अमृत बास्कुने
शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिका ७ मा रहेको प्रकाश माध्यमिक विद्यालयले हात पारेको छ । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सकिएको उक्त प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयले यो सहित लगातार तीन पटकको उपाधि उचाले पछि रनिङ शिल्ड पनि सँधैका लागि आफ्नो बनाएको छ । लगातार तीन पटक उपाधि जिते संगै शिल्ड पनि पच बनाएको अर्थात् आफ्नो बनाएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका —२०७० पाँचौं संसोधनले गरेको व्यवस्था अनुरुप शिल्ड आफ्नो बनाएको हो । निर्देशिकाको दफा १५ को उपदफा १ मा लगातार तीन पटक शिल्ड जित्नेले सँधैका लागि शिल्ड राख्न पाउने उल्लेख गरेको छ । प्रकाश माध्यमिक विद्यालयले नगर स्तरीय प्रतियोगिताको तेश्रो, चौथो र पाँचौं गरी तीन पटक उपाधि उचालेको हो । पाँचौं संस्करणको यो प्रतियोगितामा १३ स्वर्ण १३ रजत र एक कास्य पदक सहित सहित प्रकाश मावि प्रथम भएको हो । त्यस्तै बेनी नगरपालिका ८ को न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय १३ स्वर्ण ६ रजत र १४ कास्य सहित दोश्रो हुँदा पाँच स्वर्ण दुई रजत र छ कास्य पदक सहित बेनी नगरपालिका ७ को माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले तेश्रो स्थान हात पारेको छ ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका —२०७० पाँचौं संसोधनको अनुसुचि ४ मा उल्लेख भए अनुसार एथलेटिक्स तर्फ छात्र १३ छात्रा १३ गरी कुल २६, कबड्डीमा छात्रा छात्र गरी २, भलिबल छात्रछात्रा गरी २ तथा मार्सल आर्ट विधा तर्फ उसु, कराँते, तेक्वान्दोमा छात्रछात्रा छ÷छ वटा गरी कुल १२÷१२ समेत कुल जम्मा ६६ स्वर्ण पदकका लागि प्रतियोगिता हुने उल्लेख छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका —२०७० पाँचौं संसोधनमा ६६ पदकको व्यवस्था भए पनि बेनी नगरपालिका स्तरीय प्रतियोगितामा नगरपालिकाले प्रतियोगितामा सहभागि हुने विद्यालयहरुको बैठकमा छलफल भए अनुसार बनाएको नियमका आधारमा ४० पदकका लागि मात्रै खेलाडी संख्या पुगेपछि सोही अनुरुप राष्ट्रपति रनिङ शिल्डका लागि पदक गणना गरेर खेल खेलाइएको थियो । बेनी नगरपालिका भित्रका संस्थागत तथा सामुदायिक गरी कुल २६ विद्यालयले सहभागीता जनाएको उक्त प्रतियोगिताको विजेता प्रकाश माध्यमिक विद्यालयले नगद ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोश्रो भएको न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयले ४० हजार रुपियाँ नगद सहित ट्रफि प्राप्त गर्दा तेश्रो हुने माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले ३० हजार रुपियाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
मंसिर ६ गते बाट शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, भलिबल, कबड्डी, मार्चपास जस्ता विधामा उत्कृष्ट हुनेलाई विद्यागत रुपमा ट्रफि तथा प्रमणपत्र प्रदान गरिएको थियो । विजेता विद्यालय तथा पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी, प्रतियोगिताका संयोजक एवम सामाजिक विकास समितिका संयोजक चक्र केसी, वडा अध्यक्षहरुले पदक तथा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
कान्छी खेलाडी रितिकाले आठ सय मिटर दौडमा कास्य पदकबेनी नगरपालिका १० पात्लेखेलको दिपक माध्यमिक विद्यालयबाट प्रतियोगितामा सहभागि भएकी सबै भन्दा कान्छी खेलाडी रितिका घतानेले आठ सय मिटर दौडमा पदक हात पारेकी छिन् । दिपक माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययन गर्ने ९ वर्षिय रितिकाले ८ सय मिटर दौडमा तेश्रो स्थान हासिल गरेकी हुन् । विद्याय स्तरीय प्रतियोगितामा दौडमा उत्कृष्ट हुँदै नगरपालिका स्तरीय प्रतियोगितामा सहभागिताका लागि आएकी रितिकाले १५ सय मिटर दौडमा पनि चौथो स्थान हासिल गरेको बेनी नगरपालिका १० का वडा अध्यक्ष मसबिर रोकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार रितिकाका दुई दाजुहरु ८ र ९ कक्षामा पढ्ने भए पनि नगर स्तरीय प्रतियोगिताका लागि कान्छी बहिनी मात्रै छनौट भएर आएको र पदक नै जितेर विद्यालयकै नाम राखेकी छिन् । शनिबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागि कान्छी खेलाडीले नै पदक हात पार्दा पहिलो र दोश्रो हुने भन्दा पनि तेश्रो हुने खेलाडीको चर्चा बढी भएको समेत अध्यक्ष रोकाको भनाई थियो ।
मंगला गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधि महेन्द्ररत्न माध्यमिक विद्यालयले जित्यो
मंगला गाउँपालिकाको कैशालफाँटमा शनिबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालयले ११ स्वर्ण, ६ रजत, ४ काँस्य सहित २१ पदकका साथ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जितेको छ । मंगला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्दा ५ स्वर्ण, ७ रजत र ३ कास्य गरी १५ पदक सहित मंगला माध्यमिक विद्यालय बाबियाचौरले दोश्रो स्थान हासिल गरेको छ । त्यसैगरी ४ स्वर्ण, ३ रजत ५ गरी १२ पदक सहित दिपशिखा माध्यमिक विद्यालय कुँहुले तेश्रो स्थान हासिल गरेको मंगला गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ काअध्यक्ष एकजित रोकाले जानकारी दिनुभयो ।
मंगला गाउँपालिका भित्रका ५ वटा वडा भित्र पर्ने ९ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयले नगद ५० हजार, ३० हजार र २० हजार रुपियाँ नगद सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा लगायतले नगद पुरस्कार सहित ट्रफि प्रदान गर्नुभएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाले तोके अनुसारको मार्सल आर्टका ३६ पदक बाहेक एथलेटिक्स, कबड्डी र भलिबल गरी कुल ३० पदकका लागि भएको प्रतियोगिताको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष रोकाले शिक्षा र खेलकुद गतिविधिलाई सँगसँगै अगाडी बढाए मात्रै खेलकुदको विकास र बिस्तार गर्न सकिने बताउनुभएको थियो ।