सन्दर्भः माटो दिवस
प्रकाश थापा
ईश्वरले प्राणी जगत्लाई दिएको एक अनुपम वरदान माटो हो । माटो पृथ्वीमा रहेका जैविक तथा अजैविक तत्वहरुको संमिश्रण हो । यही माटो विभिन्न खनिज पदार्थ, अर्गानिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (पानी) र थुप्रै जीवहरुले बनेको हुन्छ । माटो पनि ठाउँ विशेषअनुसार कणहरुको संरचना तथा मिश्रणका कारण फरकफरक किसिमको हुने गर्दछ । यही माटोले मानव लगायत सम्पूर्ण जीवजन्तुलाई बाँच्ने आधार दिएको छ । यो माटोको उत्पादकत्व बढाउन भने कोसेबालीले महत्वपूर्ण भूमिका खेल्दछ । माटोको महत्व र यसको मानवसँग अपरिहार्य सम्बन्धका कारण हरेक वर्ष डिसेम्वर ५ को दिनलाई विश्व माटो दिवसको रुपमा मनाउने गरिन्छ । विश्व माटो दिवस मनाउनुको मुख्य उद्देश्य नै मानिसलाई जीवनमा माटोको महत्व बारे जनचेतना फैलाउनु र मानिससँग माटोको सम्बन्ध जोड्नु रहेको छ । यस वर्षको विश्व माटो दिवस–२०१६ को नारा ‘माटो र कोसेबाली, मानव जीवनसँग अपरिहार्य सम्बन्ध’ रहेको छ । अझ सन् २०१६ लाई अन्तराष्ट्रिय कोसेबाली वर्षका रुपमा मनाइ रहेको अवस्था पनि छ ।
मानव जीवन माटोविना कल्पना नै गर्न सकिंदैन । मानव जगत्मा जीवन जिउन आवश्यक पर्नेे खाद्य वस्तुको उत्पादन यही माटोले गर्दछ भने मानव बाँच्नका लागि चाहिने वायु अर्थात् अक्सिजन पनि यही माटोमा उम्रिएको बोटले दिन्छ । यस अर्थमा पनि मानव जीवनले माटोसँग अति घनिष्ठ नै सम्बन्ध राखेको हुन्छ । माटो मनाव जीवनको जननी नै हो । माटोले हरेक बोटबिरुवा जन्माउने क्रममा नै प्रकृति बन्दछ । माटोले नै यो प्रकृतिको चक्र थामेको छ । माटोमा बोटबिरुवा उम्रिन्छन्, हुर्कन्छन् र मर्दछन् । यही बोटबिरुवाले दिएको वायु र खाद्य वस्तुले गर्दा मानव लगायत सम्पूर्ण प्राणीले आफ्नो जीवन धानेका छन् । माटो समस्त प्राणीको वासस्थान हो । यही माटोमा लडिबुढी खेल्दै जन्मिएको मानव पनि यही हुर्किएर अन्तत माटो नै बन्दछ । माटोलाई वासस्थान बनाउने मानव बाहेक पनि हजारौं सूक्ष्म प्राणीदेखि ठूलाठूला प्राणीहरुसम्म छन् । बोटबिरुवा र मोटोमा भएको वातावरणमा खेल्दै रमाउँदै मानव लगायत वन्यजन्तु तथा पशुपन्छी बाँच्दछन् । यस मानेमा पनि माटो नै सम्पूर्ण जैविक विविधताको आधारशीला हो । अहिलेको बदलिंदो परिवेशमा विश्वको प्रमुख चुनौति भनेकै जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको अनुकूलन र न्युनीकरणमा पनि यही माटोको भूमिका प्रमुख रहेको हुन्छ । माटोको उचित संरक्षणले कार्वनको भण्डारणमा सकरात्मक प्रभाव पार्दछ । माटोबाट नै प्राणीका लागि खाद्यान्न उब्जाउ हुने भएकाले खाद्य सुरक्षाको लागि पनि माटो संरक्षण अत्यावश्यक रहन्छ ।
