म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्रेलियाको आयोजनामा महिला तथा पुरुष भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । मोनाका साथै नेपाली समाजमा सद्भावलाई कायम राख्नका लागि खेलाडी, खेल र खेलप्रेमीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जनाएको छ ।
मोना वान–डे टुर्नामेन्ट अन्तर्गत मोना अष्ट्रेलियाद्वारा आयोजित पुरुष भलिबलतर्फ १३ टिम सहभागी प्रतियोगितामा छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) प्रथम र मोना अष्ट्रेलिया दोस्रो भएका छन् । पाँच टीम सहभागी भएको महिला भलिबलतर्फ ढोरपाटन क्लब पहिलो र पोखरा क्लब दोस्रो भएका छन् भने १० टिम सहभागी पुरुष बास्केटबलमा वाइल्ड याक्स विजेता बनेको जनाइएको छ ।
अष्ट्रेलियामै सबैभन्दा ठूलो नेपाली समाजद्वारा आयोजित खेलकुद प्रतियोगिताको अवसरमा राष्ट्रिय खेलाडी टेकराज अवस्थीलाई सम्मान गरिएको थियो । प्रतियोगितामा एनआरएनए अष्ट्रेलियाका प्रेसिडेन्ट अनिल पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो भने झण्डै एक हजारबढी दर्शकहरुले खेल अवलोकन गरेको मोना अष्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता अष्ट्रेलियाको सिड्नीस्थित अवर्नमा आयोजना गरिएको थियो ।
रोजगारको सिलसिलामा अष्ट्रेलिया पुगेका प्रवासीहरु आबद्ध मोना अष्ट्रेलियाले जिल्ला र अष्ट्रेलियामै पनि धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । मोना अष्ट्रेलिया, अष्ट्रेलियामा हुने हरेक खालका सामाजिक गतिविधिहरुमा सक्रियताका साथ पहिलो स्थानमा रहेको संस्थाले जनाएको छ ।
Previous Articleझोलुङ्गे पुल चुँडिदा १५ खच्चड फसे
Next Article वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन