काठमाडौँ, २२ मंसिर – गत शुक्रबार निधन भएका क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो जीवनभर ६ सय ३४ हत्या प्रयासबाट बँचेका थिए । तीमध्ये अधिकांश हत्या योजना अमेरिका र अमेरिका बस्ने क्युबेलीले बुनेका थिए । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सिआइएले क्यास्ट्रोको हत्या गर्न मुख्य ६ वटा प्रयास गरेको थियो । सिआइएका हत्या प्रयास केही घातक थिए भने केही हास्यास्पद थिए । डेमोक्र्याटिकका तत्कालीन सिनेटर फ्र्याक चर्चले नेतृत्व गरेको चर्च कमिटीले सन् १९७५ मा क्यास्ट्रो हत्या प्रयासबारे विवरण नै तयार पारेको थियो । प्रस्तुत छ– सिआइएले क्यास्ट्रोलाई गरेका ६ हत्या प्रयासः
१. पोइजनस सिगार
सिगार पिउनु क्रान्तिकारी नेता क्यास्ट्रोको विशेष शोख थियो । उनी अत्यधिक सिगार पिउँथे । सिआइएले सन् १९६० मा क्यास्ट्रोलाई मन पर्ने सिगारको पाकेटमा विष मिसाएर हत्या प्रयास गरेको थियो । क्यास्ट्रोले शक्ति हत्याएको एक वर्षपछि उनलाई खुवाउने सिगारमा बोटुलिनुम नाम गरेको उत्तेजक पदार्थ मिसाइएको थियो । सो विष मुखमा परेपछि जोकोहीको पनि मृत्यु हुन्छ । सब–कमिटीका अनुसार विष मिसाइएका चुरोट सन् १९६१ मा एक अज्ञात व्यक्तिमार्फत क्यास्ट्रोलाई दिने प्रयत्न भएको थियो । तर, क्युबा सरकारले ती सिगारबारे क्यास्ट्रोले खानुअघि नै सूचना पाएको थियो ।
२. भाडाका ग्याङ
अमेरिकाका ३४औँ राष्ट्रपति डिबिट इसनहावरको कार्यकालमा सिआइएले दुईवटा समूहलाई भाडामा लिन दलाल प्रयोग गर्यो । सिआइए क्यास्ट्रोको हत्या गर्ने ग्याङलाई १ लाख ५० हजार डलर दिन तयार थियोे । हत्याका लागि सिकागोका गुन्डा परिचालन गरिएका थिए, जुन कुनै वेला एफबिआइको मस्टवान्टेड सूचीमा समेत थिए । गुन्डानायिके साम जियानकानाका अनुसार क्यास्ट्रोलाई दिने भनिएका पिल्स बन्दुकभन्दा प्रभावकारी थिए । सिआइएले उच्च मात्रामा लेथल मिसाइएको ६ वटा पिल्स ग्याङमार्फत क्यास्ट्रोसँग पहुँच भएका क्युबेली अधिकारीलाई पु¥याएको थियो । तर, सो योजना पनि विफल भएको थियो ।
३. समुद्री जीवको कवच
प्रयास विफल भए पनि हतोत्साहित नभएको सिआइएले सन् १९६३ मा क्यास्ट्रो हत्या गर्ने अर्को षड्यन्त्र बुन्यो । क्यास्ट्रोलाई मन पर्ने स्कुबा डाइभिङलाई मुख्य औजार बनाइयो । स्कुबा डाइभिङभित्र ठूलो समुद्री जीवको खोल राख्ने र खोलभित्र एउटा विस्फोटक पर्दाथ लुकाउने योजना तय भयो । सो खोललाई अनौठो रंगले पोतिएको थियो, ताकि समुद्रप्रेमी कम्युनिस्ट नेतालाई यसबारे ख्याल नहोस् । तर, सो षड्यन्त्र बीचमै तुहिएको थियो ।
४. संक्रमित डाइभिङ सुट
