नेकपा एमालेले थालेको अहिलेको अभियान जनताको कुरा बुझ्न र पार्टी सदस्यहरुको यथार्थ अवस्था लिएर अगाडी बढ्नका लागि रहेको नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले बताउनुभएको छ ।
नेकपा एमाले बेनी नगरपालिका–४ नम्बर वडा कमिटीको पूर्ण बैठकमा बोल्दै जिल्ला इन्चार्ज समेत रहेका थापाले पार्टी सदस्यता नविकरण, बिस्तार र यथार्थ अवस्था जानकारीका लागि यो अभियान थालिएको बताउनुभयो । जरा केन्द्रीत अभियान भन्दा मात्रै पनि यसले सबै तह र तप्काको अवस्था बुझेर अगाडी बढ्छ भन्ने हो । नेपाली जनताको अवस्थाको यथार्थ चित्र गर्न र काम गर्नका लागि एमालेले मौका पाउनु पर्ने उहाँको तर्क थियो ।
सुरुङ मार्गबाट काठमाडौंमा गाडी भित्रदै छ भने अब सुरुङ मार्गबाटै यातायातका साधन मात्रै नभएर पानी पनि अर्को क्षेत्रमा लगेर तराइका फाँटहरुमा सिंचाइ गर्ने मरिन डाइभर्सन जस्ता परियोजना एमालेकै पालामा सफल हुने तर्क गर्नुभयो । सामाजिक सुरक्षा भत्ताबाट थालनी गरेको जेष्ठ नागरिक प्रतिको दायित्वलाई अहिले आएर पुनः ६० वर्ष माथिका नागरिकहरुको स्वास्थ्योपचारमा ५० प्रतिशत छुट पनि वर्तमान एमाले नेतृत्वको सरकारले गरेको छ–उहाँले भन्नुभयो । कुनै पनि सामाजिक काम गर्ने र सहज तथा छर्लङ्ग सबैले बुझ्ने र देख्ने कामका लागि एमालेको नेतृत्व चाहिने कुरा यथार्थले नै प्रष्ट पारेको उहाँले दावी गर्नुभयो ।
नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एवम् बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जनताको पक्षमा काम गर्नका लागि आफू नेतृत्वमा पुगेको र त्यसलाई सक्दो राम्रो र सहज तबरले गर्दै अगाडी बढेको बताउनुभयो । स्थानीय तहको नेतृत्वमा पुग्दै गर्दा भए गरेका कामहरु जनताले मुल्याङ्कन गरेको भन्दै उहाँले नगर क्षेत्रको दिगो बिकासका लागि आफूले प्रयास गरेको बताउनुभयो । स्थानीय सरकार हो र त्यहाँ पनि कहि कतै जानिदो नजानिदो पक्ष बिपक्ष हुँदै गर्दा काम गर्न के कति सहज असहज हुन्छ जनताले थाहा पाउनु भएकै छ त्यसमा पनि सहज र निश्पक्ष कामका लागि आफ्नो प्रयास रहने उहाँको भनाई थियो ।
नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले लोकप्रिय मतका आधारमा एमाले म्याग्दीको पहिलो दल हो र यो देशै भरि पनि त्यही लागु भएको बताउनुभयो । एमाले जनताको मन मुटुमा बसेको पार्टी हो र यसले जनपक्षिय कामा गर्ने भएकाले नै जनताले लोकप्रिय मत दिनु भएको हो । यो लोकप्रियतालाई कायम राख्न र थप मजबुत बनाउनका लागि अहिलेको जरा केन्द्रीत कार्यक्रम लिएर आएको उहाँको भनाई थियो ।
एमाले बेनी नगर कमिटीका अध्यक्ष बेलबहादुर कटुवालले नेकपा एमालेले नगरपालिकामा लोकप्रिय मत सहित प्रमुख जितेको भए पनि केही प्राविधिक पाटाहरुले गर्दा उपप्रमुखमा आफूहरु पछाडि परेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो–आगामी निर्वाचनमा नगरपालिकामा ५१ प्रतिशत मत सहित जित्ने गरी लागेको र यसलाई सबै मिलेर सफल बनाउनु पर्छ । हामीले जित्नु भनेकै जनताले जित्नु हो, कसले जित्दा के कस्तो अवस्था आयो भन्ने विषयमा पक्ष विपक्ष र तर्क बितर्क होलान् तर एमालेले जित्यो भने दिगो बिकास र जनताको मत मात्रै नभएर मनको पनि सम्मान हुन्छ ।
बेनी नगरपालिका–४ का अध्यक्ष तुल प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष कोपिलाल पौडेलको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन बेनी नगर कमिटीका सदस्य बीरेन्द्र बानियाँले गर्नुभएको थियो । उक्त कार्यक्रम नेकपा एमाले जिल्ला कमिटीका लेखा संयोजक गोविन्द पौडेल, वडा इन्चार्ज बिष्णु गुरुङलगायतको सहभागिता रहेको थियो ।