माटोमा खाद्यान्न उत्पादनका लागि मानवले अनेकौं बालीहरु लगाउँछन् । बालीहरु मध्ये पनि कोसेबाली एक महत्वपूर्ण बालीका रुपमा किसानहरु माझ आउँछ । कोसेबालीले विशेष त माटोको उत्पादकत्व बढाउन भूमिका खेल्दछ । कोशेबालीको अत्यन्तै महत्वपूर्ण गुण नै माटोलाई चाहिने पोषकतत्व उपलब्ध गराउनु हो । यसको जरामा हुने सानो जीवाणु (व्याक्टेरिया) ले वायुमण्डलमा भएको नाइट्रोजन (पोषकतत्व) लाई जमिनमा संचिति गर्दछ । कोसेबालीको सोही गुणका कारण नै माटाको उत्पादकत्व बढ्दछ । कोसेबालीले हरियो मल अर्थात् ग्रीन म्यनुअरको रुपमा पनि माटोलाई फाइदा पु¥याइराखेको छ । कोसेबालीले माटोको सूक्ष्म जीवको गतिविधि बढाएर मलिलो वातावरण बढाइराखेको हुन्छ । यसबाहेक कोसेबालीको प्रयोगले रोग र किराहरुको समेत नियन्त्रमा मदत हुने कुरा विभिन्न अध्ययन अनुसन्धानले पनि देखाएको छ । कोसेबालीको उत्पादनले माटाको उर्वराशक्ति बढाएर अन्य बाली समेतको उत्पादकत्व बढाउने हुनाले मानव जीवनसँग यसले विशेष सम्बन्ध राख्दछ । मानव शरीरलाई चाहिने पोषण तत्व प्रोटिनको मात्रा कोसेबालीका गेडागुडीमा प्रशस्त हुने हुनाले कुपोषण लगायतका विविध रोगहरु नियन्त्रण गर्न मदत पुग्दछ । कोसेबालीका गेडागुडीमा फाइबर अर्थात् रेशाको मात्रा धेरै भएकोले शरीरमा कोलेष्ट्रोलको मात्रा कम बनाइ मुटु रोगबाट पनि जोगाउँछ । यसले भिटामिन बि को कमी समेत हुन नदिने भएकाले गर्भावती महिला तथा नवजात शिशुलाई पनि फाइदाजनक हुन्छ । यस बाहेक शरीरमा आवश्यक खनिज पदार्थहरु जस्तैः पोटासियम, आइरन, जिंक, म्यागनेसियम आदिको मात्रा समेत पु¥याउने गर्दछ भन्ने विभिन्न अध्ययनहरुले देखाएको छ । समग्रमा कोसेबाली मानव स्वास्थ्यलागि अत्यन्त स्वाथ्यवद्र्घक रहेकोले जीवनसँग यसको अपरिहार्य सम्बन्ध रहन्छ । जीवनलाई सुखी र समृद्घ राख्न पनि कोसेबालीले विशेष भूमिका निर्वाह गर्दछ ।
कोसेबाली गेडागुडीको रुपमा प्रयोग गर्ने प्रचलन परापूर्व कालदेखि नै चलिआएको हो । कोसेबालीको स्वास्थ्यवद्र्धकता, आर्थिक फाइदा र वातावरणीय रुपमा पोषण तत्वको चक्रियताका कारण यसको खेती तथा विस्तार रहि आएको छ । विश्वव्यापी रुपमा पनि कोसेबालीको गेडागुडी स्वास्थ्यवद्र्धक रहेकाले यसको आर्थिक महत्व पनि अन्य बाली भन्दा बढी नै छ । कोसेबालीका