सोही वर्ष क्यास्ट्रोले प्रयोग गर्ने डाइभिङ सुटमा फन्जाई मिसाउने योजना बुनियो, ताकि कम्युनिस्ट नेतालाई छालासम्बन्धी दीर्ध रोग लागोस् । अमेरिकी वकिल जेम्स डोनोभानमार्फत सो डाइभिङ सुट र पानीभित्र श्वासफेर्न सजिलो हुने ब्रेथिङ टुललाई संक्रमित गराएर पठाउने योजना गरियो । क्यास्ट्रोसँग डोनोभानको सीधै पहुँच थियो । तर, भुलवश डोनोभानले क्यास्ट्रोलाई अर्कै सुट दिएपछि सो योजना पनि विफल भएको थियो । सिआइएका निर्देशक रिचार्ड हेल्मले सो योजनालाई ‘मूर्ख तरिका’ बताएका थिए । किनकि, क्यास्ट्रोलाई दिने भनेको सुट प्रयोगशालामै थियो ।
५. घातक प्रेमी
सबै योजना विफल भएपछि सिआइले अर्को योजना बुनेको थियो जसअन्तर्गत एउटी घातक प्रेमिकालाई पात्र बनाइएको थियो । उनी थिइन् मारिटा लोरेन्ज । सन् १९९३ मा लेरेन्जले भेनिटी फेयरलाई जनाएअनुसार सन् १९५९ मा उनी क्यास्ट्रोकी प्रेमिका थिइन् । सिआइएका लागि उनी एजेन्ट बनेकी थिइन् । प्रेमिकामार्फत क्युबेली नेताको हत्या गर्नु अमेरिकाको उद्देश्य थियो । क्यास्ट्रोले पिउने चिजमा विष हाल्न सिआइएले उनलाई केही पिल्स दिएको थियो । त्यो खाएपछि ३० सेकेन्डमै मृत्यु हुन्थ्यो । सिआइएको योजनासहित उनी क्युबा हुँइकिइन्, तर हवाना उत्रेपछि हच्किइन् । ‘जब म हवाना पुगेँ, तत्कालै मेरो विचारमा परिवर्तन आयो,’ उनले सो म्यागेजिनलाई भनेकी थिइन् । उनले ती पिल्सलाई चिसो क्रिमको जारमा राखिन् ताकि भविष्यमा कुनै दिन प्रयोग गर्न सकियोस् । क्यास्ट्रो र ती महिलाको हवानाको एउटा कोठामा भेट भयो । चलाख क्यास्ट्रोले हत्या रहस्य आफैँ थाहा पाएका थिए । ‘तिमीले मलाई मार्न सक्दिनौ । कसैले मलाई मार्न सक्दैनन्,’ भन्दै क्यास्ट्रोले गोजीबाट सिगार झिकेर पिएका थिए । ‘मलाई हीनताबोध भयो । उसले मलाई अँगालोमा बाँध्यो । उसको झन् माया पो लाग्योे,’ ती महिलाले अन्तर्वार्तामा भनेकी छिन् ।
६. विषालु कलम
प्रेमिकाद्वारा हत्या गर्ने योजना विफल भएपछि सिआइएले क्यास्ट्रोले प्रयोग गर्ने कलममा एउटा सियो लुकाएर मार्ने षड्यन्त्र ग¥यो । सियोमा विष हालिएको थियो । सियो निकै सानो थियो, ताकि पीडितले सो रहस्य थाहा पाउँदैनथ्यो । सो कलम क्युबाकै एक उच्च अधिकारीमार्फत क्यास्ट्रोलाई दिने योजना थियो । तर, क्युबेली अधिकारीले सो उपकरण त्यति भरपर्दो मानेनन् । उनले सिआइए अधिकारीलाई अझै अत्याधुनिक योजना लिएर आउन सुझाब दिएका थिए । ती अधिकारीलााई २२ नोभेम्बर १९६३ मा सो कलम थमाइएको थियो । सोही दिन जोन अफ केनेडीको हत्या भयो । केनेडीको हत्यापछि क्युबेली अधिकारीले सो कलम क्युबा लैजान मानेनन् ।
Previous Articleआन्तरिक हवाई भाडा ६ वर्षयताकै सस्तो, कहाँ कति ?
Next Article बैंक खातामा जनही एक लाख जम्मा गरिदिन बाबुरामको उर्दी