बागलुङ, २६ मंसिर – जिल्ला विकास समिति बागलुङमा चालु आर्थिक वर्षको पहिलो किस्ताअन्तर्गत निकासा भएका सामाजिक सुरक्षा भत्ताको कुल रकममध्ये ७२ लाख बढी रकम फिर्ता भएको छ ।
पहिलो किस्ताअन्तर्गत निकासा भएको १६ करोड १४ लाख ९८ हजार रुपैयाँमध्ये ७२ लाख ४३ हजार २ सय रुपैयाँ फिर्ता भएको र १५ करोड ४२ लाख ५४ हजार ८ सय रुपैयाँ वितरण गरिएको जिविस बागलुङका नायब सुब्बा मिनबहादुर थापाले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी बुर्तिवाङ्ग गाविसबाट रकम फिर्ता भएको छ । कुल ४२ लाख ३७ हजार रुपैयाँ निकासा भएकोमा बुर्तिवाङ्ग गाविसबाट ६ लाख ८ हजार ८ सय रुपैयाँ फिर्ता भएको हो ।
बढी रकम हुने गाविसहरुमा राजकुतबाट ३ लाख ९८ हजार ४ सय, अधिकारीचौरबाट ३ लाख ४८ हजार ८ सय र दर्लिङ गाविसबाट ३ लाख ३५ हजार ४ सय रुपैयाँ रहेको नायव सुब्बा थापाको भनाई रहेको छ ।
सबैभन्दा कम फिर्ता हुने गाविसअन्र्तगत पाण्डवखानी गाविसबाट १६ हजार, नरेठाँटीबाट २५ हजार ६ सय, धम्जा गाविसबाट २७ हजार, अर्जेवा गाविसबाट २८ हजार रुपैयाँ फिर्ता भएको छ ।
गाविसमा लामो समयसम्म सचिव नरहँदा सामाजिक सुरक्षा भत्ता रकम पाउनेको संख्या अद्यावधिक गर्न नसक्दा रकम फिर्ता हुने गरेको जिविसले जनाएको छ । पहिलो किस्तामा ३० हजार ३५ जनाले सामाजिक सुरक्षा भत्ता रकम बुझेको तथ्याङ्गक रहेको छ ।
जिल्लामा अन्य जेष्ठ नागरिक ९ हजार २ सय ५३, दलित जेष्ठ नागरिक ५ हजार ३ सय ७०, एकल महिला एक हजार ७ सय २९, विधुवा महिला ५ हजार ६ सय ८२, पूर्ण अशक्त ४ सय ७७, अति अशक्त ७ सय ३५ र दलित बालबालिका ६ हजार ८ सय ९ जनाले भत्ता रकम बुझेका थिए ।