बागलुङ, २३ मंसिर/नेकपा एमालेले संविधान कार्यान्वयन र आठौं जिल्ला अधिवेशनलाई केन्द्रीत गरी सञ्चालन गरेको संगठन सुदृढीकरण अभियान अन्तरगत बुधबार दगातुन्डाडा गाविस वडा नम्बर ६ मा वडा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै एमालेका जिल्ला सचिवालय सदस्यहरु विष्णु भुषाल र शान्ति अधिकारीले मुलुकको संकट निकासका लागि संविधान कार्यान्वयनतर्फ लाग्नु पर्नेमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाएर अन्यौलता सिर्जना गर्न खोजिएको आरोप लगाएका थिए । नेपाली जनताको आर्थिक सामाजिक जीवन स्तर माथि उठाउनका लागि एमालेको नेतृत्व आवश्यक पर्नेमा उनीहरुले जोड दिएका थिए । कार्यक्रम वडा कमिटीका अध्यक्ष सूर्यबहादुर अधिकारीको अध्यक्षता, गाउँ कमिटि सचिव आकाश शर्माको सञ्चालन र गाउँ कमिटि सदस्य नारायण खरेलको स्वागतमा सम्पन्न भएको थियो । अधिवेशनबाट सूर्यप्रसाद अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कमिटि सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा मना राना, सचिवमा रामलाल पौडेल र उपसचिवमा देउमाया राना चयन भएको खरबाङबाट पत्रकार कमल पौडेलले जानकारी दिए ।