बागलुङ, २६ मंसिर – जिल्लाको नारायणस्थान गाविसमा रहेको गणेश माध्यमिक बिद्यालयले आयोजना गरेको श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञको तयारी तिव्र बनाइएको छ ।
२१ औ शताब्दी अनुकुल ब्यवहारिक, बैज्ञानिक तथा प्रबिधिमैत्री शिक्षा प्रदान गर्ने उद्धेश्यले मंसीर २८ गते देखि पौष ५ गतेसम्म आयोजना गरिएको महायज्ञको यज्ञमण्डप, अन्य समग्र व्यवस्थापनका बिषयमा तयारी भइरहेको बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा गणेश माध्यमिक बिद्यालयका प्रधानाध्यापक चुडामणी सुबेदीले बिद्यालयको वर्तमान पहिचान र शैक्षिक गुणस्तरलाई कायम राख्दै आगामी दिनमा समयसापेक्ष समय, बिद्यार्थी र अभिभावकको माग र चाहना अनुसारको शिक्षाका लागि महायज्ञ आयोजना गरिएको बताए ।
करिब ३ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महायज्ञमा हालसम्म करिब १ करोड रूपैयाँ सहयोगका लागि प्रतिवद्धता व्यक्त भैसकेको प्रधानाध्यापक सुवेदीले जानकारी दिए । सामुदायिक बिद्यालयमध्ये बागलुङको राम्रो बिद्यालयमा पर्ने गणेश माविलाई अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने दिगो कोष निर्माणका लागि महायज्ञ फलदायी हुने अपेक्षा गरिएको छ । महायज्ञमा संकलित रकमबाट अक्ष्य कोष स्थापना गरिने र त्यसको ब्याज शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्चिने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठले बताए ।
२०६५ साल देखि अंग्रेजी माध्यमबाट पढाइ हुदै आएको बिद्यालयमा सरकारले दिएको दरबन्दि बाहेकका २२ शिक्षक निजी स्रोतबाट तलब खुवाउने गरि राखिएको छ । २२ शिक्षकको मासिक तलब मात्र २ लाख भन्दा बढी लाग्ने र आर्थिक समस्याले पटक–पटक सताउने गरेकाले यस्तो समस्याको समेत अन्त्य गर्न महायज्ञमार्फत अक्षय कोष स्थापना गर्न लागिएको प्रधानाध्यापक सुबेदीले बताए ।
पण्डित कमलनयन गौतमले कथा बाचन गर्ने महायज्ञको उद्योग मन्त्री नबिन्द्रराज जोशिले उद्घाटन गर्नुहुने कार्यक्रम छ । कक्षा १ देखि १० सम्म पढाइ हुने गणेश माबिमा हाल ६ सय ९० जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् ।
Previous Articleमेसी र स्वारेज चम्किएपछि गोलको बर्षा
Next Article २०७३ मंसिर २६ गते आईतबारको राशिफल