गेडागुडीको खाद्यान्नमा प्रयोग नेपाली समाजमा पनि विशिष्ट रुपमा छ । हामीहरुले हरेक वर्ष जनैपूर्णिमा लगायतका चाडबाडहरुमा विभिन्न कोसेबालीका गेडागुडीबाट बनेको क्वाँटी खाइ मनाउने प्रचलन पनि पुरानो हो । तसर्थ यसको महत्व नेपाली समाजमा साँस्कृतिक रुपमा रहेको छ । माटोबाट विभिन्न खाद्यान्न उत्पादन हुँदै गर्दा कोसेबालीको उत्पादनले माटोलाई ज्यादै फाइदा पु¥याइ रहेको छ । एकातर्फ माटोबाट कोसेबालीको खाद्यान्न उत्पादन हुने गरेको छ भने अर्कातर्फ कोसेबालीले माटोलाई नै पोषण तत्वले भरिपूर्ण पारेको छ । यसरी माटो, कोसेबाली र जीवनलाई हेर्दा यी तीनको सम्बन्ध अन्योन्याश्रित रहेको देखिन्छ ।
माटो जीवनको अभिन्न अंगको रुपमा रहिरहे तापनि माटोमा पोषकतत्वको असन्तुलनले गर्दा खाद्यान्न उत्पादनमा चुनौतीहरु देखा पर्न थालेका छन् । यसबाहेक मलिलो जमिनको बढ्दोे मरुभूमिकरण र अम्लीयताले गर्दा खाद्यान्न उत्पादनमा नकारात्मक असरहरु परिरहेका छन् । मानवले गर्ने अव्यवस्थित विकास निर्माणका कार्यहरुले गर्दा पनि माटोको उचित संरक्षण हुन सकिरहेको छैन । जीवनसँग अत्यन्तै घनिष्ठ रुपमा जोडिएको जमिनको माटोमा खेतीको कार्य दिनानुदिन अन्य प्रयोजनका लागि उपयोग भइराख्नुले भविष्यमा खाद्य संकटको समस्या ननिम्तेला भन्न सकिंदैन । बढ्दो सहरीकरणले पनि धेरै जसो खेतीयोग्य जमिन धमाधम घरघडेरीका रुपमा प्रयोग हुँदै छन् । त्यसैगरी डोजर लगायत विभिन्न आधुनिक यन्त्रको प्रयोग गरी मोटर बाटो निर्माण कार्यले पनि भूक्षयलाई बढावा दिइरहेको छ । एक अध्ययन अनुसार प्रत्येक वर्ष नेपालबाट करिव दुई करोड चालिस लाख मेट्रिक टन माटो बगेर जाने तथ्याङ्क निर्कोल गरिएको छ । तर माटो बन्ने प्रक्रिया आफैमा धेरै ढिलो छ । चट्टानहरुमा हुने भौतिक, रसायनिक तथा जैविक प्रक्रियाहरुको लामो प्रतिक्रियापछि मात्र माटो बनेको हुन्छ ।
यो बहुमूल्य माटोलाई जोगाउनु हाम्रो कर्तव्य हो भने यसको मलिलोपनालाई बढाउन कोसेबाली खेती गर्नुपर्ने आजको आवश्यकता हो । माटोले जीवनमा अत्यन्त महत्व राख्ने हुनाले मानिसले यसको उत्पादकत्व बढाउन विशेष पहल गर्नै पर्दछ । कोसेबालीको खेती माटो र मानव स्वास्थ्य दुबैका लागि लाभदायी छ । कोशेबाली लगाई माटोको मलिलोपन बढाउनु भनेकै जीवनलाई सुखमय बनाउनु हो । तसर्थ माटोको संरक्षण र कोसेबालीको खेती गरी उचित लाभ लिऔं ।
Previous Articleथुप्रै छन् झ्याक्री
Next Article छमछमी नाचे बुटवलका प्रदर्शनकारी बद्री पंगेनीको गीतमा