सुनदेवी रसाइली
एक युगमा एक पटक भन्ने नाराका साथ आगामी चैत १७ देखि जेठ २६ गते सम्म पोखरामा हुने ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को प्रचारप्रसारका लागि मानव सेवा फाउण्डेसनको टोली गण्डकी प्रदेशको जिल्ला दौडाहमा हिडेको छ । टोलीले हिमालपारीको जिल्ला मुस्ताङमा पुगेर पत्रकार तथा अन्य सरोकारवालाहरु सँग समन्वय र अन्तरक्रिया गरेर फर्केको छ ।
पोखरामा हुने कोटिहोममा राधिका दाशी, चैतन्य कृष्ण, देवी प्रतिभा, चन्द्रकला सखी, अनुराधा पाण्डे दिनवन्धु पोखरेल लगायतका कथाबाचकहरुले प्रवचन दिने कार्याक्रम रहेका छ । इतिहासमै पहिलो पटक भएको र न भूतकालमा यस्तो महायज्ञ भयो न त भविष्यमा हाम्रो जीवन कालमा हुन सक्ला या नसक्ला भन्दै हिडेको टोलीले मुस्तताङ तथा म्याग्दीमा पत्रकार भेटघाट गरेको छ । पत्रकार भेटघाटमा कोटिहोमको बारेमा जानकारी गराउनुका साथै अन्तरक्रिया समेत गरेको थियो ।
ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ आयोजना गर्न लागेको जानकारी गराएको थियो ।
औपचारीक कार्यक्रमहरु २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गते सम्म हुने जनाइएको छ । त्यस्तै कोटिहोम कार्यक्रम भने २०८२ वैशाख १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म हुने आयोजकले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा मानव सेवा फाउण्डेसन, नेपाल लगायतका अन्य संघ संस्थाहरुको संयोजनमा राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामना सहित कोटिहोम आयोजना गर्न लागिएको आयोजक समितिका प्रतिनिधि लेखराज ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–हामी यो विशाल आयोजनमा जुटेका छौं, पोखरालाई मुक्तिद्वारको रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने हामीले उज्यालो उद्देश्य बोकेका छौं । धार्मिक पर्यटन वृद्धिले राष्ट्रको सर्वोत्तमुखी विकासमा सशक्त सहयोग पु¥याउने हाम्रो सङ्गल्य अनुरूप पोखरा–१८, सिमपानी स्थित कैलाश धाम शिव मन्दिर तथा पोखरा–६, वैदाम स्थित मुक्तेश्वर शिव मन्दिर मुक्तीधामको सर्वाङ्गीण विकासका लागि पनि कोटिहोमको आयोजना गरिएको हो । त्यसका सँगसँगै गण्डकी प्रदेशका विपन्न, अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन, संरक्षण आदि आवश्यक सहयोगार्थ आयोजित ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त कार्यलाई सभ्यभव्य रूपमा सम्पन्न गर्नका निमित्त यस कोटिहोम विराट् ज्ञान महायज्ञ जस्तो पवित्र आयोजनमा स्नेहपूर्ण उपस्थितिका लागि उहाँले आग्रह गर्नुभयो ।
विराट कोटिहोममा २०८१ चैत्र १७ गतेदेखि २७ गतेसम्म श्रीराम कथावाचन हुने छ । त्यसैगरी हनुमत् कथावाचन २०८१ चैत्र २८ गतेदेखि २०८२ वैशाख १ गतेसम्म, प्रचार प्रसारका लागि बृहत मोटरसाइकल प्रभातफेरी २०८२ वैशाख २ गते बिहान ७ः०० बजेबाट शुरु हुने छ ।
वैशाख ५ गते विहान विशाल मालमय कलश यात्रा गरिने तथा बैशाख ६ गते बृहत् डुङ्गा प्रभातफेरी समेत गरिने छ ।
वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौं पुण्यमय कर्महरू गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट विभिन्न गीत, सहीत, भजन, झाँकी, देवलीला, नृत्यआदिको प्रस्तुति समेत कोटिहोममा हुनेछ । देश विदेशवाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनेताहरुको आगमन पनि मुख्य आकर्षणका रुपमा हुने बताइएको छ ।
कोटिहोम महायज्ञको विधिवत पूणर्णाहुति गरी अभिषेक र प्रसाद ग्रहण गरि २०८२ जेठ २६ गते समापन हुनेछ ।