मंगला गाउँपालिकाको कैशालफाँटमा शनिबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालयले ११ स्वर्ण, ६ रजत, ४ काँस्य सहित २१ पदकका साथ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जितेको छ । मंगला गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्दा ५ स्वर्ण, ७ रजत र ३ कास्य गरी १५ पदक सहित मंगला माध्यमिक विद्यालय बाबियाचौरले दोश्रो स्थान हासिल गरेको छ । त्यसैगरी ४ स्वर्ण, ३ रजत ५ गरी १२ पदक सहित दिपशिखा माध्यमिक विद्यालय कुँहुले तेश्रो स्थान हासिल गरेको मंगला गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ काअध्यक्ष एकजित रोकाले जानकारी दिनुभयो ।
मंगला गाउँपालिका भित्रका ५ वटा वडा भित्र पर्ने ९ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयले नगद ५० हजार, ३० हजार र २० हजार रुपियाँ नगद सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा लगायतले नगद पुरस्कार सहित ट्रफि प्रदान गर्नुभएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाले तोके अनुसारको मार्सल आर्टका ३६ पदक बाहेक एथलेटिक्स, कबड्डी र भलिबल गरी कुल ३० पदकका लागि भएको प्रतियोगिताको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष रोकाले शिक्षा र खेलकुद गतिविधिलाई सँगसँगै अगाडी बढाए मात्रै खेलकुदको विकास र बिस्तार गर्न सकिने बताउनुभएको थियो ।