नेकपा एमाले स्थायी कमिटि सदस्य तथा निर्वतमान गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले खेलकूद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा बागलुङ शाखाले आयोजना गरेको प्रेस चौतारी कप अन्तर विद्यालय फुटवल प्रतियोगिताको मूल समारोहलाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका अधिकारीले खेल क्षेत्रका विकासका लागि सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
“राष्ट्रको पहिचानसंग जोडिएको खेल क्षेत्र अहिले उपेक्षमा छ, खेल पूर्वाधारमा राज्यले लगानी बढाउन आवश्यक छ” अधिकारीले भन्नुभयो “प्रेस चौतारी बागलुङले खेलकूद र खेल पत्रकारितको विकासका लागि जिल्ला स्तरीय कप आयोजना गरेको रहेछ, स्थानीय सरकारले समेत साथ र सहयोग गरेको देखियो, खेल क्षेत्रलाई सबै मिलेर विकास गरौं ।”
अधिकारीले खेल क्षेत्रको विकासका लागि खेलाडीको प्रोत्साहन र खेल पूर्वाधारमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । अधिकारीले पत्रकारिता क्षेत्रमा खेल पत्रकारिता रुचाइएको विषय रहेकाले खेल पत्रकारितामा निखार ल्याउन खेलकूदका कार्यक्रमले सहयोग पु¥याउने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तरविद्यालय फुटवल प्रतियोगिता १२ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा चिल्ड्रेन लाईफ च्याम्पियन बन्न सफल भएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, नेकपा एमाले प्रचार सदस्य रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुमार खड्का, प्रेस चौतारीका केन्द्रिय सदस्य तारानाथ आचार्य, बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेल, बागलुङ नगरपालिका–१ का वडा अध्यक्ष जय बहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्र प्रेस चौतारी बागलुङका अध्यक्ष सृजना पन्तको अध्यक्षता, उपाध्यक्ष खेमराज गौतमको स्वागत मन्तव्य तथा सचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।