पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो नबौँ स्थापना दिवस मनाएको छ । मंगलवार गाउँपालिकाले विविध कार्यक्रमका साथ विशेष समारोहको आयोजना गरेर गाउँपालिका रहेर विभिन्न क्षेत्रमा योगदान दिएका कयौं व्यक्तिहरुलाई सम्मान गरी मनाएको हो । गाउँपालिकाको स्थापना दिवसको अवसरमा स्थानीयले विविध साँस्कृतिक प्रस्तुती दिनुका साथै स्थानीय धर्मसंस्कृति तथा पुख्र्यौली संस्कारको समेत प्रदर्शनी गरिएको थियो ।
मालिका गाउँपालिकाको स्थापना दिवसको अवसरमा मंगलबार एक दिनका लागि गाउँपालिका क्षेत्र भित्र सार्वजनिक विदा समेत दिईएको थियो । गाउँपालिका क्षेत्रमा सार्वजनिक विदा दिएर गाउँपालिकाको केन्द्र दरबाङमा आयोजना गरिएको कार्यक्रमपूर्व बजारमा झाँकी सहितको प्रभातफेरी तथा ¥याली र मूल समारोह आयोजना गरिएको थियो । गाउँपालिकाले फरक प्रकारको कार्यक्रम आयोजना गर्दै प्रमुख अतिथिमा समेत फरक प्रयोग गरेको थियो । गाउँपालिका भित्र रहेका १०६ बर्षिया ज्येष्ठ नागरिक धनमती गुरुङललाई प्रमुख अतिथि रहनु भएको थियो ।
गाउँपालिकाको स्थापना दिवसको अवसरमा राजनीतिक तथा सामाजिक, शिक्षा, खेलकुद, कृषि, कला संस्कृति, लघु उद्यम लगायतका क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई गाउँपालिकाले सम्मान गरेको थियो । सो अवसरमा राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै तीन जनालाई मरणोपरान्त सम्मान पनि गरिएको थियो ।
तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन, सामाजिक क्षेत्रमा योगदान दिनुभएका शेरबहादुर शेरचन र शिक्षा तथा सांगितिक क्षेत्रमा योगदान दिनुभएका बिर बहादुर कार्कीको सम्मानमा उहाँका परिवारलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
गाउँपालिकाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रमा जिल्लाकै प्रतिनिधित्व गर्दै राष्टिय टिममा समेत स्थान बनाउन सफलत कमला पुन र जमान सिं परियार, ज्येष्ठ नागरिक धनमती गुरुङ, बाँस तथा निगालोको चोयाका सामाग्री निर्माण गर्ने भरीबहादुर पटेललाई पनि सम्मान गरिएको थियो । त्यस्तै व्यवसायिक कृषि क्षेत्रमा योगदान पु¥याउने मालिका रेन्बो ट्राउट फर्मका सञ्चालक पूर्ण बहादुर रोका, बिसम कृषि फर्मका सञ्चालक भुपेन्द्र शर्मा सहित हरेक वडाबाट एक÷एक प्रतिनिधित्व हुने गरी लघुउद्यमी र कला संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभएको थियो ।
२०७८ देखि २०८० सम्म कक्षा ८ र १० को परिक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालयलाई सम्मान गरिएको थियो । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीहरुलाई व्यक्तिगत रुपमा १० हजार र समुह खेल तर्फ स्वर्ण पदक हासिल गर्ने छात्रा कबड्डी टिमका खेलाडीलाई एकमुष्ट २० हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा आफ्नो पालिकाप्रति अपनत्व बढाउने हेतुले विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्न थालिएको बताउनुभयो । उहाँले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै भन्नुभयो हाम्रो पालिका भित्र फरक र राम्रा काम गर्ने सबैलाई सम्मान गरिनु पर्छ भन्ने अब लिखत नै भयो । अध्यक्ष गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी घर्तिले स्वागत गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले मालिका गाउँपालका कमिटीका उपाध्यक्ष सन्तनाथ जैसी, नेपाली काँग्रेस गाउँपालिका कमिटीका सभापति खिमबहादुर पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छबि विश्वकर्मा, वडा नम्बर ६ का अध्यक्ष पथबहादुर रोका, गाउँपालिकाका पूर्व उपाध्यक्ष खरमायाँ बिटालु, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो ।