बेनी नगरपालिका ७ मा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले शनिबार बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारण सभामा बेनी नगरपालिकाकी उपमप्रमुख ज्योती लामिछानेले सहकारी संस्थाले निम्न आयस्तर भएका नागरिकको जीवनस्तर उकास्न मद्दत गर्नुपर्नेमा जोड दिनुभएको थियो । महिला तथा निम्नआयस्तर भएका नागरिकहरुको जीवनस्तर उकास्नका लागि सहकारी संस्थाले प्रयास गर्नुपर्ने उहाँको तर्क थियो । कहिकतै सहकारी संस्थाहरुमा आएको भनिए पनि यहाँका सहकारीहरुले सकेसम्म व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।
प्रमिला जोशीको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन सचिव अर्जुन पौडेलले तथा स्वागत उपाध्यक्ष देवेन्द्र पौडेलले गर्नुभएको थियो ।
सहकारीको साधारणसभामा सदस्य मोहन बानियाँ, अनुगमन उपसमितिका सदस्य रुद्रप्रसाद शर्मा, निवर्तमान अध्यक्ष हरिकृष्ण शर्मालगायतले सहकारी संस्थाले सहकारी ऐन तथा नियमहरुमा रहेर कारोवार गरेको बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट कारोवार गर्नेहरुलाई सम्मान गरिएको थियो । संस्थामा खत्रुके बचत तर्फ उत्कृष्ट एरिका शर्मा, दैनिकबचततर्फ धनकुमारी पुर्जा, उत्कृष्ट ऋणी धनमायाँ कार्की, नियमित मासिक बचतकर्ता तीलु शर्मा, डिजिटल कारोवार तर्फ उत्कृष्ट जीतबहादुर पाइजालगायतलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो । लोकदिप बचत तथा ऋण सहकारी संस्थाको एक करोड ७० लाख ४१ हजार नौ सय रुपियाँ शेयर पुजी रहेको छ । त्यस्तै आवधिक, नियमित, साधारण, खुत्रुके लगायतको शिर्षकमा बचत रकम कुल नौ करोड ३५ लाख २७ हजार पाँच सय ६७ रुपियाँ रहेको सहकारीका प्रवन्धक नेत्रराज शर्माले जानकारी दिनुभयो । सहकारी संस्थाले हाल कुल १२ करोड ४२ लाख नौ हजार ५१ रुपियाँ ऋणलगानी गरेको छ ।
संस्थाले नियमित बचत तथा ऋण कारोवार गर्नुका साथै सञ्चालक समिति एवम् अन्य उपसमितिहरुले पनि नियमित कारोवार तथा नियमित बैठक तथा आवश्यक विषयमा छलफल गर्ने निचोडमा पुग्ने गरेको संस्थाका प्रवन्धक सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको आफ्नै मोबाइल एप्लीकेसन मार्फत विभिन्न कारोवार हुने गरेको छ । त्यस्तै समिति तथा कर्मचारी बिचमा परस्पर सम्बन्ध, सहकारीका सदस्य बीचमा सहकारी शिक्षा, पनि नियमित रुपमा हुने गरेको छ । सस्थालाई व्यवस्थीत तबरले सञ्चालन गर्नका लागि विभिन्न १९ वटा कार्यविधि बनाएर सहकारीलाई व्यवस्थीत तबरले सञ्चालन गर्दै आइएको संस्थाको अध्यक्ष जोशीले बताउनुभयो ।
साधारणसभाले सदस्यता बिस्तार, हाल सञ्चालनमा रहेको मोबाइल एपलाइ थप सदस्यहरुकहाँ बिस्तार गर्नुकासाथै डिजिटल भुक्तानीलाइ बढावा दिने निर्णय गरेको छ । संस्थाको आफ्नै वेवसाइट निर्माण गरेर सहकारीका सदस्यहरुलाई डिजिटल रुपमा जोड्ने र वेवसाइट मार्फत नै सदस्यहरुलाइ सचेत गराउने योजना पनि संस्थाले लिएको छ । साधारणसभाले संस्था एकिकरणका लागि पनि प्रयास गर्ने र एकिरण गर्न चाहने संस्थाहरुलाई आवश्यक प्रकृया पुरा गरेर एकिकरणमा ल्याउने निर्णय गरेको छ ।