हिमालपारीको जिल्ला मुस्ताङका स्थानीय तथा मुस्ताङ भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधालाइ ध्यानमा राखेर एसी तथा लक्जरीयस सुविधासहितको रात्रिकालिन बस सञ्चालन भएको छ । मुस्ताङ जिल्लाबाट सञ्चालित मुस्ताङ मुक्तिनाथ सेवा प्रा.लि.ले बिहिबारदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकहरुका लागि आरामदायी यात्रा उपलब्ध गराउनका खातिर वस सेवाको औपचारीक उद्घाटन गरेको हो ।सर्वसाधारणकालागि आरामदायी सेवा उपलब्ध गराउनका लागि थप सुविधा जोड्दै मुस्ताङको मुक्तिनाथदेखि काठमान्डौं सम्मका लागि रात्रिबस सञ्चालन गर्दा लक्जरी एसी सहितको सिवधायुक्त बस सञ्चालनमा ल्याएको हो ।
बेनी जोमसोम ट्रयाक पुरा खुली नसक्दै २०६३ साल तिरबाटै हेलिकोप्टरबाट जीप ढुवानी गरेर मुस्ताङका यात्रुलाइ सेवा दिन थालेको मुस्ताङ जीप व्यवसायी समितिले नेपाल सरकारको निर्देशन अनुसार कम्पनिमा दर्ता भएर मुस्ताङ मुक्तिनाथ प्रा.लि.का रुपमा सेवा दिदै आएको छ । प्रा.लि.ले डिलक्स बस, जीप र ईलेक्ट्रोकिन भ्यान (ई.भी.) सञ्चालनमा ल्याईसकेको छ ।
जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिने गरी सञ्चालनमा ल्याएको ‘लक्जरी एसी’ रात्रीकालिन बस सेवाको मुस्ताङकका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले मुक्तिनाथमा आयोजित एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो । सेवा शुभारम्भ गर्दै उहाँले यातायात व्यवसायीमा स्वच्छ प्रतिस्पर्धा र यात्रुमैत्री सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटन वृद्धि हुने बताउँनुभयो । यातायात व्यवसायीहरुले समय सापेक्ष आफुलाई रुपान्तरित गर्दै आधुनिक प्रविधि जडान गरिएको आरामदायी र भरपर्दो सेवासुविधा दिन गरिएको प्रयास स्वरुपमा ‘लक्जरी एसी बस सञ्चालनले सम्पूर्ण यात्रुलाइ टेवा पुग्ने बताउँनुभयो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष उपाध्यक्ष डिकी गुरुङ र घरपझोङ गाउँपालिकाका जमुना थकालीले लक्जरी एसी बस सेवा विस्तारले मात्रै नभएर यात्रु मैत्री सेवामा समेत ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उपाध्यक्षद्वयले लक्जरी एसी बस सेवा सञ्चालनमा ल्याईनु सकारात्मक पक्ष भएको र बस पार्कमा हुने फोहोर, व्यवस्थापन, मुस्कानसहितको सेवा र यात्रुहरुलाई अनुकुल समयमा गन्तब्य पुग्न निरन्तर बस सेवा उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । यातायात क्षेत्रमा मुस्कान सहितको सेवा अति आवश्यक रहेको तर्फ उहाँहरुले सचेत गराउनु भएको थियो ।
मुस्ताङ—मुक्तिनाथ यातायात प्रा.लि.ले चैत्र १ देखि लोमान्थाङ—कोरलासम्मको यातायात सेवा सञ्चालन गर्ने गरी तैयारी अघि बढेको अध्यक्ष बिनोद बिसीले जानकारी दिनुभयो । उपाध्यक्ष गणेश शेरचनले आयमूलक र सेवामूलक ढंगले काम गर्दैआईरहेको बताउनुभयो । पत्रकार महासंघ मुस्ताङकी अध्यक्ष सुनदेवी रसाईलीले व्यवसायी लाभान्वित भएमात्रै सेवाको गुणस्तर विस्तार हुने भएकाले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको धारणा राख्नु भएको थियो ।
मुस्ताङ —मुक्तिनाथ प्रा.लि. अन्तर्गत सेवा विस्तार भएको रात्रीकालिन लक्जरी बसमा यात्रु लक्षित विभिन्न सेवा उपलब्ध रहेको कम्पनिले जनाएको छ । कम्पनिले लक्जरी सेवा सहितको गाडीमा यात्रा गर्ने यात्रुलाई अतिरिक्त २० प्रतिशत भाडा वृद्धि गरेको छ । लक्जरी एसी बसमा मात्रै लागु हुने भाडा अनुसार हाल काठमाडौ सम्म पुग्नका लागि २ हजार ४ सय रुपैया भाडा लाग्ने कम्पनिको भनाइ छ ।