकारी पसलले राजमार्ग छेउछाउका मानिसको जीवनस्तर उकासिन थालेको छ ।
पाँचथरको चियोभन्ज्याङ (नेपाल–भारत सीमा) देखि बैतडीको झुलाघाट (महाकाली नदी) जोड्ने सडक निर्माणसँगै गाउँमा विकास पूर्वाधार आइपुग्ने आशा स्थानीयको छ । पहाडै पहाड हुँदै पूर्व–पश्चिम जोड्ने मध्यपहाडी मार्ग पूर्वको अन्तिम विन्दु पाँचथर च्याङथापुको भारतीय सीमावर्ती चियोभन्याङसम्म जोडिएको छ ।
च्याङथापुदेखि पश्चिम झुलाघाट जोड्ने १ हजार ७ सय ५६ किलोमिटरको क्षेत्रमा ट्रयाक जोडिसकेकाले यातायात सञ्चालनमा आएका छन् । त्यसमध्ये नुवाकोटको पाटीभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ९७ किमि पश्चिम खण्डमा पर्छ भने ६ सय ५९ किलोमिटर पूर्वी खण्डमा पर्छ ।
मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सूर्य भाटले यस खण्डको बैतडी, बागलुङ र रुकुम खण्डको करिब ३७ किमि सडक कालोपत्रे भइसकेको बताए । उनका अनुसार यस खण्डमा सानाठूला गरी ६० वटा पुलहरू पर्छन् । तीमध्ये २५ वटा पुलको निर्माण कार्य सम्पन्न, आठवटा निर्माणाधीन र अन्यको टेन्डर प्रक्रिया अघि बढेको उनले बताए । ‘यस आर्थिक वर्षमा गोरखा र बागलुङको केही खण्ड कालोपत्रे गर्छौं,’ उनले भने ।
विभागका अनुसार पूर्वी खण्डमा पर्ने तमोर नदीमा १५ करोड रुपैयाँमा पुल निर्माण भइसकेको छ । जोरसालदेखि तमोरसम्मको ११ र गणेशचोकदेखि थप ९ किलोमिटर कालोपत्रे भएको छ । आयोजनाले पाँचथर खण्डमा पर्ने सिवा, मुसेपा, फलामे, सिलसिले, मेवा र ओयामसहित ६ वटा खोलामा २० देखि ४० मिटरसम्म लम्बाइका पुल निर्माण क्रम जारी राखेको छ ।
मध्यपहाडी लोकमार्गमा सरकारले २० वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या अटाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, तनहुँको डुम्रे, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम, अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो ।
घोषणासँगै त्यस क्षेत्र आसपासका जनताको जीवनस्तरमा परिवर्तन आएको स्थानीयवासीको भनाइ छ । नयाँ सहरहरू पहाडी जिल्लाको केन्द्र बन्ने सोचेर जग्गा र घरघडेरी किन्नेहरू बढेका छन् । बैतडी पाटनका स्थानीय हरिमोहन भण्डारीले मध्यपहाडी लोकमार्ग र नयाँ सहर घोषणासँगै जग्गाको भाउ अकासिएको बताए ।
‘सहर वरपरका बासिन्दा पनि घडेरी जोडदै छन् किनभने ९/१० गाविसको व्यापारिक केन्द्र पाटन हुन्छ,’ उनले भने, ‘आखिर सुविधाका लागि बसाइँ सर्ने हुन्, सबै किसिमका भौतिक पूर्वाधार निर्माण भएपछि किन टाढा जान्छन् ?’
नयाँ सहरको तयारीसँगै जग्गाको भाउ अकासिएको छ । ग्रामीण भेगबाट सदरमुकाम र मध्यपहाडी मार्गदेखि टाढाका बासिन्दाले सडक आसपासका बजारमा जग्गा खरिद गर्ने क्रम बढेको हो । सरकारले उच्च प्राथमिकतामा राखेर ०६४/६५ मा काम थालेको मध्यपहाडी योजना ०७५ भित्र पूरा गर्ने लक्ष्य छ । नयाँ सहरका लागि जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसंख्या, यातायात सुगमतालगायत आधारमा ५ वर्षअघि सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा सहर विकास गर्ने लक्ष्य राखेको हो ।
आयोजनाका अनुसार अछामको साँफेबगर र रुकुमको चौरजहारीमा केही भौतिक संरचना निर्माण भइसकेका छन् । वसन्तपुर र धादिङको बैरेनीमा पनि निर्माणबारे अध्ययन भइरहेको छ । विस्तृत अध्ययनका लागि करिब ४९ करोड रुपैयाँ छुट्याइएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
पूर्ण सहर विकासका लागि करिब ५० अर्ब रुपैयाँ लाग्ने भन्दै विस्तृत अध्ययनपछि बजेटको खाका बढ्न सक्नेछ । प्रत्येक सहर विकासका लागि ५ अर्ब रुपैयाँ लाग्ने विभागले अनुमान गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत नयाँ सहर आयोजनाका उपनिर्देशन चक्रवर्ती कण्ठले नयाँ सहर निर्माणका लागि अझै बजेट बढ्न सक्ने बताए ।
‘विस्तृत अध्ययन अझै गर्दैछौं,’ उनले भने, ‘अहिल्यै यकिन अनुमान गर्न सकिँदैन, जति भनिएको छ त्यो प्रारम्भिक अनुमान मात्र हो ।’ पहाडी सहरमा शिक्षा, स्वास्थ्य, सञ्चारको विकास भए राजधानी र तराईमा बसाइँ सर्ने क्रम केही मात्रामा रोकिने विभागका अधिकारी बताउँछन् ।
ती स्थानमा खानेपानी, सडक, बत्तीलगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको उनले बताए । उपत्यकालगायत मुलुकका ठूला सहरमा मानवीय चाप कम गर्न सरकारले मध्यपहाडी लोकमार्गमा नयाँ सहर विकास गर्न लागेको हो । ती ठाउँमा भौतिक पूर्वाधार तयार भएपछि नजिकका क्षेत्रबाट बसाइँसराइको क्रम बढ्ने र बसोबासको चापसमेत बढ्ने अनुमान गरिएको छ । कान्तिपुर