काठमाडौं, २६ मंसिर-शनिबार साँझ स्पेनिस ला लिगामा बार्सिलोनाले ओसासुनामाथि गोलको बर्षा गरेको छ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी र लुइस स्वारेज चम्किएपछि बार्सिलोनाले ओसासुनामाथि ३–० को जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरिमा सकिए पनि दोस्रो हाफको ५९ औँ मिनेटमा बार्सिलोनाका लागि पहिलो गोल स्वारेजले गरे । अधिकांश समय डिफेन्स खेलेको ओसासुनामाथि दोस्रो गोल ७२ मिनेटमा मेसीले गरे । बार्सिलोनाका लागि तेस्रो गोल समेत इन्जुरी समयमा मेसीले नै गरे ।
स्वारेजको गोलबाट खाता खोलेको बार्सिलोनाले मेसीले दुई गोल गरेपछि ओसासुनामाथि सानदार जित निकालेको हो । स्पेनिस लिगमा १५ खेल खेलेको बार्सिलोनाले ३१ अंक जोडेको छ ।
ला लिगा अन्तर्गत राति ९ बजे भ्यालेन्सिया र रियल सोसिडाडको खेल हुँदै छ भने ११ बजे लेगन्स र पालामसबीच खेल हुनेछ । लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले भने राती १ः३० बजे डिप्रोटिभो लाकुरान सँग खेल्ने छ । १४ खेल खेलेको शीर्ष स्थानको रियलको ३४ अंक छ ।