सुनदेवी रसाइली
हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा रहेको जनहित माध्यमिक विद्यालयको जनहित पूर्व विद्यार्थी परिवारको तेश्रो वार्षिक साधारणसभामा बिद्यालयलाइ योगदान दिने माध्यमिक विद्यालयका पहिलो प्रधानाध्यापक बसन्त शेरचन र माध्यमिक तहको पहिलो एसएलसी उत्तिर्ण गरी सोही विद्यालयमा शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुभएका जयन्द्रलाल थकालीलाई सम्मान गरिएको छ । सोही विद्यालयमा अध्ययन गरी पुनः त्यही विद्यालयमै अध्यापन अनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गरी तीन फरक भूमिकाबाट विद्यालयमा दिएको योगदानको कदर गर्दै सम्मानि गरिएको हो ।
जनहित पूर्व विद्यार्थी परिवारका आजीवन सदस्य रहनु भएका थकालिलाई काठमाडौंमा शनिबार सम्पन्न साधारणसभामा सम्मान गरिएको पूर्व विद्यार्थी परिवारले जनाएको छ । जनहित माध्यमिक विद्यालयमा अध्ययन गरी वि.सं. २०२७ सालमा विद्यालयबाट पहिलो ब्याचको विद्यार्थीका रुपमा एसएलसी परीक्षा उत्तीर्ण गर्नुहुने जयन्द्रलाल थकालीलाई उहाँको योगदानको कदर स्वरुप सम्मान गरिएको हो । जनहित माध्यमिक विद्यालयबाट एसएलसी पास गरी सोही विद्यालयमा वि.सं २०२८ सालमा प्राथमिक शिक्षकका रुममा नियुक्तिलिई निम्न माध्यमिक तह हुँदै सोही विद्यालयमा उहाँले अध्यापन गराउनु भएको थियो । विद्यालयमा १५ वर्षसम्म योगदान दिनुभई वि.सं. २०४३ सालमा स्वैच्छिक अवकाश लिनुभएका शैक्षिक तथा सामाजिक व्यक्तित्व थकालीलाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
थकालीको विद्यालयप्रतिको समर्पण र समाजसेवी भावनाले अवकाश पछिको जीवन विद्यालयको सेवामा समर्पित गर्दै वि.सं. २०५४ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नु भएको थियो । जनहित माध्यमिक विद्यालयको सेवामा फर्केर २७ वर्षसम्म विद्यालयलाई प्रेरणादायी नेतृत्व प्रदान गरेर विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर बृद्धिका लागि उहाँले गर्नुभएको योगदानको कदर गर्दै सम्मान गरिएको पूर्व विद्यार्थी परिवारले जनाएको छ ।
समाजसेवा तथा शिक्षाप्रेम भएका व्यक्तित्वका रूपमा परिचित थकालीले विद्यालयको समग्र विकासका लागि अहोरात्र काम गर्नु भएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीको भनाई छ । अधिकारीका अनुसार थकालीको कुशल मार्गदर्शनमा विद्यालयले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, र आर्थिक स्थायित्वमा अभूतपूर्व सफलता हासिल ग¥यो । जनहित माध्यमिक विद्यालय नेपालको हिमाली जिल्लाहरूमा मात्र नभई समग्र देशमै उत्कृष्ट सार्वजनिक नमुना माध्यमिक विद्यालयका रुपमा स्थापित भएको छ । थकाली विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा एक लाख ६६ हजार रुपियाँ विद्यालयको कोषमा रहेकोमा हाल आएर ९० लाख रुपियाँ पुगेको प्रअ अधिकारी बताउनुहुन्छ ।
उहाँको नेतृत्व, परिश्रम, र दुरदर्शिताको सम्मान गर्दै पूर्व विद्यार्थी मञ्चले सम्मान गरेको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष डा.राजेन्द्र शेरचनको भनाई छ । जनहित पूर्व विद्यार्थी परिवारले वार्षिक साधारण सभामा सम्मान पत्रले सम्मान गरेको थियो ।
थकालीको अगुवाइमा विद्यालयमा स्नातक तह सम्मको अध्ययन थालिएको थियो । हाल आएर विद्यालय र क्याम्पस छुट्टाछुट्टै भए पनि शुरुअतमा विद्यालयमै जयन्द्रलाल थकाली अध्यक्ष र रामचन्द्र अधिकारी क्याम्पस प्रमुख भएर शुरुआत गरिएको थियो । त्यसैगरी हाल उहाँकै अग्रसरतामा एक सय/एक सय जना छात्रछात्रा बस्ने छात्रावास निर्माण भएको छ । त्यस्तै विद्यालय पहिला पुरानो शैलीको माटोको रहेकोमा अहिले व्यवस्थीत प्रशासनिक भवन सहितको कक्षा निर्माण गरिएको छ ।
विद्यालयमा अध्ययन गरी देशभर छरिएर रहेका सबैलाइ समेटेर सामाजिक तथा विविध पक्षका काम गर्नका लागि संस्था औपचारीक रुपमा दर्ता गरेर अगाडी बढेको अध्यक्ष डा राजेन्द्र शेरचनले बताउनुभयाे । पाटन अस्पतालका पूर्व डाक्टर शेरचन पनि जनहित माध्यमिकमै अध्ययन गर्नु भएको थियो । हरेक क्षेत्रमा काम गर्नेहरुलाइ सम्मान गर्ने हेतुले यस पटक विद्यालयलाइ निमावि बाट मावि बनाउने समयका प्रधानाध्यापक बसन्त शेरचन र विद्यालय व्यवस्थापन समितिमा लामो समय योगदान गरेर हालै बाहिरिनु भएका थकालीलाइ सम्मान गरिएको अध्यक्ष शेरचनकाे भनाइ छ ।