अमृत बास्कुने
सामान्यतया नाम चलेका व्यक्तिहरुलाई हरेक स्थानमा शुरुमा पालो दिने गरिन्छ । निर्वाचनहरु हुने समयमा देशका वरिष्ठतम् व्यक्तीहरुले शुरुमै मतदान गर्ने चलन छ । त्यस्तै हरेक प्रकारका कार्यक्रमहरुमा पनि उनीहरुलाई शुरुमै पालो दिइन्छ । तर मुस्ताङको मार्फामा भने कसैले पनि पहुँचको आधारमा शुरुमा पालो पाउने भन्ने हुँदैन । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा बस्तीमा हरेक वर्ष स्याउको सिजनमा जुस बनाउने काम हुन्छ र उक्त काम गर्नका लागि गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनको अन्तिम दिनमा पालो परेको छ ।
मार्फा गाउँ समाजले आफ्नो जुस फ्याक्ट्रीमा स्याउको जुस पेल्नका लागि गोलाप्रथाबाट दिन निकालेको थियो । असोजको २९ गते बाट शुरु भएको जुस पेल्ने काम कार्तिक १८ गते सम्म सञ्चालन भएको थियो । उक्त कार्य शुरु हुनु भन्दा अगाडी नै गोला हालेर कति गते कस्को पालो भनेर निर्धारण गरिदा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको पालो अन्तिम दिन अर्थात् कार्तिक १८ गते परेको थियो । म चाँडै पेल्नका लागि मार्फामा नहुने जस्तो पनि थियो तर पालो पनि अन्तीममै परो केही भएन–अध्यक्ष लालचनले भन्नुभयो ।
गाउँ मुखियाको रोहबरमा गोला हालेर पालो निर्धारण गर्ने गरिएको मार्फाका पूर्व मुखिया दिपक लालचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘कोही सानो ठूलो भन्ने हुँदैन, सबैले नाम टिपाउने हो अनि गोला हालेर कुन दिन जुस बनाउने पालो पर्छ त्यही दिन आफ्नो स्याउ लिएर आउने अनि जुस बनाएर लैजाने हो ।’ मार्फा गाउँ समाजले लगानी गरेर निर्माण गरेको जुस फ्याक्ट्रीमा आधुनिक प्रविधिको प्रयोग गरेर हरेक सामग्रीहरुलाई निर्मलीकरण गरी जुस बनाउने गरिने उहाँको भनाई छ । एक व्यक्तिले आफ्नो एक सय ५० केजी स्याउको जुस बनाउन पाउने प्रवाधान रहेको छ । त्यसका लागि स्याउ सँगै जुस लैजाने बोत्तल पनि सफा गरेर ल्याउन पर्ने हुन्छ । उक्त बोत्तललाई फ्याक्ट्रीमा एक सय डिग्रि भन्दा माथिको तापक्रममा निर्मलीकरण गरेर मात्रै जुस प्याक गर्ने उहाँको भनाई छ ।
गाउँका सबै जातजातिका मानिसहरुले जुस पेल्न पाउँछन् र सबै समान् हुन्छन् मार्फा गाउँका मुखिया बिजय हिराचनले बताउनुभयो । नाम लेखाउने हो, त्यस पछि गोला हालेर उनीहरुको पालो निर्धारण हुन्छ कसैलाई पनि यही दिन भन्दा पनि गोलामा जे पर्छ त्यही अनुसार समान तबरले जुल पेल्ने मौका पाउँछन् उहाँको भनाई छ ।
म्युनिख युनिभर्सिटिले दिएको प्रबिधि प्रयोग गरेर पछिल्लो ४० वर्ष देखि स्याउको जुस बनाइदै गरेको गाउँमुखिया बिजाय हिराचनले बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रो यहाँ कुनै विभेद हुँदैन र थप शुल्क लिइदैन, बोत्तलमो बिर्को तथा लेवल अनि जुस बनाउँदा प्रयोग भएको ग्यासको खर्च हिसाब गरेर दामासायीले सबैले व्यहोर्ने गरिन्छ ।’ साथै कुनै पनि प्रकारको विभेद पनि यहाँ हुँदैन, जुस बनाउने फ्याक्ट्रीका मुख्य नाइके नै सोम परियार छन् भने यहाँ कसरी विभेद हुन्छ? गाउँ मुखियाले प्रश्न गर्नुभयो । २९ असोज देखि शुरु भएको स्याउ पेल्ने काम मेरै पालो १२ कार्तिकमा परेको थियो ।
मार्फामा जुस पेल्ने फ्याक्ट्री हेर्नका लागि आन्तरीक तथा बाह्य पर्यटकहरु पनि आउने गरेको जुस फ्याक्ट्रीका नाइके सोम परियारको भनाई छ । मार्फामा जुस बनाउने होस या अन्य कुनै पनि कार्यमा कुनै पनि प्रकारको विभेद नहुने उहाँले जानकारी दिनुभयो । उहाँल भन्नुहुन्छ–‘कयौं वर्ष देखि मैले यहाँ काम गर्दै आएको छु र हरेक दिन सबै जातजातीका व्यक्तिीको पालो पर्छ तर कसैले पनि अहिले सम्म केही भन्नु भएको छैन, यहाँ विभेद रहित तबरले काम हुन्छ ।’